प्रदेश १ : किमाथांका नाकासम्म ट्रयाक खुल्न ४४ किमि बाँकी

February 26, 2018

नवीन गुरुङ, नयाँ पत्रिका, फागुन १४, २०७४

राष्ट्रिय गौरवको आयोजनामध्ये दक्षिणी नाका मोरङको रानीदेखि उत्तरी नाका संखुवासभाको किमाथांका जोड्ने कोसी राजमार्गको ट्रयाक खोल्न अझै ४४ किमि बाँकी छ ।भारत र चीन जोड्ने ३९० किमि लामो सडकको रानीदेखि संखुवासभा सदरमुकाम खाँदबारीसम्म २२८ किमिमा सवारीसाधन सञ्चालनमा छन् ।खाँदबारी–किमाथांका १६२ किमिमध्ये ११८ किमि सडकको ट्रयाक खोलिसकेको उत्तर–दक्षिण कोसी सडक आयोजना प्रमुख इन्जिनियर पशुपति ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार खाँदबारीदेखि वरुण नदीसम्मको ८० किलोमिटर सडकमा सवारीसाधनसमेत सञ्चालन हुने गरेको छ । त्यसमध्ये ३४ किमि सडकको ग्राभेलसमेत गरिएको छ ।

वरुण नदीदेखि किमाथांकासम्मको सडकलाई तीन भागमा वर्गीकरण गरेर काम अगाडि बढाइएको ज्ञवालीले बताए । पहिलो खण्डअन्तर्गत वरुण नदी–हटिया १४ किमिमध्ये तीन किमि सडकको ट्रयाक खुलिसकेको छ ।

दोस्रो खण्डअन्तर्गत हटिया–छुमसुर १० किमिमध्ये ६ किमिको पनि ट्र्याक खुलिसकेको छ । अन्तिम खण्ड किमाथांका–छुमसुरको २० किमिमध्ये १६ किमि ट्र्याक पनि खोलिसकेको आयोजना प्रमुख ज्ञवालीले बताए ।

उत्तर–दक्षिण कोसी सडक आयोजनाको कार्यालय ०६५ मा खाँदबारीमा स्थापना भएको हो । जिल्लाको विकट भोटखोला क्षेत्रमा गत वर्ष हेलिकोप्टरमार्फट ट्र्याक्टर र स्काभेटर ढुवानी गरी सडक निर्माण थालिएको ज्ञवालीले बताए ।

सडक निर्माणको ठेक्का शर्मा एपेक्स कान्छाराम जेभी र कञ्चनजंघा मोतीदान गजुरमुखी कन्स्ट्रक्सनले लिएका छन् ।

खाँदबारीदेखि किमाथांकासम्मको १६२ किलोमिटर सडकका लागि सरकारले अहिलेसम्म दुई अर्ब ३९ करोड रुपैयाँ विनियोजन गरेकोमा एक अर्ब ८५ करोड रुपैयाँ खर्च भइसकेको आयोजना प्रमुख ज्ञवालीले बताए ।

उनका अनुसार चालू आर्थिक वर्षमा ५२ करोड ८४ लाख रुपैयाँ विनियोजन भएको छ ।

चीनतर्फ झिलिमिली, नेपालतर्फ अन्धकार 
किमाथांका भएर बग्ने कामु खोलाले नेपाल र चीनलाई छुट्याएको छ । खोलामा चीन सरकारले फलामको पुल र गेट बनाएको छ । गेटमा चिनियाँ प्रहरी चौबिसै घन्टा तैनाथ छन् ।

नेपालतर्फ भने सुरक्षाकर्मी छैनन् । किमाथांकावासीका लागि चीन सरकारले दुई दिन नाका खोल्ने गरेको छ ।

चीनले सिमानामा तारबार लगाएको छ भने सिसिटिभी पनि जडान गरेको छ । चीनतर्फको बजार देङदाङ, रियु र चाँगा २४ घन्टा नै झिलिमिली हुन्छ ।

नेपालतर्फ किमाथांका गाउँ भने २४ घन्टा नै अन्धकार हुन्छ । किमाथांकामा बिजुली विस्तार भएको छैन ।

स्रोत: www.enayapatrika.com/2018/02/26/27392/

 

Newsletter

Submit your details below to receive Newsletters

Newsletter