अन्नपुर्ण पोस्ट, ६ कार्तिक २०७४
काठमाडौं: प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार भएको उम्मेदवार मनोनयन दर्ता व्यापक जनसहभागितामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी निर्वाचन आयोगले दिएको छ।
आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) ले दिएको पछिल्लो विवरणअनुसार पहिलो चरणअन्तर्गत मंसिर १० मा ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ८ सय ७ जनाको उम्मेदवारी दर्ता भएको छ। तीमध्ये प्रतिनिधिसभातर्फ ३ सय २३ र प्रदेशसभातर्फ ४ सय ८४ जनाको उम्मेदवारी दर्ता भएको छ।
उम्मेदवारीविरुद्ध उजुरी दिन सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिए।
उम्मेदवारविरुद्ध पर्ने उजुरीमाथि कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने समय सकिएपछि निर्वाचन चिह्न दिइने ढकालले बताए।पहिलो चरणको निर्वाचनअन्तर्गत ३२ जिल्लाका ३२ लाख २८ हजार ८ सय ७९ मतदाताले मताधिकार प्रयोग गर्न पाउनेछन्।