बढ्यो जिकाको जोखिम

October 23, 2018

अतुल मिश्र, कान्तिपुर दैनिक, कार्तिक ६, २०७५ 

काठमाडौँ — छिमेकी मुलुक भारतमा जिका भाइरसको संक्रमण अप्रत्याशित वृद्धि भएपछि नेपालमा समेत जोखिम बढेको विज्ञहरूले बताएका छन्  । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा गत वर्ष मुलुकमा जिका भाइरस संक्रमणको जोखिम आकलन गर्दा यहाँ यो रोग फैलिने अनुकूल वातावरण देखिएको थियो  ।

‘बंगलादेशमा छँदै थियो । भारतमा जिका बढी देखिएपछि हामी थप जोखिममा परेका छौं’, ईडीसीडीका निर्देशक डा. विवेककुमार लालले भने, ‘डेंगु रोगका लागि जिम्मेवार एडिस एजिप्टी लामखुट्टे मुलुकमा प्रशस्त छ, यसै लामखुट्टेले जिकासमेत सार्छ ।’

नेपालसमेत जोखिममा रहेकाले दिउँसो टोक्ने लामखुट्टेले सार्ने यसको संक्रमण सम्भावनालाई दृष्टिगत गरी ईडीसीडीले टाउको सानो भएका बालबालिका जन्मिए वा एक्कासि हातखुट्टा लुलो हुने शारीरिक समस्या गुलियन वेरी सिन्ड्रोम, न्युरोपैथीलगायत नसासम्बन्धी समस्याको निगरानीसमेत थालेको छ । यो समस्यालाई हाल जिका भाइरस संक्रमणसँग जोडेर हेर्ने गरिएको छ ।

एडिस एजेप्टी लामखुट्टेले सार्ने जिका भाइरस १९४७ मा पत्ता लागेको हो तर धेरै वर्षसम्म अफ्रिका र दक्षिण एसियामा यसको फाट्टफुट्ट मात्र संक्रमण देखिएको थियो । सन् २०१३ देखि जिकाको प्रकोप अमेरिका, पश्चिमी प्रशान्त क्षेत्र र अफ्रिकामा देखियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका धेरै सहरी क्षेत्रमा जिका भाइरसको जोखिम छ ।


गर्भवती वा गर्भधारण गर्न खोज्नेले थप चनाखो हुनुपर्ने विज्ञले बताएका छन् । जिका गर्भवती महिलाबाट गर्भमा रहेको शिशुमा सर्छ । गर्भावस्थामा जिका भाइरस संक्रमण देखिएका महिलाको सन्तानमा मुख्य रूपमा मस्तिष्कसम्बन्धी जन्मजात दोष माइक्रोसिफली देखिन सक्छ । यसअन्तर्गत मस्तिष्क सानो भएका बच्चा जन्मिन्छन् । गर्भवतीले जिका भाइरस फैलिरहेको स्थान, मुलुकमा जाँदा विशेष सावधानी अपनाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्ने डा. लालले बताए ।


शारीरिक सम्पर्कबाट समेत यो संक्रमण सम्भव रहेकाले पुरुष र महिला दुवैले आफूलाई लामखुट्टेको टोकाइबाट बचाउनुपर्छ । यति मात्र नभई रगत चढाउँदा समेत यो रोग हुन सक्छ । जिका भाइरसको शरीरमा संक्रमण भएपछि लक्षण देखिन सक्ने समय स्पष्ट छैन तर सामान्यत: यो केही दिन हो ।


‘जिकाको लक्षण फरक वा विशेष खालको हुँदैन, त्यसैले रोग पहिचान गर्न झन् कठिन छ,’ उनले भने, ‘डेंगु, चिकनगुनिया, भाइरल फलुलगायतका सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले रोग पहिचानमा मुस्किल हुने गर्छ ।’ ज्वरो, छालामा बिमिरा, आँखा पाक्ने, जोर्नी र मांसपेशीको दुखाइ, टाउको दुखाइ, असजिलोपन आदि यसका लक्षण हुन् । यस्ता लक्षण मधुरो देखिनुका साथै दुई दिनदेखि एक सातासम्म रहन्छ ।

स्रोत: https://www.kantipurdaily.com/news/2018/10/23/15402588215884237.html

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More