बजेट बहुमतले पारित

June 28, 2019

नागरिक, असार १३, २०७६ 

मकवानपुर – प्रदेश ३ को आर्थिक वर्ष ०७६/७७ को बजेट प्रदेश सभामा बहुमतले पारित भएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले सोमबार पेस गरेको आव ०७६/७७ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको (विनियोजन) विधेयक र राजस्व र व्यय (बजेट)को अनुमानको प्रस्ताव बहुमतले पारित भएको हो।

प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले बजेटको पक्षमा र नेपाली कांग्रेस, नेमकिपा र साझा विवेकशील पार्टीलगायतले बजेटको विपक्षमा मतदान गरेका थिए। मतदानअघि प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीले उठेका सवालको जवाफ दिएका थिए।

यस्तै प्रदेशको आव ०७६/७७ को आर्थिक विधेयकमाथिको छलफल सुरु भएको छ। प्रदेश सभा बैठकका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले आर्थिक विधेयकमाथि छलफल गर्न प्रस्ताव पेस गरेका छन्।

प्रदेश सरकारले आगामी आव ०७६/७७ का लागि ४७ अर्ब ६० करोड ७८ लाख ८६ हजार रुपैयाँको बजेट ल्याएको छ। प्रदेशसभा बैठकमा असार १ गते प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले चालुतर्फ २४ अर्ब ४६ करोड ७९ लाख ९० हजार रुपैयाँ अर्थात ५१.३९ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब ८३ करोड ९८ लाख ९६ हजार रुपैयाँ अर्थात ४७.९८ प्रतिशत विनियोजन गरेको बजेट प्रस्तुत गरेका थिए।

प्रदेश सरकारले ‘स्वास्थ्य, सुसंस्कृत र सुखी जनता : समाजवाद उन्मुख समृद्ध प्रदेश’ भन्ने मूल नाराका साथ तेस्रो आवमा गत आव ०७५÷७६ मा भन्दा ११ अर्ब ९९ करोड ५२ लाखभन्दा बढी ल्याएको छ। कूल बजेटको ०.६३ प्रतिशत अर्थात् ३० करोड रुपैयाँ वित्तीय व्यवस्थापनका लागि सरकारले विनियोजन गरेको छ। आगामी आवको आम्दानीतर्फ कर राजस्वतर्फ १५ अर्ब ४९ करोड ४९ लाख, अन्तरसरकारी अनुदानतर्फ १८ अर्ब ६ करोड १३ लाख, अन्य राजस्वतर्फ सात अर्ब ३० करोड र राजस्व बचततर्फ ६ अर्ब ७५ करोड १६ लाख ८६ हजार अनुमान गरिएको छ।

प्रदेश सरकारले चालु आव ०७५/७६ का लागि ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट ल्याएको थियो।

स्रोत: https://nagariknews.nagariknetwork.com/news/81040/

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More