छेटु शेर्पा, अन्नपुर्ण पोस्ट, ०९ पुष २०७४
काठमाडौं : सवारीसाधनबाट निस्कने धुवाँका कारण वायु प्रदूषणको ३६ प्रतिशत हिस्सा ओगट्नुमा दुई पांग्रे सवारीसाधन मुख्य कारक भएको पाइएको छ। उपत्यकामा दुई पांग्रे सवारीसाधनका लागि १९ वर्षअघि कानुनी व्यवस्था भए पनि प्रदूषण मापन नगरिँदा वायु प्रदूषणको दर बढेको हो। सवारीसाधनको ८० प्रतिशत हिस्सा दुई पांग्रे सवारीसाधनले ओगटेको छ। दुई पांग्रेको प्रदूषण मापन नहुँदा वायु प्रदूषण बढेको वातवरणविद्को भनाइ छ।
यातायात व्यवस्था विभागमा आर्थिक वर्ष ०७३/७४ सम्म दर्ता भएका २७ लाख ८३ हजार चार सय २८ सवारीसाधनमध्ये २१ लाख ८९ हजार ९९ वटा दुई पांग्रे छन्। साउनयता ६० हजार बढी दुई पांग्रे सवारीसाधन दर्ता भएको विभागले जनाएको छ।
दर्ता भएका २२ लाख बढी दुई पांग्रे सवारी साधनको प्रदूषण जाँच भएको छैन। सडकमा सवारी जाम हुँदा होस् या अन्य समयमा दुई पांग्रे सवारीसाधन पछाडि पर्नेहरू प्रदूषित धुवाँका कारण आकुल हुने गरेका छन्।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा २३ को उपदफा (१) को खण्ड (ग) प्रयोजनमा लागि ०५४ पुस २८ गते सरकारले सूचना प्रकाशित गरी दुई पांग्रे सवारीसाधन प्रदूषणको मापदण्ड तोकेको थियो। यसका लागि कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ।
०५५ साउन १ गतेदेखि लागू हुने गरी सरकारले सूचनामा प्रकाशित गरेको थियो।सवारीसाधन आयात बढेको छ। त्यसमा पनि दुई पांग्रेको आयातदर झनै बढिरहेको तथ्यांकले देखाएको छ। गत वर्ष मात्र तीन लाख ५४ हजार ७१ वटा दर्ता भएका छन्। सरकारले ०५३ कात्तिक १५ गते देखि सिंहदरबार, एयरपोर्ट र ०५५ असार १ गतेदेखि दरबारमार्ग, ठमेल र उपत्यकाका दरबार स्क्वायर क्षेत्र भएर गुड्ने गाडीलाई प्रदूषण मापन गरी हरियो स्टिकर वितरण गर्दै आएको छ।
तर दुई पांग्रेको प्रदूषण जाँच गर्ने भन्नेबारे जानकारी नभएको विभागका प्रवक्ता टोकराज पाण्डेले बताए। आव ०७३/७४ सम्ममा बागमतीमा सबैभन्दा धेरै १० लाख ४२ हजार आठ सय ५६ सवारीसाधन दर्ता भएका छन् भने कर्णालीमा पाँच सय ३७ दर्ता भएका छन्।
सवारीसाधनको प्रदूषण कानुनी मापदण्ड तय गरी हरियो स्टिकर वितरण गर्ने सरकारी निर्णय कार्यान्वयन गर्न वातावरण विभाग सूचना अधिकारी शंकरप्रसाद पौडेलले सम्बन्धित पक्षसँग माग गरेका छन। यता यातयात व्यवस्था विभागले यातयात व्यवस्था कार्यालय (साना ठूला सवारी) एकान्तकुना, यातयात व्यवस्था सेवा कार्यालय सानोभर्याङ र सवारी परीक्षण कार्यालय टेकुबाट सवारी प्रदूषण जाँचपास गर्दै आएको छ। विभागले तत्काल सेवा केन्द्र विस्तार गरी प्रदूषण जाँच तीव्र बनाउने जनाएको छ।