News

प्रदेशपिच्छे यस्तो छ मतभार

January 28, 2018

नागरिक दैनिक, १४ माघ २०७४

राष्ट्रिसभामा प्रत्येक प्रदेशबाट एकल संक्रमणीय प्रणालीमार्फत आठ–आठजना निर्वाचित भएर आउनेछन् । तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरी ५९ सदस्यीय राष्ट्रियसभा हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने कार्यक्रम छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभामा विजयी सदस्य, गाउँपालिका, नगरपालिकाका अध्यक्ष÷प्रमुख, उपाध्यक्ष÷उपप्रमुख मतदाता हुने व्यवस्था छ । मतदाताको मतभार फरकफरक निर्धारण गरिएको छ । प्रदेशसभा सदस्यको एक मतलाई ४८ मतभार दिइनेछ । त्यसैगरी स्थानीय तहका मतदाताको एक मतलाई १८ मतभार दिइनेछ।

एकल संक्रमणीय भनेको प्राथमिकतामा आधारमा मत दिने प्रणाली हो । यसमा उम्मेदवारको क्रमसंख्या निर्धारण गरिन्छ र कम मत प्राप्त गर्ने उम्मेदवार सूचीबाट हट्नेछ।

निश्चित थ्रेसहोल्ड पार गरेका दलको पहिलो प्राथमिकतामा परेका उम्मेदवारले प्राप्त गरेको मत बाँकी रहेपछि अर्का उम्मेदवारमा सर्दै जान्छ । त्यसपछि सूचीअनुसार उम्मेदवार निर्वाचित हुँदै जानेछन् । यसमा सिट निर्धारण विधि प्रयोग गरिन्छ । निर्वाचित हुने सिट संख्यामा १ जोडेर आउने संख्याले कुल मतभारलाई भाग गरी आउने संख्यामा फेरि १ जोडेर निर्वाचित हुन आवश्यक मतसंख्या निकालिनेछ।

उदाहरणका लागि प्रदेश नम्बर एकलाई लिन सकिन्छ । ९३ सदस्यीय प्रदेशसभा रहेका यो प्रदेशमा स्थानीय तहको संख्या १ सय ३७ छ । राष्ट्रियसभासम्बन्धी विधेयकमा प्रदेशसभाका सांसद एकजना बराबरको मतभार ४८ प्रस्ताव गरिएको छ भने स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष, प्रमुख÷उपप्रमुख एकजना बराबरको मतभार १८ प्रस्ताव गरिएको छ । यस हिसाबले प्रदेशका कुल सांसद ९३ जनालाई ४८ ले गुणा गर्दा प्रदेश सासंदको कुल मतभार ४ हजार ४ सय ६४ हुनेछ।

त्यसैगरी १ सय ३७ स्थानीय तह रहेको यो प्रदेशमा प्रमुख र उपप्रमुख गरी २ सय ७४ जना निर्वाचक मण्डल (इलेक्ट्रोल) मा हुनेछन् । उनीहरू प्रत्येकको प्रस्तावित मतभार १८ रहेकोमा यो संख्यालाई २ सय ७४ ले गुणा गर्दा स्थानीय तहका प्रतिनिधिको कुल मतभार ४ हजार ९ सय ३२ हुन आउँछ।

प्रदेश १
प्रदेशसभामा एमालेका प्रत्यक्षतर्फ ३६ र समानुपातिक १५ जनाले जितेका छन् । त्यसको मतभार २४ सय ४८ हो । त्यसैगरी स्थानीय चुनावमा प्रमुख र उपप्रमुख गरी १ सय ५४ जना जितेका छन् । जसको मतभार २७ सय ७२ हुन आउँछ।
माओवादी केन्द्रको प्रदेशसभामा प्रत्यक्षमा १० र समानुपातिकमा ५ गरी १५ जना सदस्य छन् । तिनीहरुको प्रतिव्यक्ति ४८ मतभारले जम्मा ७ सय २० हुन आउँछ । माओवादी केन्द्रको स्थानीय चुनावमा प्रमुख–उपप्रमुख गरी १६ जना जितेका छन् । जसको मतभार २ सय ८८ हुन आउँछ।

प्रदेश १ मा वाम गठबन्धनको मतभार ६२ सय २८ हुन आउँछ । एकजना राष्ट्रियसभा सदस्य जित्न २३ सय ५० मत चाहिन्छ ।
नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ८ जना र समानुपातिकमा १३ सदस्य गरी २१ जना सदस्य छन् । उनीहरुको मतभार १ हजार ८ हुन आउँछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी कांग्रेसका ९६ जना छन् । तिनीहरुको मतभार १७ सय २८ हुन आउँछ।

प्रदेश २
प्रदेश २ मा एमालेको प्रत्यक्ष १३ र समानुपातिक ७ गरी २० प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यको मतभार ९६० हुन आउँछ । त्यसैगरी स्थानीय तहमा एमालेका ३७ जना मतदाता छन् । उनीहरुको मतभार ६६६ हुन्छ । प्रदेश २ मा एमालेको १६२६ मतभार हुन आउँछ।

