The Kathmandu Post, Basanta Pratap Singh, 28th April 2017, Bajhang
किसानहरू परम्परागत बाली छाडेर आलु खेती लगाउन थालेका छन् । गाउँमा सडकको सुविधाले आफ्ना उत्पादनलाई बजार पठाउन सहज भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् ।
बझाङका हिमाली र उच्च पहाडी वातावरणमा उब्जेको अर्गानिक आलु स्वादिलो र छिटो पाक्ने भएकाले यसको माग बाहिरी जिल्लाबाट समेत हुने किसानहरू बताउँछन् । ‘आलु फलाउन मात्र समस्या छ । जति फलाए पनि बिक्रीको कुनै चिन्ता छैन,’ दहबगर गिरौंका किसान कलक धामीले भने, ‘गाडी लिएर आउँछन् । खेतमै २५ रुपैयाँ किलो किनेर लैजान्छन् ।’ दहबगरमा मात्र यो वर्ष करिब डेढ सय रोपनी क्षेत्रफलमा हिउँदे आलु खेती गरिएको उनले बताए ।
बर्खामा मात्र आलु खेती गर्ने चलन भएको यस जिल्लामा पछिल्लो समय हिउँदे आलु लगाउन थालिएको छ । दुई वर्षअघि करिब ५० हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेकोमा यो वर्ष झन्डै १ हजार हेक्टरमा खेती गरेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ । ‘बीउको रूपमा पनि बझाङको आलुको माग बाहिर जिल्लाबाट धेरै आइरहेको छ,’ जिल्ला कृषि विकास कार्यालयका बाली प्रसार शाखाका प्राविधिक सहायक मदनराज जोशीले भने, ‘यो वर्ष मात्र अर्घाखाँची, गुल्मी, डोटीलगायतका जिल्लामा ३० टनभन्दा बढी बीउ पठाइएको छ ।’
दाँतोला, गडराय, रिलु, मष्टा, दहबगर, सुइल, मयाना, लेकगाउँ, सैनपसेला, कडेल, व्यासीलगायत जिल्लाका सबै गाउँपालिकामा आलु खेती गर्नेहरूको संख्या बढदै गएको छ । आलु खेतीबाट तुरुन्त नगद आम्दानी हुने भएकाले कतिपय भारतको रोजगारी छाडेरसमेत यसतर्फ लागेको दहबगर कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम धामीले बताए ।
‘आलु बेचेरै एक परिवारले वर्षमा ३/४ लाख कमाइ गरिरहेका छन्,’ गडरायका मंगल खडकाले भने, ‘हिजोआज कम्तीमा एक/दुई रोपनीमा आलु खेती नगर्ने परिवार नै छैनन् ।’
जिल्ला कृषिले आलु खेती गर्नेे किसानलाई बिउमा ५० प्रतिशत, कृषि सामग्रीमा ८५ प्रतिशत अनुदान दिँदै आएको छ । यस्तै आलु उत्पादक किसानका लागि भण्डारण, बजारीकरण र नयाँ प्रविधि विस्तारमा पनि सहयोग गर्दै आएको कार्यालय प्रमुख राजेश केसीले जानकारी दिए ।
Source: http://kantipur.ekantipur.com/news/2017-04-28/20170428085441.html