फोहोरबाट मोहोर कमाउँदै वालिङ नगरपालिका

June 23, 2017

तोलाराम बगाले, नेपाल खबर कारोबार, ९ असार २०७४

स्याङ्जाको वालिङ नगरपालिकाबाट सङ्कलन हुने फोहोर मैला बिक्रीबाट चालु आर्थिक वर्षमा मात्रै झन्डै रु सात लाख आम्दानी भएको छ।

विभिन्न सहरमा फोहोरले सास्ती पाइरहेका बेला याे सहरले फोहोर बिक्रीबाट मुद्रा हासिल गरेर प्रेरणादायी काम गरिरहेको छ।

वालिङले चालु आर्थिक वर्षको हालसम्म रु पाँच लाख ५३ हजार आम्दानी गरिसकेको छ। करिब डेढ लाख रुपैंयाँ बराबरको फोहोर बिक्री गर्ने तयारीमा रहेको दिदीबहिनी तथा समाज उत्थान संस्थाका अध्यक्ष यामप्रसाद भण्डारीले बताए।

वालिङ नगरपालिकामा उत्पादन हुने फोहोर मैलाको बिक्रीबाट पहिलो वर्ष तीन लाख ७९ हजार, दोस्रो वर्ष पाँच लाख १० हजार ८०० र तेस्रो वर्ष (चालु आवको हालसम्म) रु पाँच लाख ५३ हजारको फोहोर मैला बिक्रीबाट आम्दानी भइसकेको छ। फोहोर व्यवस्थापनका लागि वालिङ नगरपालिका र दिदीबहिनी समाज उत्थान संस्थाबीच सार्वजनिक निजी साझेदारी बमोजिम २०७१ साल असोज ३० गते चार वर्षको लागि सम्झौता भएको छ।

वालिङ नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहोरको प्रभावकारी व्यवस्थापन गर्दै आएको छ। घरघरबाट उत्पादन हुने फोहोरलाई वर्गीकरण गर्दै सङ्कलन गरेर प्रभावकारी व्यवस्थापन गरिएको छ। फोहोर उत्पादन हुनासाथ कुहिने र नकुहिने दुई भागमा वर्गीकरण गरी त्यसलाई प्रशोधन केन्द्रमा लगी प्रशोधन गरेर बिक्री गर्ने गरिएको अध्यक्ष भण्डारीले बताए।

फोहोरमैलाका क्षेत्रका गरेको उदाहरणीय कार्यले वालिङ नगरपालिका पुरस्कृत पनि भएको छ। विभिन्न सहरबाट फोहोरमैला व्यवस्थापनका बारेमा जान्न बुझ्नका लागि समेत यहाँ आउने गरेका छन्। ‘फोहोरमैला व्यवस्थापनका क्षेत्रमा वालिङ नगरपालिकाले गरेको यो मोडल देशकै नमुना मोडल हो’, अध्यक्ष भण्डारीले दावी गरे, ‘यसको अवलोकन गर्नका लागि हालसम्म विभिन्न नगरपालिका, शैक्षिक तथा अन्य सङ्घसंस्था गरी ५३ वटा निकायका प्रतिनिधि आइसकेका छन्।’

फोहोरमैलाको व्यवस्थापनमा हाल पाँचजनाले प्रत्यक्ष रोजगारी पाएका छन्। वालिङलाई सफा र स्वच्छ सहरका रुपमा विकास गर्नका लागि नगरवासीलाई फोहोर मैला व्यवस्थापनसम्बन्धी तालिमसमेत दिने गरिएको छ। ‘घरबाट उत्पादन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउन लगाएका छौँ’, अध्यक्ष भण्डारीले भने, ‘कुहिनेलाई घरमै कम्पोस्ट मल बनाउन सिकाउने र नकुहिनेलाई घरमै पुगेर खरिद गरिदिने व्यवस्था मिलाउने तयारीमा छौँ।’ फोहोरमैला प्रशोधन तथा खरिद बिक्री केन्द्रले भैरहवा तथा बुटवलमा लगेर बिक्री गर्ने गरेको छ।

स्रोत: https://nepalkhabar.com/np/news/business/17878/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More