News

प्रदेशगत उद्योग स्थापना : ३ मा सबैभन्दा बढी आकर्षण

February 09, 2018

आर्थिक अभियान, शुक्रबार, माघ २६, २०७४

काठमाडौं । उत्पादनमूलक उद्योग स्थापनाका लागि प्रदेश नं. ३ लगानीकर्ताको आकर्षणको पहिलो स्थानका रूपमा देखिएको छ । चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो ६ महीनामा दर्ता भएका १ सय ६७ उद्योगमध्ये उत्पादनमूलक उद्योगको सङ्ख्या ३१ छन् । ती सबै उद्योगमा वैदेशिक लगानीको प्रतिबद्धता रहेको छ । त्यसमध्ये २२ ओटा उद्योग प्रदेश नं. ३ मा खोल्ने प्रस्ताव गरिएको छ । यसबाहेक प्रदेश नं. ५ मा चार, प्रदेश नं. ४ मा तीन र प्रदेश नं. १ मा दुई उद्योग स्थापना गर्ने प्रस्ताव गरिएको उद्योग विभागले बताएको छ । अन्य तीन प्रदेशमा भने एउटै उत्पादनमूलक उद्योग स्थापना गर्ने प्रस्ताव गरिएको छैन । समीक्षा अवधिमा कुल लगानी प्रतिबद्धता रू. १४ अर्बको आएकोमा उत्पादनमूलक उद्योगमा रू. ५ अर्ब ७१ करोड ८२ लाख रहेको छ ।

गत आवको सोही अवधिमा विभागमा दर्ता भएका १ सय ८९ उद्योगमध्ये उत्पादनमूलक २५ उद्योगमा विदेशी लगानी प्रतिबद्धता आएको थियो । ती उद्योगमध्ये १७ ओटा प्रदेश ३ मा खोल्ने प्रस्ताव गरिएको छ । सो अवधिमा कुल लगानी प्रतिबद्धता आएको रू. ८ अर्बमध्ये रू. १ अर्ब उत्पादनमूलक क्षेत्रका लागि आएको हो । चालू आवमा स्थापनाका लागि प्रस्तावित उत्पादनमूलक उद्योगमध्ये निर्माणतर्पm ८, कपडा र खाद्यतर्फ ६/६, ऊर्जा, यातायात र घरेलु प्रयोगका वस्तुतर्फ ३/३, र औषधिजन्य दुई ओटा रहेका छन् । ती उद्योग स्थापना भए भने २ हजार ७३ जनाले रोजगार पाउनेछन् । २ आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिको उद्योग दर्ताको अवस्था हेर्दा लगानीकर्ताको प्राथमिकतामा प्रदेश नं. ३ नै देखिएको छ ।

पूर्वाधार, सडक, विद्युत्, अन्तरराष्ट्रिय पहुँच र प्रशासनिक दृष्टिले सुगम भएकाले विदेशी लगानीकर्ताहरू प्रदेश ३ मा लगानी गर्न आकर्षित भएको वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले बताए । उनका अनुसार लगानीकर्ताहरू प्रदेश ३ मा आकर्षित हुनुका कारण यसै प्रदेशमा राजधानी हुनु र बजार पनि ठूलो हुनु हो ।

चालू आवमा उत्पादनमूलक क्षेत्रमा आएको कुल लगानीमध्ये सबैभन्दा बढी प्रदेश नं. ४ मा ३ उद्योगका लागि रू. ३ अर्ब ७६ करोड ९० लाख प्रस्तावित छ । प्रदेश नं. ३ मा २२ ओटा उद्योगका लागि रू. १ अर्ब ८१ करोडको लगानी प्रस्ताव आएको छ भने प्रदेश नं. १ मा दुई उद्योगका लागि करीब रू. १० करोडको लगानी प्रस्ताव आएको छ । सबभन्दा कम लगानी प्रस्ताव प्रदेश नं. ५ मा ४ उद्योगका लागि ४ करोड रुपैयाँमात्र रहेको छ ।

उद्योगको प्रकृति, उद्देश्य र क्षमताका आधारमा लगानी हुने भएकोले प्रदेश नं. ४ मा बढी लगानी प्रस्तावित भएका उद्योग विभागका प्रवक्ता दुर्गा भुसालले बताए ।

गत आवमा सबैभन्दा बढी प्रदेश नं. ३ मा १७ उद्योगका लागि रू. ७० करोड प्रस्तावित छ । प्रदेश नं. ४ मा ३ उद्योगका लागि रू. २१ करोड, प्रदेश नं. २ मा ३ उद्योगका लागि रू. ६ करोड र प्रदेश नं. ५ मा २ उद्योगका लागि रू. ३ करोड लगानी प्रस्ताव आएको छ ।

चालू आवमा लगानी गर्ने लगानीकर्ताकमध्ये भारतका १२, चीनका १०, दक्षिण कोरिया, जापान, जर्मनी र यूएईका २/२ र अमेरिकाका १ रहेका छन् ।

स्रोत: http://www.abhiyan.com.np/2018/02/09/178569