News

बढ्दैछ बेरुजुको आकार, चालु वर्षको बजेटको ३१ प्रतिशत हिस्सा

April 13, 2017

Kantipur, Krishna Gyawali, 12th April 2017, Kathmandu

प्रचलित कानुन उल्लंघन गरी मुलुकको ढुकुटीबाट भएको अनियमित खर्चको कुल हिस्सा ३ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । 

आर्थिक वर्ष २०७२/७३ को ९७ अर्ब ४३ करोड रुपैयाँसहित कुल बेरुजु गत वर्षको तुलनामा ६८ अर्ब रुपैयाँले बढेको छ । गत वर्ष बेरुजु रकम ३ खर्ब २८ अर्ब रुपैयाँ थियो ।

राज्यकोष आय–व्ययको अन्तिम लेखापरिक्षण गर्ने संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५४ औं वार्षिक प्रतिवेदन अनुसार, कुल बेरुजु गत वर्षको तुलनामा १७ प्रतिशतले बढेको छ । कुल बेरुजुले चालु आर्थिक वर्षको बजेटको करिव ३१ प्रतिशत हिस्सा ओगटेको छ । यस वर्ष बजेटको आकार १० खर्ब ४८ अर्ब थियो । गतवर्ष कुल ३३ अर्ब रुपैंयाको लेखापरिक्षण भएको थियो ।

गत आर्थिक वर्ष २०७२/७३ को ९७ अर्ब ४३ करोड रुपैंया बेरुजुमध्ये ४२ दशमलब ४८ प्रतिशत बेरुजु असुल उपर गर्नुपर्ने प्रकृतिको छ । असुल उपर गर्नुपर्ने करिब ४१ अर्ब ३८ करोड रुपैंया गम्भिर प्रकृति अनियमितता र प्रचलित ऐन/नियमको ठाडो उल्लंगन हुनेगरीको खर्च हो । 

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश भएको ५४ औं वार्षिक प्रतिवेदन अनुसार, नियमित गर्नुपर्ने बेरुजु ३० अर्ब ४८ करोड र पेश्की बेरुजु २५ अर्ब ५६ करोड रुपैंया छ । कार्यबाहक महालेखापरिक्षक सुकदेव खत्रीले लेखापरिक्षणका क्रममा लिएको कठोर नीतिका कारण कारण असुलउपर गर्नुपर्ने बेरुजुको हिस्सा निकै बढेको छ ।

Source: http://kantipur.ekantipur.com/news/2017-04-12/20170412184553.html