गोविन्द सुवेदी, नयाँ पत्रिका, फागुन १८, २०७४
प्रदेश ४ का ३३ स्थानीय तहमा अझै पनि बैंकिङ सुविधा पुगेको छैन । प्रदेशका ८५ स्थानीय तहमध्ये एक नगरपालिकासहित ३३ स्थानीय तहमा वाणिज्य बैंक अहिलेसम्म पुगेका छैनन् ।सरकारले निर्वाचनलगत्तै सबै स्थानीय तहमा बैंकको पहुँच पुर्याउने घोषणा गरे पनि नौ महिनासम्म कार्यान्वयन हुन सकेको छैन । बैंक नहुँदा स्थानीय तहले काम गर्न कठिन भइरहेको गुनासो गरेका छन् । पूर्वाधार र सुरक्षाको अभाव देखाएर बैंकहरू स्थानीय तहमा पुगेका छैनन् । गाउँपालिका मात्रै होइन सबै नगरपालिकामा समेत बैंक सुविधा छैन । केही स्थानीय तहमा अझैसम्म पनि वाणिज्य बैंकहरूले सेवा दिन इच्छासमेत देखाएका छैनन् ।
राष्ट्र बैंक पोखरा कार्यालयका अनुसार बैंकको सेवा नपुगेका ३३ मध्ये चार स्थानीय तहमा अहिलेसम्म पनि कुनै वाणिज्य बैंकले जाने इच्छासमेत देखाएका छैनन् । राष्ट्र बैंकको पहलमा २९ तहमा जान तयार भएका छन् ।
जान इच्छुकलाई राष्ट्र बैंकले अनुदान दिने
राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक पोमनाथ गौतमले बैंकको पहुँच नभएका स्थानीय तहमा जान तयार हुनेलाई अनुदानलगायतका विविध सुविधा दिने बताए । उनका अनुसार २९ स्थानीय तहमा बैंकहरू जान इच्छुक भएको र सरकारलाई आवश्यक पूर्वाधारहरू विद्युत्, इन्टरनेट, यातायात र सुरक्षालगायत तयार पार्न आग्रह गरेको छ ।
बैंक नहुँदा झन्झट
सरकारले सिंहदरबारको अधिकार गाउँगाउँमा भने पनि अहिलेसम्म स्थानीय तहमा बैंक नपुग्दा जनताले सास्ती खेप्नुपरेको छ । धेरै सेवासुविधा स्थानीय तहबाटै पाए पनि बैंक नहुँदा झन्झट व्यहोर्नुपरेको हो ।
सानादेखि ठूला योजना सञ्चालन गर्दा बैंक खाता खोल्नुपर्ने बाध्यता छ । गाउँपालिकाका केन्द्रमा बैंकिङ सुविधा नपुगेका कारण सर्वसाधारणदेखि साना योजनाका उपभोक्ता समितिका पदाधिकारी बैँकिङ कारोबारका लागि टाढा पुग्नुपर्ने बाध्यता छ ।
प्रदेश ४ मा ६९२ बैंक तथा वित्तीय
प्रदेश ४ का सबै जिल्लामा बैंकको पहुँच छ । यो प्रदेशमा बैंक तथा वित्तीय संस्थाको संख्या ६९२ रहेको छ ।
सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्था कास्कीमा छन् । जिल्लाभरमा २०४ वटा बैंक तथा वित्तीय संस्थाका शाखा सञ्चालनमा छन् । वाणिज्य बैंकका ८१, विकास बैंकका ७८, फाइनान्स ११, लघुवित्त विकास ३४ शाखा छन् । तनहुँमा ३३ वाणिज्य, २६ विकास, एक फाइनान्स, एक लघुवित्त तथा त्यसका शाखा ५६ सहित जम्मा बैंक वित्तीय संस्थाका १०६ शाखा छन् ।
लमजुङमा ५२ बैंक तथा वित्तीय संस्थाका शाखा छन् । वाणिज्य १८, विकास ६, फाइनान्स एक र लघुवित्त विकास बैंकका २७ शाखा सञ्चालनमा छन् । गोरखामा १५ वाणिज्य, १० विकास बैंक, एक फाइनान्स र २३ लघुवित्त विकास बैंकका २३ शाखा छन् ।
