बढ्दैछ बिमा व्यवसाय

August 23, 2017

कारोबार आर्थिक दैनिक, ०७ भाद्र २०७४ 

गत आर्थिक वर्ष ०७३/७४ को अन्त्यसम्ममा निर्जीवन बिमा कम्पनीहरूले १५ लाख ९३ हजार ४ सय २७ बिमा योजना जारी गरेका छन् । यो संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा २१ प्रतिशतले बढी हो । उक्त अवधिमा कम्पनीहरूले १३ लाख १३ हजार ४१ वटा बिमालेख जारी गरेका थिए । 

विकास निर्माणको काम बढेसँगै जीवन बिमा व्यवसाय पनि बढ्दै गएको छ । तर, गत वर्ष बैंकिङ प्रणालीमा देखिएको तरलता अभावले निर्जीवन बिमा व्यवसायमा खुम्चिएको बिमकहरूले बताएका छन् । निर्जीवन बिमा व्यवसायमा सबैभन्दा बढी हिस्सा मोटर बिमाका रहेको छ ।

तरलता अभाव कारण नेपाल राष्ट्र बैंकले मोटर कर्जामा सीमा तोकेपछि मोटर बिक्री दर घटेको थियो । फलस्वरूप निर्जीवन बिमा व्यवसाय पनि प्रभावित बनेको हो । यद्यपि गत आवमा निर्जीवन बिमा कम्पनीहरूको व्यवसाय २८ प्रतिशतले बढेको छ ।

१५ निर्जीवन बिमा कम्पनीहरूले प्रकाशित गरेको लेखा परीक्षण नगरिएको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आवमा अन्त्यसम्ममा कम्पनीहरूले १७ अर्ब ६० करोड रुपैयाँ बिमाशुल्क आम्दानी गरेका छन् । गत आवको सोही अवधिमा यो रकम १३ अर्ब ७४ करोड रुपैयाँ थियो । 

कम्पनीहरूले नयाँ बिमा योजना जारी गर्ने क्रम बढाए पनि नविकरणीय बिमालेखको संख्या भने घटेको छ । गत आवको अन्त्यसम्ममा १४ वटा निर्जीवन बिमा कम्पनीहरूको नविकरणीय विमालेखको संख्या २ लाख ९१ हजार ३८५ रहेको छ ।

यो संख्या अघिल्लो आवको तुलनामा करिब ४ प्रतिशतले कम हो । सो अवधिमा कम्पनीहरूको नविकरणीय बिमालेखको संख्या ३ लाख २ हजार ६१२ रहेको थियो । त्यस्तै, गत आवमा कम्पनीहरूको दाबी भुक्तानी ४ खर्ब १९ अर्ब देखिएको छ । 

गत आवमा कम्पनीहरूको विमा कोष पनि २८ प्रतिशतले बढेको छ । असार मसान्तसम्ममा १५ कम्पनीको बिमा कोषको आकार ६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीहरूको बिमा कोष ४ अर्ब ९५ करोड रुपैयाँको थियो । साथै बिमा समितिको निर्देशनअनुसार गत आवमा सबै कम्पनीहरूले चुक्ता पुँजी बढाउने प्रयास गरेको देखिन्छ ।

समितिको निर्देशन अनुसार चालु आवको अन्त्यसम्ममा निर्जीवन बिमा कम्पनीहरूले चुक्ता पुँजी १ अर्ब पु¥याउनु पर्नेछ । वित्तीय विवरण प्रकाशित गरेका कम्पनीहरूमध्ये शिखर इन्स्योरेन्सको पूँजी सबैभन्दा बढी देखिएको छ । शिखर पछ्याउँदै नेको इन्स्योरेन्सले पनि पुँजी बढाउँदै गएको देखिन्छ । 

गत आवमा निर्जीवन बिमा कम्पनीहरूले भने ४ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेका छन् । यो रकम अघिल्लो आवको तुलनामा ३२ प्रतिशतले बढी हो । कम्पनीहरूलाई लगानी गर्नका लागि बिमा समितिले निश्चित क्षेत्र छुट्याएको छ ।

जसमा लगानी गर्ने सीमा पनि तोकिदिएको छ । सोहीअन्तर्गत कम्पनीहरूले लगानी गर्दै आएका छन् । तर, बिमामा कुनै पनि समयमा दाबी पर्न सक्ने भएकाले अधिकांश कम्पनीले बैंक तथा वित्तिय संस्थाको निक्षेपमा लगानी गर्दै आएका छन् ।

स्रोत: 

https://www.karobardaily.com/news/81744

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More