हिमाल लम्साल, नागरिक दैनिक, २६ जेठ २०७४
कलकल बग्ने सफा पानी। दुवै किनारामा हरियाली र बगैंचा, सफा सडक अनि नदीको डिलमा आरामदायी फलौचा।
योजना अनुसार काम भए अबको पाँच वर्षभित्र यस्तै हुनेछ बाग्मतीकरिडोर। त्यसमा थपिनेछन्– छुट्टै साइकल लेन र बाल उद्यान केन्द्र।
अधिकार सम्पन्न बाग्मतीसभ्यता विकास समितिले अघि बढाएको योजना र मार्गचित्र हो यो। दुर्गन्धित बनेको बाग्मतीलाई सफा गरेर करिडोर क्षेत्रलाई आकर्षणको केन्द्र बनाउन समितिले यही योजना अनुसार काम गरिरहेको छ।
'केही वर्षअघिसम्म बागमतीमा जताततै फोहोर तैरिन्थ्यो,' समितिका आयोजना उपप्रमुख योगेन्द्र चित्रकार भन्छन्, 'अहिले त्यसमा धेरै सुधार भएको छ, हामी पाँचवर्षभित्र मार्गचित्र अनुसारकै बाग्मतीबनाउने अभियानमा छौं।'
एसियाली विकास बैंकको ऋण र अनुदान सहयोग एवं सरकारी लगानीमा पाँच वर्षे बाग्मतीनदी क्षेत्र सुधार परियोजना सुरु भइसकेको छ।
परियोजनाको पहिलो चरणमा गोकर्णदेखि सिनामंगल भत्केको पुलसम्म ७ दशमलव २ किलोमिटर बाग्मतीकिनार सुन्दर बनाउन काम सुरु भइसकेको चित्रकारले जानकारी दिए।
उनका अनुसार गोकर्ण–सिनामंगल बाग्मतीकरिडोरमा सुन्दर बगैंचा, सडक, फुटपाथ, साइकल लेन, रेलिङ, पर्खाल, घाट, पौवा र 'चेक ड्याम' निर्माण गरिनेछ। निर्माणसँगै सरसफाइ पनि अघि बढाउने योजना छ।
सरसफाइका लागि पहिलो चरणमा ढल व्यवस्थापन भइरहेको छ। 'किनारलाई सुधार गरेर मात्र बाग्मतीफेरिँदैन, त्यसका लागि ढल व्यवस्थापन र पानीको बहाब बढाउन बाँध निर्माण गर्नु जरुरी छ,' उनले भने।
पहिलो चरणको कामका लागि समिति र निर्माण कम्पनीबीच गत कात्तिकमा सम्झौता भइसकेको छ। त्यसका लागि कुल १ अर्ब ६० करोड रूपैयाँ खर्च हुँदैछ।
आयोजनाका बरिष्ठ डिभिजन इन्जिनियर प्रभात श्रेष्ठका अनुसार काठमाडौं–नुवाकोट सीमास्थित ढाप क्षेत्रमा २४ मिटरको बाँध निर्माण भइरहेको छ। बाँध निर्माण भएपछि हिउँदमा प्रतिसेकेन्ड ४० लिटरका दरले बागमतीमा पानीको प्रवाह हुनेछ। यसैगरी नदीको मुहानमा प्राकृतिक विपद्को सूचना दिने उपकरण समेत जडान गरिनेछ।
पाँच वर्षे योजनामा एसियाली विकास बैंकले ३ करोड र नेपालले ६० लाख गरी जम्मा ३ करोड ६० लाख अमेरिकी डलर लगानी गर्नेछन्। सन् २०२१ भित्र योजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
बागमतीमा मिसाइने ढल व्यवस्थापन यसका सहायक नदी धोबीखोला र विष्णुमतीमा पनि समानान्तर ढलको पाइप बिछ्याउन थालिएको छ। मनोहरा र हनुमन्तेमा पनि ढल व्यवस्थापन गरिनेछ। बागमतीसहित यसका सात सहायक नदी सफा नराखी सुधार नहुने भएकाले सबैतिर एकैपटक काम अघि बढाइएको हो।