बंगलादेशसँग बर्सेनि व्यापार घाटा

July 30, 2020

पर्वत पोर्तेल, कान्तिपुर, श्रावन १५, २०७७ 

आर्थिक वर्ष २०७५/०७६ मा बंगलादेशसँग अढाई अर्ब व्यापार घाटा रहेकोमा गत वर्ष बढेर करिब ४ अर्ब पुगेको छ ।

काँकडभिट्टा — सामग्री निर्यातमा कमी आएसँगै नेपालको बंगलादेशसँगको व्यापार घाटा थप बढ्न थालेको छ । आर्थिक वर्ष २०७५/०७६ मा बंगलादेशसँग अढाई अर्ब व्यापार घाटा रहेकोमा गत वर्ष बढेर करिब ४ अर्ब पुगेको छ ।

बंगलादेशसँगको सीमावर्ती नाका भारतको फूलबारी ल्यान्ड कस्टममा नेपाल, भारत र बंगलादेशका मालवाहक ट्रकहरू । फाइल तस्बिर

‘नेपाल–बंगलादेश व्यापार सुरु भएको करिब २३ वर्षयताकै यो सबभन्दा कमजोर स्थिति हो’, मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले भने, ‘घाटा व्यापार बर्सेनि चुलिँदो स्थितिमा छ ।’

मेची भन्सारका अनुसार बितेको वर्ष नेपालबाट करिब साढे ९५ करोडको मात्रै वस्तु निर्यात भएको थियो । बंगलादेशबाट भने झन्डै ५ अर्बको सामान आएको थियो । २०७५/०७६ मा १ अर्ब ३२ करोडभन्दा बढीको सामान नेपालले निर्यात गर्दा बंगलदेशबाट करिब पौने ४ करोडको वस्तु आयात भएको थियो ।

बंगलादेशसँगको व्यापार मुलुकको पूर्वी नाकाबाट मात्रै हुन्छ । यो नाकाबाट हुने कुल व्यापारको १५ देखि २० प्रतिशत बंगलादेशसँगै हुन्छ । भन्सारका अनुसार अहिले बंगलादेशले बढीजसो मकै, जुट, ब्याट्रीलगायत सामान पठाइरहेको छ । औषधि, गार्मेन्ट, आलु, प्लास्टिक कुर्सी, फर्निचरलगायत दुई दर्जनभन्दा बढी सामग्री आयात हुन्छन् । नेपालबाट भने मुख्यतया मुसुरो दाल निर्यात हुन्छ । त्यसबाहेक डाबर नेपालका उत्पादन, न्यून मात्रामा हरियो तरकारी र जडीबुटी छन् । ‘बंगलादेशबाट आयात गरेको गर्‍यै गर्ने, यताबाट निर्यात नबढाउने कारण नै व्यापार घाटाको मुख्य जड हो’, भन्सार प्रमुख विश्वकर्माले भने, ‘मुसुरोको भरमा कतिन्जेल व्यापार टिक्ला थाहा छैन ।’

बंगलादेशमा नेपाली सामानमाथिको भन्सार शुल्क अत्यधिक रहेकाले पनि निर्यात गर्न समस्या देखिन्छ । त्यहाँ नेपाली तरकारीमा समेत २० प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाइन्छ । जबकि भुटानबाट जाने अधिकांश सामानलाई भन्सार छुट गरिएको छ ।

सरकारले नेपाली वस्तुलाई समेत भन्सार छुट गराउन पहल गरेको धेरै वर्ष भइसके पनि टुंगो नलागेको नेपाल–बंगलादेश च्याम्बर अफ ट्रेडर्सका संस्थापक पन्नालाल जैन बताउँछन् । ‘नेपाली वस्तुलाई ड्युटी फ्री गर्नेबित्तिकै स्वतः निर्यात बढ्न सक्ने देखिन्छ’, उनले भने, ‘ड्युटी फ्री नगरेसम्म नेपाली वस्तुको निर्यात बढ्ने सम्भावना देखिँदैन ।’

पछिल्लो समय मुसुरोको निर्यात पनि कम भएको व्यवसायीहरूको भनाइ छ । बगलादेशमा मुसुरोको अत्यधिक माग भए पनि नेपालमा यसको उत्पादन क्रमशः घट्दो रहेको एक व्यवसायीले जनाए । ‘खासमा मुसुरोका कारणले मात्रै नेपाल–बंगलादेश व्यापार टिकेको भन्दा फरक पर्दैन’, व्यवसायी जैनले भने ।

स्रोत: https://ekantipur.com/business/2020/07/30/159608492096985418.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More