माओवादी केन्द्रको प्रत्यक्ष ७ र समानुपातिक ८ गरी १५ जना प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनीहरुको मतभार ९६० हुन आउँछ । स्थानीय तहमा ४५ मतदाताको मतभार ८१० हुन आउँछ । यस प्रदेशमा माओवादीको जम्मा १५३० मतभार छ । प्रदेश २ मा एमाले र माओवादी केन्द्र गरी वाम गठबन्धनको ३१५६ मतभार रहेको छ।

यस प्रदेशमा कांग्रेस, राजपा, संघीय समाजवादी फोरम, नयाँ शक्तिको गठबन्धन  छ । प्रत्यक्षमा कांग्रेसको ८, समानुपातिकमा ११ गरी १९ जना छन् । उनीहरुको मतभार ९१२ हुन्छ । त्यसैगरी राजपाको प्रत्यक्ष १५, समानुपातिक १० गरी २५ जना प्रदेशसभा सदस्य विजयी भएका छन् । उनीहरुको मतभार १२०० हुन्छ । संघीय समाजवादीको प्रत्यक्षमा २० र समानुपातिक ९ गरी २९ जना प्रदेशसभा सदस्यले जितेका छन् । उनीहरुको मतभार १३९२ हुन आउँछ।

त्यसैगरी स्थानीय तहमा कांग्रेसका ८१ जना मतदाताको २३७० मतभार, राजपाको ५५ जना मतदाताको २१९० मतभार, संघीय समाजवादी फोरमको ५१ मतदाताको २३१० मतभार छ । यसरी लोकतान्त्रिक गठबन्धनको मतभार ६८८८ हुन आउँछ । प्रदेश २ मा राष्ट्रियसभा जित्न २५५१ मतभार ल्याउन आवश्यक छ।  

प्रदेश ३
एमालेका प्रदेशसभामा प्रत्यक्षतर्फ ४२ र समानुपातिकतर्फ १६ जनाले जितेका छन् । उनीहरुको कुल मतभार २७८४ हुन आउँछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी एमालेका १३३ जना मतदाता छन् । स्थानीय तहको मतभार २३ सय ९४ हुन आउँछ । एमालेको कुल मतभार ५१ सय ७८ हुन्छ।

माओवादी केन्द्रको प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ जना प्रदेश सदस्य छन् । तिनीहरुको मतभार ११०४ हुन आउँछ । स्थानीय तहमा ३३ जना प्रमुख–उपप्रमुख छन् । उनीहरुको मतभार ५९४ हुन आउँछ।

प्रदेश ३ मा वाम गठबन्धनको ६८७६ मतभार हुन आउँछ । प्रदेश ३ मा जित्नेले २३५६ मत ल्याउनुपर्नेछ ।
त्यसैगरी कांग्रेसका प्रत्यक्षमा ७ र समानुपातिकमा १४ गरी २१ जनाले प्रदेशसभामा जितेका छन् । उनीहरुको कुल मतभार १००८ मत हुनेछ । स्थानीय तहमा कांग्रेसका प्रमुख–उपप्रमुख गरी ६७ जना छन् । उनीहरुको कुल मतभार १२०६ हुन आउँछ । प्रदेश ३ मा विवेकशील साझा, नयाँ शक्ति, राप्रपाले कांग्रेसलाई मत दिएमा कांग्रेसको कुल मत २५ सय ८ मत हुन आउँछ ।  यस प्रदेशबाट राष्ट्रियसभामा जित्न २३८० मतभार ल्याउनुपर्नेछ।

प्रदेश ४
प्रदेश ४ मा एमालेको प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना प्रदेश सदस्य रहेका छन् । उनीहरुको प्रतिव्यक्ति ४८ मतले गुणन गर्दा १२९६ मतभार हुन आउँछ । स्थानीय तहमा एमालेको प्रमुख र उपप्रमुख गरी ७० जना छन् । प्रतिव्यक्ति १८ का दरले गुणन गर्दा १२६० मतभार हुन आउँछ।

त्यसैगरी माओवादीको प्रत्यक्षमा ९ र समानुपातिकमा ३ गरी १२ जना प्रदेशसभा सदस्य छन् । स्थानीय तहमा रहेका १२ जनाको मतभार ७९२ हुन आउँछ । वाम गठबन्धनको मत कुल ३३४८ हुनेछ।

यस प्रदेशमा कांग्रेसका प्रत्यक्षमा ६ र समानुपातिकमा ९ गरी कुल १५ सदस्य छन् । उनीहरुको मतभार ७२० हुन आउँछ । स्थानीय तहमा कांग्रेसका प्रमुख–उपप्रमुख गरी ८० जनाले जितेका छन् । उनीहरुको मतभार १४४० हुन आउँछ । प्रदेश ४ मा कांग्रेसको कुल मतभार २१६० छ । प्रदेश ४ बाट राष्ट्रियसभामा जित्नका लागि १४१६ मत ल्याउनुपर्नेछ ।

