लक्ष्मी सापकोटा, कारोबार दैनिक, २७ श्रावण २०७४
कृषिप्रधान मुलुक नेपालमा गत आर्थिक वर्ष पौने दुई खर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । दुईतिहाई जनता कृषि पेशामा निर्भर रहेको देशमा कृषिजन्य वस्तुको माग आन्तरिक उत्पादनले धान्न नसक्दा पौने दुई खर्ब रुपैयाँको कृषिजन्य सामान आयात भएको हो ।
भन्सार विभागको तथ्यांकअनुसार आव २०७३/७४ मा १ खर्ब ७४ अर्ब ४७ करोड १९ लाख ९८ हजार रुपैयाँको कृषिजन्य सामग्री आयात भएको छ । अघिल्लो वर्षको तुलनामा यो १३ प्रतिशत बढी हो ।
२०७२/७३ मा भने १ खर्ब ५३ अर्ब ३० करोड २० लाख ९२ हजार रुपैयाँको कृषिजन्य सामग्री आयात भएको थियो । यस्तै, २०७१÷७२ मा १ खर्ब ३७ अर्ब ९९ करोड ८६ लाख २९ हजार रुपैयाँको कृषिजन्य सामग्री आयात भएको थियो ।
स्थानीय उत्पादनले माग धान्न नसक्नु, खेतीयोग्य जमिन घट्दै जानु, स्वदेशीभन्दा आयातित सामान सस्तो पर्नु, नेपालीहरूमा आएको खानेबानीमा परिवर्तनलगायतका कारणले कृषिजन्य वस्तुको आयात बढ्दै गएको हो ।
मुलुकमा कृषिजन्य वस्तुको आयात बढ्दै गए पनि निर्यात भने न्यूनमात्र बढेको छ । छिमेकी मुलुक भारतबाट ९० प्रतिशत कृषिजन्य सामान आयात हुने गर्छ । माछा–मासु, दुग्धजन्य पदार्थ, खाद्यान्न, तरकारी, फलफूल, चिया, कफी, खाने तेल लगायतका अन्य कृषिजन्य वस्तु आयात हुने गरेको छ ।
खाद्यान्नको उत्पादन बढे पनि आयात भने कम हुन नसकेको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव एवं प्रवक्ता योगेन्द्र कार्कीले सर्वसाधारणमा आएको खानेबानीमा परिवर्तनको कारणले गर्दा खाद्यान्नको आयात बढ्दै गएको बताए ।
सर्वसाधारणको प्रतिव्यक्ति आय बढेकोले खानेपानी र जीवनशैलीमा परिवर्तन आएको छ, जसका कारण आयात बढ्दै गएको उनको भनाइ छ । “यो वर्ष धानको उत्पादन २१ प्रतिशतले बढेर ५२ लाख टन पुगेको छ,” उनले भने, “उपभोक्ताले मसिनो बासनादार चामल उपभोग गर्ने र वैदेशिक रोजगारीले जीवनशैलीमा आएको परिवर्तनले आयात बढ्दै गएको देखिन्छ ।”
खुल्ला सिमानाको कारणले गर्दा नेपालबाट धान निर्यात हुने र पुनः चामल आयात हुने गरेको उनको भनाइ छ । आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न सकेको छैन । स्वदेशी उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्दा निर्यात बढ्न सकेको छैन ।
सरकारले खाद्यान्नको आयात प्रतिस्थापन गर्न गत वर्षदेखि नै धानको मिसन कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी नहुँदा आयात बढ्दै गएको छ । खेतीयोग्य जमिन खडेरीमा प्रयोग हुनु, खेती गर्ने जनशक्तिको अभाव, खानेबानीमा परिवर्तनले गर्दा पनि बर्सेनि चामल आयात बढ्दै गएको कृषि विज्ञको भनाइ छ ।
भारतमा किसानले प्रतिहेक्टरमा १ सय ३० र चीनमा २ सय १० किलो मल प्रयोग गर्दै आएकोमा नेपाली किसानले अहिले पनि औसतमा ५५ किलोसम्म मात्रै प्रयोग गर्दै आएका छन् । मन्त्रालयकाअनुसार उच्चतम उत्पादनका लागि आवश्यक पर्ने बीउ प्रतिस्थापन दर पनि निकै कम छ ।
किसानले प्रतिवर्ष कम्तिमा २५ प्रतिशतका दरले बीउ प्रतिस्थापन गर्नुपर्नेमा अहिलेसम्म १२ प्रतिशतमात्रै देखिएको छ । मन्त्रालयका अनुसार नेपालको कुल जनसंख्या २ करोड ७६ लाख ३५ हजार नौं सय ८२ जनालाई खुवाउन प्रतिवर्ष १ सय २२ किलोका दरले ३ अर्ब ३७ करोड १५ लाख ८९ हजार आठ सय चार किलो (३३ लाख ७१ हजार पाँच सय ८९ टन चामल आवश्यक पर्छ ।