फस्टाउँदै वन्यजन्तु पर्यटन

May 16, 2019

यादव आचार्य, अन्नपूर्ण पोष्ट, जेठ ०२, २०७६ 

गुलरिया : बर्दियामा लोपोन्मुख पाटे बाघ वृद्धि हुँदै गएपछि यहाँको पर्यटन व्यवसाय फस्टाउन थालेको छ। निकुञ्जमा दुर्लभ वन्यन्तु अवलोकन गर्न पर्यटक आउने क्रम बढेसँगै बर्दियामा वन्यजन्तु पर्यटन फस्टाएको हो।

बर्दिया राष्ट्रिय निकुञ्जमा अवलोकन गर्न आउने जोकोही पर्यटक वन्यजन्तु हेर्न आउने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए। उनले भने, ‘धेरैजसो पर्यटक बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ हेर्नकै लागि आउने गर्छन्।’ यतिखेर बाघ हेर्न उपयुक्त मौसम पनि हो।

गर्मीको मौसममा बाघ पानीमै आउने गर्छन्। जसले गर्दा सजिलै बाघ हेर्न सकिन्छ। फागुनदेखि जेठ महिनासम्म बाघ हेर्न उपयुक्त समय मानिन्छ। निकुञ्जले यतिखेर घाँसेमैदान व्यवस्थापन गरेकाले नजिकैबाट बाघ अवलोकन गर्न सकिने उनको भनाइ छ। ‘निकुञ्जमा आएका स्वदेशी तथा विदेशी पर्यटक दिनहुँ बाघ देखेर फर्कने गरेका छन्’, उनले भने। पछिल्लो समय निकुञ्जमा वन्यजन्तु बढेका कारण वन्यजन्तु पर्यटनको अवस्था राम्रो छ।

पछिल्लो नतिजाअनुसार बर्दियामा ८७ वटा पाटेबाघ छन्। निकुञ्जको तथ्यांकअनुसार तीन वर्षको तुलनामा पर्यटकको संख्या पनि बढ्दो क्रममा छ। आर्थिक वर्ष ०७३÷७४ मा विदेशी, स्वदेशी र सार्क मुलुक गरी १८ हजार पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए। ०७४÷७५ मा निकुञ्ज अवलोकन गर्ने पर्यटकको संख्या २० हजार दुई सय ८१ पुगेको थियो।

आर्थिक वर्ष ०७५÷७६ को वैशाक अन्तिमसम्म विदेशी, नेपाली र सार्क गरी करिब २२ हजार पर्यटकले निकुञ्ज अवलोकन गरेको बर्दिया राष्ट्रिय निकुञ्जका टिकट बुकिङ इन्चार्ज रमेश चौधरीले बताए। बर्लिनमा भएको पर्यटन मेलाले बर्दिया राष्ट्रिय निकुञ्जलाई एसियाकै पहिलो प्राकृतिक गन्तव्य घोषणा गरी पुरस्कृत गरेको ठाकुरद्वारास्थित जंगल हेवन रिसोर्टका सञ्चालक कृष्ण भट्टराईले बताए। ‘प्राकृतिक रूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्छ। त्यसैले पनि यहाँ वाह्य तथा आन्तरिक पर्यटक वन्यजन्तु हेर्न आउने गर्छन्’, उनले भने।

बर्दिया पर्यटनको दृष्टिले महŒवपूर्ण भए पनि राज्यले यथोचित प्रचार गर्न नसकेको पर्यटन व्यवसायीको गुनासो छ। ‘बर्दियामा आउने पर्यटक बाइल्डलाइफको मज्जा लिन आउने भएकाले राज्यले प्रचार गर्न सके बर्दिया राम्रो वन्यजन्तु पर्यटन केन्द्र बन्ने सम्भावना छ’, भट्टराइले भने।

स्रोत: http://annapurnapost.com/news/127433

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More