स्याङ्जामा बैंक तथा वित्तीय संस्था ७३ सञ्चालनमा छन् । वाणिज्य २१, विकास २३, वित्त कम्पनी दुई, र लघुवित्त विकास बैंक २७ छन् । बागलुङमा वाणिज्य २६, विकास बैंक १०, लघुवित्त विकास बैैंक शाखा १९ गरी ५५ संस्था सञ्चालनमा छन् ।
पर्वतमा १३ वाणिज्य, १० विकास बैंक, २३ लघुवित्त कम्पनी गरी ४६ वित्तीय संस्था सञ्चालनमा छन् । म्याग्दीमा वाणिज्य १३, विकास बैंक सात र लघुवित्त विकास बैंक शाखा ११ गरी ३१ संख्याका शाखा सञ्चालनमा छन् ।
मुस्ताङमा वाणिज्य बैंकका पाँच, विकास सात र लघुवित्त विकास बैंक शाखा ६ गरी १३ बैंक वित्तीय संस्थाका शाखा सञ्चालनमा छन् । मनाङमा वाणिज्य बैंक चार, विकास बैंक एक र लघुवित्त विकास बैंकका चार शाखा सञ्चालनमा छन् ।
नवलपरासीमा वाणिज्य १३, विकास बैंक ११, वित्त कम्पनी एक र लघुवित्त विकास बैंकका २९ शाखा गरी ५४ संस्था सञ्चालनमा छन् । धेरै बैंक मर्जर प्रक्रियामा गएकाले केही शाखा पछिल्लो क्रममा थपघट भएका हुन सक्ने राष्ट्र बैंकका अधिकारीले जनाएका छन् ।
कहाँ कुन बैंक जाँदै ?
बैंकको सुविधा पुग्न बाँकी स्थानीय तहमध्ये १२ मा प्रभु, ४ मा कुमारी, ४ मा सिभिल, ३ मा जनता र सनराइज, एभरेस्ट, एडिबी, ग्लोबल आइएमई, लक्ष्मी र आरबिबी एक–एक स्थानीय तहमा शाखा खोल्ने तयारीमा छन् ।
मनाङको थासाङ, दालोमे र लोमान्थाङ, मनाङको नेस्याङ, म्याग्दीको धवलागिरि र रघुगंगा, बाग्लुङको तमानखोला, ताराखोला, निसी र बडिगाड, पर्वतको बिहादी र कास्कीको माछापुच्छ्रे गाउँपालिकामा प्रभु बैंक शाखा खोल्न तयार भएको छ । त्यसैगरी मनाङको नारफु, लमजुङको दोर्दी र गोरखाको सुलीकोटमा जनता बैंकले शाखा खोल्ने भएको छ । पर्वतको जलजलामा एनआइबी, पर्वतकै महाशिलामा आरबिबी, तनहुँको ऋषिङ र घिरिङ, गोरखाको चुननुब्री र स्याङ्जाको हरिनास गाउँपालिकामा कुमारी बैंकले शाखा खोल्ने भएको छ ।
तनहुँको म्याग्देमा लक्ष्मी, लमजुङको राइनास (नपा), क्ह्वोलासोथार, दूधपोखरी र मस्र्याङ्दी गाउँपालिकामा सिभिल बैंकले शाखा खोल्ने भएको छ । गोरखाको गण्डकी गाउँपालिकामा कृषि विकास र सिरानचोकमा ग्लोबल आइएमई, स्याङ्जाको बिरुवामा एभरेस्ट बैंकको शाखा सञ्चालन हुने भएको छ ।
बैंक जान नचाहेका गाउँपालिका
राष्ट्र बैंकका अनुसार अहिलेसम्म पनि गोरखाको धार्चे, मनाङको नासोङ, बाग्लुङको बरेङ र नवलपरासीको बुलिङटारमा कुनै पनि बैंकले शाखा सञ्चालन गर्न चाहेका छैनन् । पूर्वाधार र सुरक्षालगायतका कारण देखाउँदै ती स्थानीय तहमा बैंकहरू जान नचाहेका हुन् ।
स्रोत: www.enayapatrika.com/2018/03/02/28399/