प्राधिकरणको बजेट ४३ अर्ब

November 25, 2017

कान्तिपुर राष्ट्रिय दैनिक, ०८  मंसिर २०७४

नागरिक उड्डयन प्राधिकरणले चालु वर्षमा ४३ अर्ब ५९ करोड खर्च गर्ने गरी शुक्रबार बजेट पारित गरेको छ । सम्भवत: सरकारी निकायमा सबैभन्दा ढिला गरी प्राधिकरणको बजेट पारित भएको हो।

प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठका अनुसार चालु आर्थिक वर्ष ०७४/७५ को चार महिना ढिलो गरी पारित भएको बजेटले ४३ अर्ब ६५ करोड आय हुने प्रक्षेपण गरेको छ । प्रवक्तासमेत रहेका श्रेष्ठले यस वर्षको बजेटमा विमानस्थल विकास परियोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सिमरा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजनाको खर्चलाई मुख्य कार्यक्रम बताए । यस वर्ष पनि गत वर्षझंै अन्तर्राष्ट्रिय पार्किङवेमा दुइटा थप वे बढाउने, धावनमार्ग सुधार्नेलगायतका कार्यक्रम राखिएका छन् ।

शुक्रबारको सञ्चालक समिति बैठकमा अध्यक्ष पर्यटनमन्त्री जितेन्द्रनारायण देवसहित आठजना सदस्य हुनुपर्नेमा पाँच सदस्य मात्रै सहभागी थिए । निजी एयरलाइन्सका तर्फबाट चुनिएका ईश्वरी पौडेल चुनाव प्रसारमा ताप्लेजुङ गएका र अर्थ मन्त्रालयकातर्फबाट मनोनीत भन्सार विभागका प्रमुख रामशरण चिमोरिया पनि उपत्यका बाहिर भएकाले सञ्चालक समितिको बैठकमा उनीहरू उपस्थित भएनन् । 

निजी एयरलाइन्सका तर्फबाट मनोनयनमा परेका निमा शेर्पाको निधनपछि उनको स्थान रिक्त छ । पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यलाई हटाएपछि उनको स्थानमा अर्का प्राविधिक सहसचिव बुद्धिसागर लामिछानेलाई बैठकमा पठाइएको थियो । सञ्चालक समितिमा विज्ञका तर्फबाट मनोनीत सुखचन्द्र झा, नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम भने मन्त्री देवसँगै उपस्थित थिए । 


स्रोत: http://kantipur.ekantipur.com/news/2017-11-25/20171125074235.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More