अन्नपुर्ण पोस्ट, ३१ असोज २०७४
भक्तपुर: वार्षिक रु पाँच करोडको फूल तथा फूलको माला बिक्री हुने जिल्लामा यस वर्ष फूलको अभाव भएको छ। यस वर्ष फूलको माग दोब्बर भएको छ।उत्पादन कम भएपछि मूल्यमा पाँच गुणाले वृद्धि भएको छ। मखमली फूलको उत्पादन पर्याप्त भएपनि सयपत्री फूलको उत्पादन भने विगत वर्षका तुलनामा कम भएपछि मूल्य पाँच गुणाले वृद्धि भएको हो।
गुण्डुमा पाँच वर्षदेखि फूलखेती गर्दै आएकी ५० वर्षीया सीता थापा यस वर्ष विगत वर्षभन्दा फूलको माग दोब्बर भएको र मागअनुसार मूल्य बढाउनु परेको बताए।
विगतका वर्षमा एक थुंगा सयपत्री फूल एक रुपैँयामा बिक्री गर्दै आएका सूर्यविनायक नगरपालिका गुण्डुका किसान यस वर्ष प्रतिथुंगा पाँच रुपैयामा बिक्री गरिरहेका छन्। यहाँका एक सयभन्दा बढी किसानले आधा रोपनीदेखि पाँच रोपनी जग्गामा फूलखेती गर्दा एक वर्षमा रु ५० हजारदेखि रु आठ लाखसम्म आम्दानी हुन थालेपछि किसान फूलखेतीतर्फ आकर्षित हुँदै गएका छन्।
गुण्डुकी ४८ वर्षीया देवु कुँवर दिनको रु ५०० ज्याला तिरेर मखमली फूलको माला गाँस्न लगाएको बताए। एउटा माला रु २५ देखि रु ५० सम्ममा बिक्री गर्ने गरेको उनले बताए। सयपत्री फूल उत्पादन कम भएकाले एउटै थुंगा पाँच रुपैयाँमा बिक्री गर्ने गरेको कुँवरले बताए।
फूल र माला खोज्न गाउँ÷गाउँमै एक महिना अघिदेखि व्यापारी आउने भएकाले बजार खोज्दै जानु नपर्ने भएपछि सहज भएको फूलको व्यापार गर्दै आउनुभएकी ३० वर्षीया सविना नगरकोटी बताए।यस वर्ष मागअनुसारको माला र फूल दिन नसक्दा समस्या परेको बताउँदै उनले फूलखेती गर्ने जग्गाको समेत अभाव भएको बताए।
पाँच वर्षदेखि जग्गा भाडामा दिएर फूलखेती गर्दै आएकी स्थानीयवासी इन्दिरा नगरकोटी फूलबाट मनग्य आम्दानी हुने भए पनि मागअनुसारको फूल उत्पादन गर्न नसकेको बताए। सयपत्री फूल भर्खरै फुल्न थालेकाले फूलको अभाव भएको छ।
स्रोत:http://annapurnapost.com/news-details/82359