पौने पाँच अर्बको कृषि तथा वनजन्य सामग्री आयात

February 07, 2019

हिमनाथ देवकोटा, नागरिक, माघ २४, २०७५ 

रसुवा –  चीनबाट साढे दुई वर्षमा चार अर्ब ७८ करोड बराबरको कृषि तथा वनजन्य सामग्रीको आयात भएको छ। सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढी नाका हुँदै चार अर्ब ७८ करोड ७६ लाख ६ हजार मूल्य बराबरको कृषि तथा वनजन्य सामग्री आएको छ। 

आर्थिक वर्ष ०७३/७४ मा दुई अर्ब पाँच करोड १२ लाख २७ हजार, आव ०७४/७५ मा एक अर्ब १९ करोड २२ लाख ६६ हजार र चालु आवको ६ महिनामा एक अर्ब ५४ करोड ४१ लाख १३ हजार दुई सय ७८ रुपैयाँको सामग्री आएको क्वारेन्टाइन कार्यालय टिमुरेले जनाएको छ।

पछिल्लो समय सामग्री आयात तथा निर्यात दुवै बढेको वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले बताए। ‘कृषिजन्य सामग्री आयात बढी छ,’ उनले भने, ‘यो नाकाबाट कृषिजन्य सामग्री निर्यात भएको छैन।’ कृषिजन्य सामग्री निर्यात हुन नसक्नु दुःखद हो,’ उनले थपे।

सबैभन्दा बढी स्याउको आयात
यो नाका हुँदै सबैभन्दा बढी स्याउ आयात हुने गरेको छ। चालु आवको पहिलो ६ महिनामा एक अर्ब ३० करोड ७० लाख ३६ हजार सात सय २० रुपैयाँ बराबरको १६ हजार तीन सय ३७ मेट्रिक टन स्याउ आएको छ। 

गत वर्षको पहिलो ६ महिनामा ८३ करोड २३ लाख ३४ हजार एक सय ६० रुपैयाँको १० हजार चार सय पाँच मेट्रिक टन स्याउ आएको थियो। आयात भएको सामग्रीमध्ये दोस्रोमा लसुन परेको छ। १० करोड ६३ लाख ८३ हजार एक सय २५ रुपैयाँको आठ सय ५१ मेट्रिक टन लसुन आएको हो। 

चीनबाट स्याउ, नासपाती, लसुन, प्याज, तयारी मसला, गुन्द्रुक, ड्राइ मसरुम, प्याज, बोडी, धानको बिउ, पिठो, ओखर, बदाम, अचार, कफी, ग्रिन टी र सुकेको बयर आयात हुने गरेको छ। फलफूल, मसलाबाली, तरकारीबाली, खाद्यान्नबाली, तेलबाली, बिउबाली र अन्य सामग्री नेपाल भित्रने गरेको छ। 

निर्यात बढ्न सकेन 
आयातको तुलनामा निर्यात निकै निराशाजनक छ। नेपालमा उत्पादन भएको सीमित सामग्री मात्रै चीनतर्फ निकासी हुने गरेको छ। रसुवागढी नाका हुँदै कृषिजन्य सामग्रीको निकासी भएको छैन। कार्यालयका अनुसार साढे दुई वर्षमा २० करोड ३३ लाख ९३ हजार मूल्य बराबरको सामग्री निकासी भएको छ। थोरै परिमाणमा वनजन्य सामग्री निर्यात भएको कार्यालयको तथ्यांकले देखाउँछ। 

‘सामग्री आयात बढ्दै गएको भए पनि निर्यात सोचेजस्तो सुधार हुन सकेको छैन्,’ उनले भने, ‘नेपालमा उत्पादित सामग्री निर्यातका लागि पहल गर्नुपर्छ।’ आव ०७३/७४ मा तीन करोड ४४ लाख ८६ हजार, आव ०७४/७५ मा दुई करोड ९७ लाख ९० हजार र चालु आवको पहिलो ६ महिनामा १३ करोड ९१ लाख १७ हजार रुपैयाँको सामग्री निर्यात भएको हो। 

चालु आवको कार्यालयको अर्धवार्षिक तथ्यांकअनुसार सबैभन्दा बढी ह्यान्डिक्राफ्ट निर्यात भएको छ। नौ करोड ९६ लाख ९३ हजार पाँच सय मूल्य बराबरको आठ हजार ६ सय ६९ केजी ह्यान्डिक्राफ्ट, दुई करोड २७ लाख बराबरको ३१ हजार केजी सतुवा, ५३ लाख ३४ हजारको २१ हजार तीन सय ३६ वटा बाँसको मुडा निर्यात भएको कार्यालयको तथ्यांक छ। 

रसुवागढी नाकाबाट बाँसको मुडा, बाँसको बकेट, अम्रिसोको कुचो, काठको टेबल, ह्यान्डिक्राफ्ट, बुद्धचित्तलगायत सामग्री जाने गरेको छ।

सोर्त: https://nagariknews.nagariknetwork.com/news/68519/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More