अन्नपूर्ण पोष्ट, बैशाख ०९, २०७७
काठमाडौं : राष्ट्र बैंकले फागुन मसान्तसम्म ३७ अर्ब ८४ करोड रुपैयाँ शोधनान्तर बचत रहेको तथ्यांक सार्वजनिक गरेको छ। कोरोना महामारीका कारण मुलुकको भुक्तानी सन्तुलन विग्रँदै गएको अवस्थामा केन्द्रीय बैंकले यस्तो तथ्यांक सार्वजनिक गरेको हो।
चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्म नेपालसँग ११ खर्ब ३६ अर्ब ५१ करोड रुपैयाँ बराबरको विदेशी विनियम सञ्चित छ। यो पैसाले ८ महिना २४ दिनको आयात थेग्न सक्ने राष्ट्र बैंकको तथ्यांक छ।
त्यतिबेलासम्म अन्तरराष्ट्रिय व्यापारको प्रवृत्ति पनि सकारात्मक बाटोमा थियो। विदेशबाट हुने आयात २.६ प्रतिशत घटेको, निर्यात आम्दानी २२.३ प्रतिशत बढेको र रेमिट्यान्स आय पनि १.८ प्रतिशत बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
तर, अहिलेको अवस्थामा भने यी तथ्यांक लगभग 'आउटडेटेड' भइसकेका छन्। पछिल्लो समय विदेशबाट आउने रेमिट्यान्स भारी मात्रामा घटेको, निर्यात ठप्प भएको र आयात पनि खुम्चिएको विवरण आइरहेका छन्। यद्यपि, कोरोना महामारीले चीनपछि पश्चिम युरोपलाई तहसनहस बनाउन थाल्दा नेपालको भुक्तानी सन्तुलनमा सकारात्मक लाग्नेखालका तथ्यांक देखिएको राष्ट्र बैंककै अधिकारीहरु बताउँछन्।
फागुनमा पेट्रोलियम, सुन र अमेरिकी मुद्राको मूल्य संरचनामा व्यापक उथलपुथल आएपछि फागुनमा नेपाली अर्थतन्त्रलाई तात्कालिक लाभ मिलेको हो। राष्ट्र बैंकले कच्चा तेलको भाउ अघिल्लो वर्षको तुलनामा आधाभन्दा धेरै सस्तिएका कारण नेपालको आयात तथ्यांक घटेको हो। कतिपय औद्योगिक कच्चा पदार्थ, यातायता साधनको आयात खुम्चिए पनि खाद्यान्न, खाना पकाउने ग्यास, औषधिजस्ता अत्यावश्यक वस्तुको आयात बढेको छ।
तैपनि आयातमा नेपाललीले गरेको खर्च कम हुनुमा कच्चा तेलको भाउ एक प्रमुख कारण बनेको छ। त्यसो त, सुनको भाउ गतवर्षभन्दा २०.६ प्रतिशत महँगिएको पनि राष्ट्र बैंकले भनेको छ। सुन धेरै महँगिएपछि पहेँलो धातुको आयात रोकिँदा पनि सरकारलाई तथ्यांकीय लाभ मिलेको छ। अमेरिकी मुद्राको भाउ एक वर्षमा ७.७ प्रतिशत महँगिदा निर्यात आम्दानी र रेमिट्यान्सको वृद्धि पनि देखिएको हो।
बैंकले लिने र दिने ब्याजको अन्तर अझै ५ प्रतिशतभन्दा माथि रहेको देखिएको छ। राष्ट्र बैंकले आगामी असार मसान्तसम्म यस्तो ब्याजदर अन्तर साढे ४ प्रतिशतभन्दा तल ल्याउन भने पनि वास्तविक ब्याजदर अन्तर (भारित अैसत) फागुन मसान्तमा ५.०३ प्रतिशत रहेको देखिएको छ। गत वर्ष यस्तो अन्तर ५.७१ प्रतिशत थियो। फागुनको तथ्यांकअनुसार वाणिज्य बैंकले गत वर्षको तुलनामा निक्षेपको ब्याजदर १५ आधार विन्दु बढाएका थिए भने कर्जाको ब्याजदर ५३ आधार विन्दु घटाएका थिए। पछिल्लो समय बैंकले ठूला ऋणीलाई धमाधम ब्याजदर घटाउन थालेपछि यस्तो परिस्थिति बनेको हो।
फागुनसम्मको अवस्थालाई हेर्दा औसत मूल्यवृद्धि ६.७ प्रतिशत रहेको छ। यसको मतलव अघिल्लो वर्ष १ हजार रुपैयाँ पर्ने सामान किन्न अब १ हजार ६७ रुपैयाँ तिर्नुपर्ने भएको छ। तर, यो दर पनि नेपालमा कोरोना महामारीलाई लक्ष्यित गरेर सुरु भएको बन्दाबन्दीका कारण अहिले निकै फेरबदल आइसकेको राष्ट्र बैंककै अधिकारी स्वीकार्छन्।
राष्ट्र बैंकले फागुनसम्म ७४ अर्ब ९१ करोड रुपैयाँको वस्तु विदेशी बजारमा बेचेर ९ खर्ब २४ अर्ब २४ करोडको वस्तु आयात गरेको छ। यस हिसाबले ८ महिनामा गरेको कुल निर्यातले १९ दिनको मात्र आयात धान्न सक्ने देखिन्छ। तै पनि अघिल्लो वर्षभन्दा निर्यात् बढेको र आयात घटेकोभन्दै राष्ट्र बैंकले फागुनसम्म अन्तरराष्ट्रिय व्यापार सही दिसामा रहेको दर्शाउने कोसिस गरेको छ।
यसबीच रेमिट्यान्स आय पनि साँघुरो दरमै भए पनि बढेर ५ खर्ब ९२ अर्ब ४२ करोड पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। यही कारण मुलुकको चालु खाता घाटा गत वर्षको १ खर्ब ९१ अर्बबाट घटेर १ खर्ब २५ अर्बमा झरेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। शोधनान्तर (भुक्तानी सन्तुलन) बचत बढाउन पनि यसले राहत पुगेको हो।