News

बदलिँदै सवारी समीकरण, माइक्रो र मिनिबस घटे, मोटरसाइकल र ठूला बस बढे

August 07, 2017

सेतोपाटी, २३ श्रावण २०७४ 

नेपाली सडकमा गुड्ने सवारी साधनको समीकरण बदलिँदै गएको छ। साना तथा मझौला साधनको बाहुल्यताले ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको आवाज आइरहेको समयमा तथ्यांकले समीकरण बदलिँदै गएको देखाएको छ।

गएको आर्थिक वर्ष २०७३/०७४ मा नेपाल आएका नयाँ साधनहरुमा सार्वजनिक सवारीसाधनमा मझौला तथा साना साधनको आयात घट्दै गएको देखिएको छ।

यातायात व्यवस्था विभागका अनुसार गत वर्ष व्यक्तिगत प्रायोजनका सवारीमा मोटरसाइकल/स्कुटरको आयात बढेको छ भने सार्वजनिक सवारीमा ठूला बसको आयात बढेको छ। तर माइक्रो र मिनिबसको आयात  घटेको छ।

यातायात व्यवस्था विभागका अनुसार गएको वर्ष मोटरसाइकलको आयात अघिल्लो वर्षको भन्दा ८६ हजार थान बढेको छ। व्यक्तिगत प्रायोजनार्थ प्रायोग हुने मोटरसाइकल, स्कुटरको आयात बढे पनि कारजीपको आयात भने घटेको छ।

आर्थिक वर्ष २०७३/०७४ मा ३५ सिट क्षमताभन्दा माथिका बसहरुको आयात भने अघिल्लो वर्षको तुलनामा बढेको छ। विभागका अनुसार ९८९ वटा त्यस्ता बस आएका छन्। तर सार्वजनिक सवारीमै प्रयोग हुने माइक्रो, मिनिबसको आयात भने अघिल्लो वर्षको तुलनामा घटेको पाइएको छ। अघिल्लो वर्षको तुलनामा मिनिबस १३० प्रतिशतले घटेको छ भने नयाँ आउने माइक्रो बसको संख्या पनि २६ प्रतिशतले कमी घटेको छ।

सरकारले ठूला सवारी साधानलाई प्राथमिकता दिँदै साना सवारीलाई निरुत्साहित गर्ने नीति लिएसँगै व्यवसायीहरुले ठूला बस ल्याउनेतिर केन्द्रित हुन थालेको यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे बताउँछन्। सरकारले ठूला बसको आयातमा भन्सार सहुलियत दिँदै आएको छ।

विभागले यस्तो नीति लिएको भए पनि व्यक्तिगत प्रायोजनका साना सवारीको आयात भने कमी आउन सकेको छैन।

गएको वर्ष कूल ४ लाख ४४ हजार २ सय ५९ वटा सवारी साधन नेपाल आएकोमा सबैभन्दा बढी मोटरसाइकल/स्कुटर ३ लाख ५४ हजार ७१ वटा आएका छन्। त्यस्तै २१ हजार २ सय ९२ कार जीप भ्यान विभागमा दर्ता भएका छन्। खेती किसानीमा प्रयोग हुने ट्याक्टर/पावर ट्रेलरको आयात १७ हजार ८५ वटा भएको छ भने क्रेन/डोजर/एस्काभेटर/ट्रक १२ हजार ७ सय १२ वटा नेपाल आएका छन्। विभागका अनुसार १० हजार ६ सय ७५ वटा पिकअप भ्यान नेपाल आएका छन्।

त्यस्तै टेम्पोको आयात भने उच्च दरका बृद्धि भएको छ। घना सहरी इलाकामा प्रचलित टेम्पोको आयात अघिल्लो वर्षको तुलनामा ६ गुणाले बढेको छ। अघिल्लो वर्ष २ हजार ६ सय १३ वटा टेम्पो आयात भएकोमा गत वर्ष १७ हजार ७ सय ८२ आयात भएका छन्। बिजुलीबाट चल्ने भएकोले नाकाबन्दी पछि टेम्पोको लोकप्रियता बढ्दै गएको व्यवसायीहरुको भनाइ छ।

विभागका अनुसार हालसम्म नेपालमा २७ लाख ८३ हजार ४ सय २८ सवारी दर्ता भएका छन्। जसमा सबैभन्दा बढी २१ लाख ८९ हजार ९९ मोटरसाइकल/स्कुटर छन् भने ७८ हजार २ सय ५७ कार, जिप, भ्यान विभागमा दर्ता छन्।

स्रोत : https://setopati.com/kinmel/automobiles/71610