हिमाल लम्साल, नागरिक दैनिक, ०१ भदौ २०७५
सरकारले प्रदूषण जाँचमा फेल भएका चार पांग्रे सवारी साधन गुडाउन शुक्रबारदेखि रोक लगाउने भएको छ। यातायात व्यवस्था विभागले प्रदूषण जाँचमा फेल भएका सवारी साधनले अत्याधिक मात्रामा वातावरण प्रदूषण गरेको भन्दै गुड्न रोक लगाउन लागेको हो।
विभागले काठमाडौं उपत्यकासहित देशभरका महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा चल्ने चार पांग्रे सवारी साधनले अनिवार्यरूपमा प्रदूषण जाँच पास गरेर हरियो स्टिकर लगाउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो। सवारीको प्रदूषण चेकजाँचका लागि आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा जान विभागले अनुरोध गरेको छ।
विभागका प्रवक्ता तुलसीराम अर्याल प्रदूषण फेल भएका सवारी साधनले वातावरणमा प्रतिकूल असर पारेकाले नियन्त्रण गर्न लागेको बताउँछन्। ‘अब सडकमा प्रदूषण फेल भएका चार पांग्रे सवारी साधन निकाल्न पाइँदैन,’ उनले भने, ‘कसैले मनोमानी गरेर निकालेमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गर्नेछन्।’
सवारी तथा यातायात व्यवस्था ऐन ०४९ को दफा १६० को ३ अन्तर्गत सवारी जाँच नगरेका सवारी साधनलाई दुई सय देखि एक हजार रूपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधान छ।
उनका अनुसार प्रदूषण फेल भएका सवारी साधन मर्मतसम्भार गरेर पुनः प्रदूषण जाँचमा पास भएमा फेरि सञ्चालन गर्न सकिनेछ।
सवारी साधनबाट निस्कने धुवाँले वायु प्रदूषण गरेको भन्दै सवारी साधनको प्रदूषण जाँच गर्न विभागले हालसालै ४० थान मेसिन भित्र्याएको थियो।
प्रवक्ता अर्यालका अनुसार काठमाडौं उपत्यकामा यातायात व्यवस्था कार्यालय एकान्तकुना, ठूलोभ-याङ, भक्तपुरको सल्लाघारी, टेकु, नागढुंगा, बल्खुलगायत स्थानबाट सवारी साधनको प्रदूषण जाँच गर्न सकिनेछ । सवारी साधनको प्रदूषण जाँच गर्न ३५ रूपैयाँ लाग्ने विभागले जनाएको छ। काठमाडौं उपत्यकाबाहिर रहेका १३ वटै यातायात व्यवस्था कार्यालयबाट सवारी साधनको प्रदूषण जाँचको व्यवस्था गरिएको छ।
६ लाख सवारी जाँच्ने ५० मेसिन!
