प्राधिकरणले सार्वजनिक गर्‍यो पछिल्लो ९ महिनाको पुनर्निर्माण प्रगति विवरण

October 23, 2017

सेतोपाटी, ५ कार्तिक २०७४ 

पछिल्लो नौ महिनामा निजी आवास पुनर्निर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

प्राधिकरणको निर्देशक समितिको वैठक अनुसार निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरिएकाले पनि घर बनाउनेको संख्या पछिल्लो समय उल्लेख्य वृद्धि भएको हो । हालसम्म निजी आवास पुनर्निर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या १ लाख ८० हजारभन्दा  बढी भएको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदन अनुसार पछिल्लोे ९ महिनामा थप १ लाख ३० हजार २ सय ७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ भने थप ५० हजार २ सय १७ घर बनिसकेका छन् ।

गत पौष मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न घरको संख्या ११ हजार ८ सय ७१ थियो ।

प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सबै लाभग्राहीले निजी आवास पुनर्निर्माणका लागि आगामी असार मसान्तसम्म सबै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ।

साथै विभिन्न निकायबाट प्राप्त भएका करीब २ लाख ५ हजार बढी गुनासोलाई पछ्यौट गरि ४० हजार ९ सय ६७ घर धुरीलाई लाभग्राहीमा समावेश गरिएको, पुनर्निर्माण तथा अनुदान वितरणसम्बन्धी विगतका अव्यवहारिक प्रावधान र मापदण्डलाई व्यवहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनर्निर्माणले तुलनात्मक रुपमा गति लिएको प्राधिकरणको विश्लेषण छ।

यस्तै मापदण्ड अनुसार नबनेका घरहरूलाई मापदण्ड पुर्‍याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरि प्राविधिकहरूलाई तालिम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकोले पनि थप अनुदानबाट बञ्चित भएका धेरै लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन्।

हालै मात्र प्राधिकरणको प्रस्ताव बमोजिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घर समेत धितो राखेर ३ लाख रुपैयाँ निर्ब्याजी ऋण दिने व्यवस्थाले पनि पुनर्निर्माणलाई थप गति दिने प्राधिकरणको अपेक्षा छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोविन्दराज पोखरेलले भने ‘समग्र पुनर्निर्माणको अवस्थालाई हेर्दा केही ढिलाई भएजस्तो देखिएपनि पछिल्लो ९ महिनाको बढ्दो अनुपातलाई हेर्दा निराश हुने अवस्था छैन, निजी आवास पुनर्निर्माणले गति लिएको तथ्याङ्कले नै पुष्टी गर्छ।’

प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझिसकेका छन् । १ लाख ६ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएको र करीब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ।

चाडपर्वका कारण इन्जिनियरहरू फिल्डमा नभएको र कतिपय ठाँउमा प्राविधिक जनशक्ति अपुग भएकाले एमआईएस् प्रणालीमा तथ्याङ्कहरू समावेश हुन नसकेको प्राधिकरणका इन्जिनियर प्रवीण आचार्यले बताए। ‘बनिसकेका र बन्दै गरेका घरको तथ्याङ्क एमआईएस् प्रणालीमा अद्यावधिक सुरू भए यो संख्या थप बढ्नेछ’ आचार्यले भने, पौष मसान्तसम्म ३ लाख ५० हजारसम्म पुग्ने हाम्रो अनुमान छ ।

पुनर्निर्माणको समग्र क्षेत्रमध्ये शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगती
९ महिना अघि २ सय शैक्षिक संस्था निर्माण सम्पन्न भएकोमा हाल यो संख्या २४ सय ५६ पुगेको छ । शिक्षा मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पबाट क्षतिग्रस्त ८ हजार ९ सय २३ शैक्षिक संस्थामध्ये अहिलेसम्म ४ हजार ३ सय ८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताए।

यसैगरी स्वास्थ्य संस्था, सरकारी भवन र खानेपानी पुर्वाधार लगायतको क्षेत्रले पनि पछिल्लो ९ महिनामा गति लिएको छ ।

स्रोत: https://setopati.com/social/98319

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More