शिव बोहरा, कारोबार दैनिक, २२ असार २०७५
सरकारले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भएको छ । प्रदेशभित्रको आवागमनलाई सहज बनाउन सरकार आफैंले बस सेवा चलाउने भएको हो । निजी क्षेत्रका यातायात व्यवसायी सुगममा मात्र जाने र भरपर्दो सेवा नदिने गरेकाले प्रदेश सरकारले नै यस्तो सेवा दिन लागेको हो ।
बजेटमा व्यवस्था भएअनुसार सरकारले प्रदेशभित्र बस सेवा सञ्चालन गर्न लागेको आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले बताए । “हाम्रो प्रदेशले सार्वजनिक बस सेवा सञ्चालन गर्ने भनेर आर्थिक वर्ष २०७५/७६ का लागि ल्याइएको बजेटमा रकमको व्यवस्था गरेको छ,” उनले भने, “बस सेवा सञ्चालनबारे विस्तृत अध्ययन भइरहेको छ ।” आगामी आर्थिक वर्षभित्र बस सेवा सञ्चालन गरिसक्ने मन्त्री बोहराले जानकारी दिए ।
असार १ गने प्रस्तुत गरिएको प्रदेश सरकारको बजेटमा ‘प्रदेश यातायात व्यवस्थालाई सहज सुरक्षित, विश्वसनीय र भरपर्दो बनाउनका लागि प्रदेश बस सेवा सञ्चालनको अवधारणालाई मूर्तरूप दिइने छ । जसका लागि २० करोड रुपैयाँ विनियोजन गरेको’ उल्लेख गरिएको छ ।
पहिलो चरणमा प्रदेश ७ का ९ जिल्लाहरूमा कम्तीमा १÷१ वटा बस सेवा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार तथा विकास मन्त्रालयमार्फत काम भइरहेको मन्त्री बोहराले बताए । “पूर्वाधार मन्त्रालयमा एउटा विभाग गठन गरी बस सेवा सञ्चालनको ठोस मोडालिटी बनाइरहेका छौं,” उनले भने, “आर्थिक वर्ष २०७५÷७६ भित्र प्रदेश सरकारले ७ वटै जिल्लामा प्रदेश बस सेवा सञ्चालन हुनेछ ।”
अहिले नेपालको सार्वजनिक यातायात व्यवसायी मात्र सञ्चालन गर्दै आएका छन् । व्यवसायीले नाफा हुने रुटमा चलाउने, सिन्डिकेट गर्ने, माग पूरा गराउने नाममा सेवा नै बन्द गर्ने र सरकार निरिह हुने स्थिति अन्त्य गर्न भन्दै प्रदेश सरकारले बस सेवा सञ्चालन गर्न लागेको जनाएको छ । “यातायात व्यवसायीहरू नाफा हुने रुटमा मात्र बस सञ्चालन गर्छन्,” मन्त्री बोहराले भने, “प्रदेश सरकारले सञ्चालन गर्ने बस सेवा नाफा मात्र नभइ यातायात सेवा समेत पुराउने उद्देश्यले सञ्चालन गर्न लागेको हो ।” पहिलो चरणमा सरकारले बस सेवा सञ्चालन गर्ने पछि आवश्यकता प¥यो भने सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा समेत जान सकिने उनको भनाइ छ ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयको मातहतमा यातायात विभाग बनाउने र निजी क्षेत्रले बस चलाउन नसक्ने, जान नचाहेने ठाउँमा प्रदेश सरकारले सञ्चालन गर्ने गरी योजना बनिरहेको छ । बस सेवा अपांग, महिलामैत्री हुने गरी अत्याधुनिक सुविधासम्पन्न बस ल्याइने मन्त्री बोहराले बताए ।
प्रदेश ७ का बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला तथा बैतडीमा धेरै विकट भूगोल भएकाले त्यहाँ प्राथमिकताका साथ बस सेवा सञ्चालन हुने छ । प्रदेश बस सेवा आवश्यकताअनुसार सेवा विस्तार गर्न सकिने भएपनि अहिले भने प्रदेश भित्रमात्र सञ्चालन गर्ने योजना भएको उनको भनाइ छ । “पहिलो चरणमा प्रदेशभित्र त्यो पनि दुर्गममा सञ्चालन हुन्छ,” उनले भने, “विभिन्न मोडल बनाएर अन्तरप्रदेशका साथै केन्द्र तथा पूर्वसम्म पनि बस सेवा सञ्चालन गर्न सकिने छ ।”
प्रदेश सरकारको स्वायत्त अधिकारअनुसार बस सेवा सञ्चालन हुने लागेको हो । भारतमा पनि राज्य सरकारले बस सेवा सञ्चालन गर्दै आएका छन् । यसले व्यवासायीलाई अप्ठेरो नभइ प्रतिस्पर्धी बनाउने बुझाइ प्रदेश सरकारको रहेको छ ।