पोहोरभन्दा ४ लाख ४० हजार टन धेरै फल्यो धान

December 29, 2022

कान्तिपुर, पुस १४, २०७९

काठमाडौँ — देशभर यो वर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ४ लाख ३९ हजार ४६७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५० लाख ५७ हजार ५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार ५७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । 

धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल २ प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन भएकोमा अहिले ३.७९ टन उत्पादन भएको छ । मन्त्रालयका अनुसार देशभर चैते र वर्षे सिजनको गरी कुल १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान उत्पादन भएको हो । यद्यपी यो वर्षको उत्पादन गत वर्ष २०७८/७९ को तुलनामा बढी रहे पनि अघिल्लो वर्ष २०७७/७८ को तुलनामा कमी हो । ०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार गत वर्ष असोज ३० गतेदेखि कात्तिक २ गतेसम्मको बेमौसमी वर्षाका कारण १ लाख बढी हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा करिब ८.७४ प्रतिशतले उत्पादनमा कमी आएको थियो । यो वर्ष मौसम औसत रहेको, केही ढिलो भएपनि तराईका जिल्लामा रासायनिक मलको उपलब्धता रहेकाले उत्पादन बढ्नमा सघाउ पुगेको उनले बताए । उन्नत बिउको प्रयोग र स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि भएका कारण पनि धान उत्पादनमा सामान्य वृद्धि भएको उनले बताए ।

स्रोत: https://ekantipur.com/business/2022/12/29/167230866795139518.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More