News

फोर्ब्सको सूचीमा दुई नेपाली महिला

March 27, 2018

अस्मिता ढकाल, आर्थिक अभियान, चैत्र १४, २०७४ 

काठमाडौं । अमेरिकी व्यावसायिक पत्रिका फोब्र्स म्यागाजिनले ‘३० मा ३०’ अर्थात् ३० वर्षमुनिका प्रभावशाली एशियालीको सूची सार्वजनिक गरेको छ । यसमा दुईओटा नेपाली महिला पनि छानिएका छन् । एशियामा रहेका ३० वर्षमुनिका ध्वंसात्मक आविष्कारक (डिस्रप्टर), नवप्रवर्तक र उद्यमीहरू समावेश छन् । यो वर्षको संस्करणमा ‘डिस्रप्शन एण्ड इनोभेशन’ नारा राखिएको थियो । फोब्र्सले हरेक वर्ष कम उमेरका कला, प्रविधि, उपभोक्ता, व्यवसाय, विज्ञान, इ–कमर्श, सामाजिक उद्यमशीलता लागयत १० ओटा विधामा उत्कृष्ट कार्य गरेका ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली व्यक्तिलाई सूचीमा समावेश गर्दै आएको छ ।

यो वर्षको फोर्ब्सको सूचीमा सामाजिक उद्यमीतर्फ नेपालबाट आयुषी केसी र कञ्चन अमात्य पर्न सफल बनेका छन् । यस सूचीमा समावेश हुनेलाई आगामी जुलाईमा हङकङमा आयोजना हुने अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । सम्मेलनमा विश्वभरिका लगानीकर्ता र यस क्षेत्रमा सक्रिय संस्था तथा व्यक्तिहरूको सहभागिता रहने बताइएको छ ।

केसी फोहोर व्यवस्थापन गर्दैै आएको खालीसीसी डट कमकी संस्थापक हुन् भने अमात्य दिगो मत्स्यखेती अभियान (एसएफएफआई) नामक संस्थाकी अभियन्ता तथा उद्यमी हुन् । खालीसीसी डटकमले खालीसीसी सङ्कलनमार्फत पुनःप्रयोग गर्न मिल्ने फोहोरको व्यवस्थापनमा उल्लेख्य योगदान दिएबापत केसीलाई सो सम्मान दिएको फोर्ब्सले बताएको छ । त्यस्तै एसएफएफआईले दिगो जलीय कृषिमार्फत खाद्यसुरक्षा तथा गरीबी निवारणको कार्य गर्दै आएको छ । संस्थाले दुर्गम भेगका महिलालाई प्रविधि तथा स्थानीय स्रोतसाधनमाथि पहुँच बढाएको, वित्तीय शिक्षामार्फत आफ्नै सहकारी संस्था निर्माण गराएको र तिनको जीवनस्तर सुधार गर्ने महत्त्वपूर्ण योगदान पुर्‍याएबापत अमात्यलाई सूचीमा समावेश गरिएको फोर्ब्सको भनाइ छ ।

स्रोत: www.abhiyan.com.np/2018/03/28/191643