विभागसँग सवारी साधनको संख्याको अनुपातमा प्रदूषण जाँच गर्ने मेसिनको अनुपात निकै कम देखिएको छ। विभागका अनुसार आर्थिक वर्ष २०७३–७४ मा देशभर २७ लाख ८३ हजार चार सय २८ सवारीसाधन दर्ता भएका भएका छन्। जसमध्ये पाँच लाख ९४ हजार ३ सय २९ सवारी साधन चार पांग्रे सवारी साधन रहेका छन्। एउटा प्रदूषण जाँच गर्ने मेसिनले ६ महिनाभित्र ११ हजार ८ सय ८६ सवारीसाधनको प्रदूषण जाँच गर्नुपर्ने देखिन्छ। जुन प्राविधिक हिसाबले निकै कठिन हुने देखिन्छ। विभागसँग नयाँ ४० र पुराना १० थान गरी करिव ५० थान मात्रै प्रदूषण जाँच गर्ने मेसिन छन्। जसले गर्दा सवारीको अनुपातमा मेसिनको संख्या कम भएकाले सवारी जाँच प्रभावकारी जाँच हुनेमा फेरि आंशका उब्जिएको छ।
यातायात व्यवस्था कार्यालय बाग्मतीमा आव २०७३–७४ सम्म १० लाख ४२ हजार ८ सय ५६ सवारीसाधन दर्ता भएका छन्। तीमध्ये दुई लाख २५ हजार ३ सय ८३ चार पांग्रे र सोभन्दा धेरै दुई पाग्रे सवारीसाधन छन्। विभागले हालसालै चार पांग्रे सवारी साधनको प्रदूषण जाँच गर्न २० वटा पेट्रोलबाट चल्ने सवारी साधनको लागि ग्यास एनालाइजर मेसिन र डिजेलबाट चल्ने सवारीसाधनको प्रदूषण जाँच गर्नको लागि डिजेल स्मोक मेसिन खरिद गरेको जनाएको छ। त्यसअलावा विभागसँग एकान्तकुना, सल्लाघारी, ठूलो भ-याङ र टेकुमा गरेर करिव १० थान प्रदूषण जाँच गर्ने मेसिन छन्।
‘दर्ता भएका सबै सवारीसाधन सञ्चालनमा नआएका हुन्छन्। त्यसैले तथ्यांकमा केही घटबढ हुन सक्छ,’ उनले भने, ‘प्रदूषण जाँच गर्ने मेसिनको आवश्यकता अनुसार नै खरिद गर्ने योजना बनाएका छौं।’
पेट्रोल तथा ग्यासबाट चल्ने सवारी साधनको धुवाँको मात्रा ग्यास एनालाइजरमार्फत् मापन गरिन्छ। सवारी साधनमा धुवाँको मात्रा हजार पिपिएम र कार्बनमनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने मापदण्ड छ। त्यस्तै, डिजेलबाट चल्ने सवारी साधनको ‘डिजेल स्मोक मिटर’मार्फत् धुँवाको मापन गरिन्छ। यसमा धुवाँको मात्रा ६५ प्रतिशतभन्दा कम एचएसयु हुनुपर्ने मापदण्ड छ।
यातायात व्यवस्था विभाग सवारी परीक्षण कार्यालय टेकुका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर रामचन्द्र पौडेलले सरकारले भदौं १ गते देखि सवारी साधनको प्रदूषण जाँचमा कडाई गर्ने बताउँछन्।
‘यसअघि उपत्यकामा मात्रै सवारी प्रदूषण जाँच हुन्थ्यो, त्यसैले कार्यान्वयनमा समस्या देखिएको थियो,’ उनले भने, ‘यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकासहित देशभर रहेका महानगरपालिका र उपमहानगरपालिकामा सवारी प्रदूषण जाँँच कार्यान्वयनमा ल्याउँदैछ। त्यसैले कार्यान्वयन गरेर नै छाड्नेछौं।’
उनका अनुसार काठमाडौं उपत्यकामा सवारीको प्रदूषण जाँच यातायात व्यवस्था कार्यालय एकान्तकुना, सानोभ-याङ, जगाती, नागढुंगा, बल्खु लगायतका स्थानमा ग्याँस एनालाइजर र डिजेल स्मोक मिटरबाट प्रदूषण जाँच गरिनेछ। प्रमुख पौडेलले सवारी साधनको प्रदूषण जाँच गर्दा फेल हुने सवारी साधनलाई कारबाही गर्ने बलियो संयन्त्र नभएको स्वीकार्छन्। ‘प्रदूषण जाँचमा फेल हुने सवारीलाई कारबाही गर्ने बलियो संयन्त्र छैन, त्यसैले ऐन संसोधन गर्ने तयारी गरिरहेका छौं,’ उनले भने, ‘फेल हुने सवारी साधनलाई एक हजार रूपैयाँ जरिवाना लिएर मर्मतसम्भार गर्न निर्देशन दिँदै आएका छौं।’