बढे क्यान्सरका बिरामी

September 27, 2018

सूर्यप्रसाद अधिकारी, आर्थिक अभियान, ११ असोज २०७५ 

चितवन । पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरको तथ्याङ्कले देखाएको छ । बढ्दो प्रदूषण, सुर्तीजन्य पदार्थ, मद्यपान र असन्तुलित खानालगायत कारण क्यान्सरका रोगीहरू बढेको उक्त अस्पतालका डाक्टरहरूले बताएका छन् । क्यान्सरका बिरामीमध्ये फोक्सोको क्यान्सर भएकाहरू सबैभन्दा बढी रहेको समेत उनीहरूको भनाइ छ । विश्व १४औं राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा अस्पतालको १९औं वार्षिकोत्सवको अवसरमा बुधवार अस्पतालले पत्रकार सम्मलेन गरी यसबारे जानकारी गराएको हो ।

उपचारका लागि आउनेमध्ये फोक्सोका क्यान्सर रोगीहरू सबैभन्दा धेरै रहेको अस्पतालले बताएको छ । अस्पतालका अनुसार यसपछि स्तन क्यान्सर, प्रोष्टेट क्यान्सर, छालाको क्यान्सर र आमाशयको क्यान्सर भएकाहरू धेरै छन् । क्यान्सरका लक्षण नै थाहा नपाउनु र बिरामी बेलैमा उपचारको पहुँचमा नपुग्नुका कारण पनि यो रोग जटिल बन्ने गरेको विशेषज्ञ डाक्टरहरूले बताएका छन् ।

समाजमा अझै पनि क्यान्सरप्रति सजकता नभएको क्यान्सर रोकथाम तथा सतर्कता विभागका प्रमुख भोला शिवाकोटीले बताए । यो रोगबारे चेतनाको कमी र उपचार विधि महँगो भएकाले अस्पताल नै नआई कतिपय रोगीको मृत्यु हुने गरेको उनको भनाइ छ । ‘अस्पताल आउनेहरूमा सुगम ठाउँका, शिक्षित र उपचार क्षमता भएकाहरू बढी हुन्छन्,’ उनले भने, ‘चेतनाको कमी भएका र उपचारको सहज पहुँच नभएका बिरामी अन्तिम अवस्थामा मात्र आउँछन् ।’ नेपालमा मात्रै क्यान्सरका रोगी वर्षेनि ३३ हजारदेखि ३५ हजारसम्म बढेको उनले जानकारी दिए ।

अस्पताललाई विश्वविद्यालयको रूपमा विकास गर्न जोड 
यसैबीच, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई क्यान्सरसम्बन्धी अध्ययन गर्ने विश्वविद्यालयको रूपमा विकास गर्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । अस्पताल देशकै केन्द्र भागमा रहेको र सबैभन्दा धेरै क्यान्सर रोगीको उपचार हुँदै आएको भन्दै उनीहरूले यसलाई अन्तरराष्ट्रियस्तरको बनाउनुपर्ने आवश्यकता औंल्याए । अस्पताललाई एशियाकै नमूना क्यान्सर अस्पताल बनाउनुपर्ने विचारसमेत सहभागीले व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले उक्त अस्पताललाई क्यान्सरसम्बन्धी अध्ययन गर्ने विश्ववद्यालय बनाउन सरकारको ध्यानार्कषण गरिने आश्वासन दिए । यद्यपि, यसका लागि निजी तथा सामुदायिक क्षेत्रको समेत सहयोग हुनुपर्ने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा काङ्ग्रेसका महामन्त्री डाक्टर शशाङ्क कोइरालाले अस्पतालको प्रवद्र्धनका लागि सहयोगको प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा भरतपुर महानगरका प्रमुख रेनु दाहालले अस्पतालको थप विकासका लागि महानगरले सक्दो सहयोग गर्ने बताइन् । यसैगरी अस्पतालका कार्यकारी निर्देशक डाक्टर विजयचन्द्र आचार्यले अस्पतालमा अहिले ४ सय ५० शøयासहित अत्याधुनिक उपचार सुविधा रहेको जानकारी दिए । अस्पताललाई उल्लेख्य योगदान पुर्‍याएको भन्दै कार्यक्रममा अस्पतालका निवर्तमान अध्यक्ष डाक्टर प्रकाशराज न्यौपाने, क्यान्सर सेवा समाजका निवर्तमान अध्यक्ष श्यामप्रसाद लामिछानेलगायत विभिन्न विभागका कर्मचारीलाई सम्मान गरिएको थियो ।

स्रोत: http://www.abhiyan.com.np/?p=281967

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More