प्रदेश १ मा विद्युतीय रेलमार्ग

December 16, 2019

किशोर बुढाथोकी, अन्नपूर्ण पोष्ट, मङ्सिर ३०, २०७६ 

विराटनगर : प्रदेश १ मा निर्माण हुने पूर्व–पश्चिम र विराटनगर–इटहरी विद्युतीय रेलमार्गको वातावरणीय अध्ययन सकिएको छ। पूर्व–पश्चिमअन्तर्गत इनरुवा–काँकरभिट्टा १०६.५९ किलोमिटर र विराटनगर–इटहरी लिंक रेलमार्ग २०.१६ किलोमिटर लम्बाइको हुने प्रस्ताव गरिएको छ।

प्रदेशका झापा, मोरङ र सुनसरीमा बन्ने २०० किलोमिटर प्रतिघण्टाको रेलवेज जम्मा १२६.७५ किलोमिटरको हुने जनाइएको छ। नेपाल रेल विभागले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) तयार पारेको प्रतिवेदन आइतबार विराटनगरमा सार्वजनिक सुनुवाई कार्यक्रममा सार्वजनिक गरेको हो। रेल विभागले रेलमार्ग निर्माण गर्दा ९० अर्ब दुई करोड ८२ लाख ८६ हजार रुपैयाँ लाग्ने अनुमान गरेको छ। वातावरणीय प्रभाव मूल्यांकनमा खटिएका विज्ञ रिकेश चित्रकारले प्रस्तावित पूर्व–पश्चिम रेलवेजका लागि ५ सय १२ हेक्टर खेतीयोग्य र १९.६० हेक्टर वन क्षेत्रसहित ६ सय ३५.७७ हेक्टर जमिन अधिग्रहण गर्नु पर्ने बताए।

३३ हेक्टर घनाबस्तीमा पर्ने र ३ सय ५७ घरधूरी प्रत्यक्ष प्रभावित हुने जानकारी चित्रकारले दिए। ‘यो रेलमार्ग पूर्व–पश्चिम राजमार्गको करिब २ किलोमिटर दक्षिण हुँदै सुनसरीको इनरुवा बजारस्थित जनता चोक छेउबाट काँकडभिट्टासम्म पुग्नेछ,’ उनले भने, ‘काँकडभिट्टामा मेची नदीबाट २ किलोमिटर भित्र अन्तिम स्टेसन रहने यो रेलमार्गको इनरुवादेखि काँकडभिट्टासम्म १० वटा स्टेसन रहनेछन्।’ विराटनगर–इटहरी लिंक रेलवेज निर्माणका क्रममा १ सय ९३ परिवार प्रत्यक्ष प्रभावित हुने प्रतिवेदनमा छ।

विराटनगरबाट इटहरीसम्म एक स्टेसन निर्माणको प्रस्ताव गरिएको उनले बताए। नेपाल सरकारले निर्माण गर्ने लिंक रेलवेज मोरङको कटहरी, बूढीगंगा हुँदै सुनसरीको इटहरी स्टेसनसम्म लगेर जोडिनेछ। पूर्व–पश्चिम र विराटनगर–इटहरी रेलमार्ग बनाउन चार हजार परिवारको ५ सय १२.६९ हेक्टर जमिन अधिग्रहण गर्नु पर्ने उनको भनाइ छ। कम क्षति हुने गरी वातावरणीय प्रभाव मूल्यांकन गरिएको बताउँदै चित्रकारले प्रस्तावित रेलमार्गले झापा, मोरङ र सुनसरीका १८ वटा स्थानीय तह छुने जानकारी दिए।

पूर्व–पश्चिम रेलमार्गले झापाका तीन, मोरङका नौ र सुनसरीका तीनवटा स्थानीय तहका केही वडालाई छुनेछ। सुनसरीको भोक्राहा गाउँपालिकाका ५ र ७, इनरुवा नगरपालिकाको २, ४, ५, ७ र ९, इटहरी उपमहानगरपालिकाको ७, १०, ११, १२, १४, १५ र १६ नम्बर वडा छुनेछ। झापाको दमक शिवसताक्षी, कन्काई, बिर्तामोड र मेचीनगर नगरपालिका तथा कमल गाउँपालिकालाई छुने जनाइएको छ। मोरङको सुन्दरहरैंचा, बेलबारी, पथरीशनिश्चरे, उर्लाबारी नगरपालिका र कानेपोखरी गाउँपालिकालाई छुने चित्रकारले बताए।रेल विभागले आइतबार विराटनगरमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनबारे जानकारी गराइँदै। 

विराटनगर–इटहरी लिंक रेलवेजले विराटनगर महानगरपालिका, बूढीगंगा गाउँपालिका, ग्रामथान गाउँपालिका र कटहरी गाउँपालिकाका केही वडालाई छुने बताइएको छ। मूल्यांकन सकिएको भन्दै रेल विभागले आइतबार विराटनगरमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेर प्रतिवेदन सार्वजनिक गरेको हो। सोमबार सुनसरीको इटहरी, मंगलबार मोरङको पथरीशनिश्चरे र बुधबार झापाको बिर्तामोडमा पनि सार्वजनिक सुनुवाई गरेर वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्ने विभागले जनाएको छ।

भारत सरकारको लगानीमा भारतको बथनाहादेखि मोरङको कटहरीसम्म १८ किलोमिटर रेलमार्ग निर्माणाधीन अवस्थामा छ। आठ वर्षदेखि थालिएको जग्गा अधिग्रहण भने विवादका कारण रोकिएको छ।

स्रोत: http://annapurnapost.com/news/143200

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More