News

प्रतिव्यक्ति २५ सय ऋण थपियो

August 24, 2017

मेनुका कार्की, अन्नपुर्ण पोष्ट, ८ भदौ २०७४ 

सरकारले लिएको कर्जाको भार बढ्दै जाँदा गत आर्थिक वर्षमा एक नेपालीको जिम्मामा दुई हजार पाँच सय रुपैयाँ ऋण थपिएको छ । आन्तरिक र वैदेशिक कर्जा बढेका कारण हरेक व्यक्तिको भागमा ऋणको भार थपिएको हो ।

आर्थिक वर्ष २०७३/७४ सम्ममा सरकारले लिएको आन्तरिक र वैदेशिक ऋण ६ खर्ब ९७ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०७४ को असार मसान्तसम्म प्रत्येक नेपालीलाई २४ हजार दुई सय १४ रुपैयाँ ऋण पुगेको छ । २०७३ सालको असार मसान्तसम्म एक नेपालीको भागमा २१ हजार ६ सय ८६ रुपैयाँ ऋण थियो । सरकारले तिर्नुपर्ने ऋण अघिल्लो वर्षको तुलनामा १३.२२ प्रतिशत बढेको छ । तथ्यांक विभागको प्रक्षेपणअनुसार गएको वर्ष नेपालको जनसंख्या दुई करोड ८८ लाख थियो । अघिल्लो वर्ष अर्थात् सन् २०१६ मा भने जनसंख्या दुई करोड ८४ लाख रहेको अनुमान गरिएको छ । सरकारले आव २०७२/७३ मा तिर्न बाँकी ऋण ६ खर्ब १५ अर्ब ९० करोड हुँदा २१ हजार ६ सय ८६ रुपैयाँ ऋण पर्न आएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा ८१ अर्ब ४७ करोड राष्ट्र ऋण बढेको छ । गएको वर्षको अन्त्यसम्म वैदेशिक र आन्तरिक गरी ६ खर्ब ९७ अर्ब ३७ करोड सरकारी ऋण थियो । अघिल्लो वर्षसम्म यस्तो ऋण ६ खर्ब १५ अर्ब ९० करोड मात्र थियो । एक वर्षमा ३१ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक ऋण बढेको छ । सरकारले गएको वर्ष चार खर्ब १३ अर्ब ६६ करोड वैदेशिक ऋण लिएको थियो । अघिल्लो वर्ष यस्तो रकम तीन खर्ब ८१ अर्ब ७४ करोडमात्र थियो । अघिल्लो वर्षको तुलनामा गएको वर्ष ४९ अर्ब ५४ करोड आन्तरिक ऋण बढेको छ । २०७३ मा दुई खर्ब ३४ अर्ब १६ करोड आन्तरिक ऋण रहेकामा गएको वर्ष दुई खर्ब ८३ अर्ब ७० करोड पुगेको छ ।

कुल गार्हस्थ्य उत्पादन (जीडीपी) का आधारमा हेर्दा भने यो दर घटेको छ । अघिल्लो आवमा कुल गार्हस्थ्य उत्पादनको लगभग २७.७ प्रतिशतबराबर यस्तो ऋण थियो । गत आवमा यो दर २६.८ प्रतिशतमा सीमित भएको छ । जीडीपीको तुलनामा वैदेशिक ऋण घटे पनि आन्तरिक ऋण भने केही बढेको छ ।

सरकारले हरेक वर्ष आन्तरिक तथा वैदेशिक ऋण लिने र सोहीअनुपातमा दुवै ऋण तालिका बमोजिम तिर्दै जाने गर्छ । अघिल्लो वर्षको तुलनामा गत वर्षसम्म कुल ऋणको हिस्सा निकै बढेको देखिन्छ । खासगरी नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर मजबुत भएपछि वैदेशिक ऋणको हिस्सा बढ्दै गएको छ ।

स्रोत : annapurnapost.com/news/78401