माघ २४, २०७४ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाण्डौ उपत्यकामा संयुक्त आवास प्रणाली विकास गर्ने योजना अघि सारेको छ । घना बसाई रहेको उपत्यकामा बहुस्वामित्व र बहुतले घरहरु बनाउने योजना प्राधिकरणले ल्याएको छ । प्राधिकरण, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिकाको प्रतिनिधिहरुको संयुक्त बैठकले भूकम्पपछि काठमाण्डौ उपत्यकामा क्षतिग्रस्त घरहरु पुनर्निर्माण हुन नसकेको अवस्थालाई ध्यानमा राख्दै हाउस पुलिङ प्रणालीको माध्यबाट बस्ती विकास गर्ने निर्णय गरेको हो ।
पछिल्लो भूकम्पले काठमाण्डौ उपत्यकामा १ लाख बढी घर भत्किएपनि करीब ८० प्रतिशत घरको पुनर्निर्माण शुरु नभएकाले संयुक्त आवासको योजना बनाईएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बताउनुभयो । प्राधिकरणले संयुक्त आवासबारे अध्ययन गर्न ५ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले काठमाण्डौ उपत्यकाभित्र हाउस पुलिङको माध्यमबाट नमुना बस्ती बसाल्न सकिने स्थानबारे अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्नेछ ।
प्रकाशित:माघ २४, २०७४
http://bit.ly/2FUCH3T