प्रदेश ५
प्रदेश ५ मा एमालेले प्रत्यक्षमा २८ र समानुपातिकमा १३ गरी ४१ जना प्रदेशसभा सदस्य जितेको छ । प्रतिव्यक्ति ४८ का दरले मतभार १९६८ हुन आउँछ । त्यसैगरी स्थानीय तहमा एमालेका ९० जना मतदाता छन् । उनीहरुको मतभार १६२० हुन्छ । यसरी एमालेको कुल मतभार ३५८८ छ।

माओवादी केन्द्रको प्रत्यक्षमा १६ र समानुपातिकमा ६ गरी २२ जना प्रदेशसभा सदस्यले जितेका छन् । उनीहरुको मतभार १०५६ हुन्छ । स्थानीय तहमा माओवादी केन्द्रका ४० जना मतदाता छन् । उनीहरुको मतभार ७२० हुन्छ । यो प्रदेशमा वाम गठबन्धनको ५३६४ मतभार हुन आउँछ।

कांग्रेसको प्रत्यक्षमा ५ र समानुपातिकमा १२ गरी १७ जना प्रदेशसभा सदस्य छन् । उनीहरुको मतभार ८१६ हुन्छ । स्थानीय तहमा ६६ जना मतदाता छन् । उनीहरुको ११८८ मतभार हुन आउँछ । यस प्रदेशमा कांग्रेसको २००४ मतभार हुनेछ । प्रदेश ५ मा जित्नका लागि एकजनाले २००५ मतभार ल्याउनुपर्नेछ।

प्रदेश ६
प्रदेश ६ मा एमालेले प्रत्यक्ष १४ र समानुपातिक ६ गरी २० जना प्रदेशसभा सदस्य जितेको छ । प्रदेशसभा सदस्यको मतभार ९६० हुनेछ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ५८ जना मतदाता छन् । उनीहरुको मतभार १०४४ हुन आउँछ।

त्यसैगरी माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी १३ जना प्रदेशसभा सदस्य छन् । उनीहरुको ६२४ मतभार हुन आउँछ । स्थानीय तहमा ५१ जना मतदाता छन् । स्थानीय तहका मतदाताको ९१८ मतभार हुन आउँछ । प्रदेश ६ मा वाम गठबन्धनको ३५४६ मतभार हुन आउने देखिन्छ।

कांग्रेसका तर्फबाट प्रत्यक्षमा १ र समानुपातिक ५ गरी ६ जना प्रदेश सदस्य जितेका छन् । जसको मतभार २८८ छ । स्थानीय तहमा ४१ जना मतदाता छन् । स्थानीय तहको मतदातालाई १८ ले गुणा गर्दा जम्मा १०२६ मतभार हुन आउँछ । यस प्रदेशमा राष्ट्रियसभा जित्नका लागि एकजनाले ११६६ मत ल्याउन आवश्यक छ।

प्रदेश ७
प्रदेश ७ मा एमालेका प्रत्यक्षमा १७ र समानुपातिकमा ८ गरी २५ जना प्रदेशसभा सदस्य छन् । उनीहरुको मतभार १२०० हुन्छ । स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी ८३ जना मतदाताको मतभार १४९४ हुनेछ । एमालेको कुल मतभार २६९४ हुन आउँछ ।
माओवादी केन्द्रको प्रत्यक्षमा १० र समानुपातिकमा ४ गरी जम्मा २५ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभा सदस्यको मतभार ६७२ हुन्छ । स्थानीय तहमा माओवादीको १९ जना मतदाता छन् । उनीहरुको मतभार ३४२ गरी माओवादी केन्द्रको कुल मतभार १०१४ देखिन्छ । वाम गठबन्धनको मतभार ३७०८ हुनेछ।

त्यसैगरी कांग्रेसको प्रत्यक्षमा ४ र समानुपातिकमा ८ गरी १२ जना प्रदेशसभा सदस्य छन् । प्रदेशसभाको मतभार ५७६ हुन आउँछ । स्थानीय तहमा ७४ जना मतदाता छन् । ती मतदाताको मतभार १३३२ हुन आउँछ । यस प्रदेशमा कांग्रेसका १९०८ मतभार हुन आउँछ । यस प्रदेशबाट जित्नका लागि एकजनाले १४२९ मतभार ल्याउनुपर्नेछ।

(यो तथ्यांक पार्टीगत रुपमा सबैले आ–आफ्नो पार्टीलाई भोट दिएमा र कुनै पनि मत बदर नभएमा शतप्रतिशत हुन आउनेछ । मत क्रस भएको खण्डमा केही तलमाथि हुन सक्नेछ । विभिन्न प्रदेशमा गरी जम्मा ५ जना प्रदेशसभा सदस्यले शपथ लिएका छैनन् । ती सदस्यको मतभार घट्नेछ ।)

स्रोत: http://www.nagariknews.com/news/36104/