प्रदेश र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक

September 12, 2017

अन्नपुर्ण पोस्ट, २७ भाद्र २०७४ 

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन कार्यक्रम तालिका सार्वजनिक गरेको छ। आयोगको सोमबार बसेको बैठकले निर्वाचनका लागि ०७४ मंसिर १० गते आइतबार र ०७४ मंसिर २१ गते बिहीबार बिहान ७ बजेदेखि ५ बजेसम्म मतदानको समय निर्धारण गर्ने निर्णयसमेत गरेको छ।

आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम समानुपातिक निर्वाचन भदौ २४ गते सुरु हुने भएको छ । समानुपातिकतर्फ ३० भदौमा अन्तिम नामावली प्रकाशन गर्ने र असोज २९ मा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेस गर्नेछन् ।

प्रत्यक्षतर्फ पहिलो चरणका लागि कात्तिक ५ देखि ८ सम्म र दोस्रो चरणको निर्वाचनका लागि ०७४ साल कात्तिक १६ देखि १९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । उम्मेदवार मनोनयन दर्ता कात्तिक ५ मा र नामावली प्रकाशन कात्तिक ७ मा गरिने तय भएको छ।

मन्त्रिमण्डल विस्तारमा आयोगको गम्भीर ध्यानाकर्षण
प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिमण्डल विस्तार गरेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंसिर १० र २१ मा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि भदौ १५ देखि आचारसंहिता लागू गरेको अवस्थामा आचारसंहिताविपरीत मन्त्रिमण्डल विस्तार गरेको भन्दै सरकारको कामप्रति निर्वाचन आयोगले आपत्ति जनाएको हो ।

भदौ १५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ७ बँुदे निर्देशन जारी गरेकोमा सरकारी कोष तथा सञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै पनि राजनीतिक नियुक्ति नगर्ने स्पष्ट उल्लेख रहेको जनाउँदै उक्त निर्देशनविपरीत सरकारले मन्त्रिमण्डल विस्तार गरेको भन्दै आयोगले आपत्ति जनाएको हो । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

‘निर्देशनविपरीत सरकारले सोमबार तीन जना मन्त्री र एक राज्यमन्त्री थपेकाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने हुँदा त्यस किसिमका कार्य नगर्न÷नगराउन आयोग सरकारसँग आग्रह गर्दछ', विज्ञप्तिमा उल्लेख छ ।

स्रोत: 

http://annapurnapost.com/news-details/80027

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More