लिला श्रेष्ठ, कान्तिपुर दैनिक, १४ भाद्र २०७४
सम्पदा संरक्षणमा खटिने भक्तपुरका ४७ वर्षीय रवीन्द्र पुरीले भत्किन लागेको कुखुराको खोरलाई नमुना घर बनाएर ‘युनेस्को अवार्ड’ प्राप्त गरेर होस् वा पुरानो घरलाई ‘टोनी हागन हाउस’ बनाएरै किन नहोस् काम गरेका छन् । कहिले सिंगो पनौतीलाई सांस्कृतिक सहर बनाउन जुर्मुराएको त कहिले भूतघरका नामले प्रचलित घर किनेर पर्यटकको विश्रामस्थल बनाएर । पुरीले पछिल्लो समय मल्लकालीन शैलीमा वासुकि घर बनाएका छन् ।
भक्तपुर नगरपालिका–६, नागपोखरीस्थित नागका राजा वासुकिको नामबाट मल्लकालीन वासुकि घर निर्माण गरेका छन् । नागपोखरी क्षेत्रलाई नागलोक स्थापना गर्ने उद्देश्यसहित पुरीले नागपोखरीको दक्षिणतर्फ वासुकि घर निर्माण गरेका हुन् । धार्मिक, ऐतिहासिक महत्त्वको नागपोखरी क्षेत्रलाई नागलोकका रूपमा स्थापना गरी धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्ने उद्देश्यले मल्लकालीन शैलीमा वासुकि घर निर्माण गरेको उनले बताए । ‘स्थानीयवासी र नगरपालिकासँगको समन्वयमा नागपोखरी क्षेत्रलाई मुलुककै पहिलो नागलोक बनाउने उद्देश्यले वासुकि घर बनाएको हुँ,’ उनले भने । हिन्दु धर्ममा नागको विशेष महत्त्व छ । त्यसमा पनि वासुकि नाग, कर्कट नाग, शेष नागलगायतको महत्त्व रहेको र नागहरूका राजा वासुकि नाग भएकाले वासुकि घर निर्माण गरेको उनी बताउँछन् । तीन वर्षअघि थालिएको वासुकि घर तीन महिनाभित्र सम्पन्न गरिसक्ने उनी बताउँछन् ।
पुरीले वासुकि घरमा मल्लकालीन मा:अप्पा (इँटा), कलात्मक थाम, कलात्मक आकृतिका झ्याल (बिमान झ्या:, सँझ्या:), कलात्मक ढोकाको प्रयोग गरेका छन् । नौ जना कालीगढले दुई वर्ष लगाएर कुँदिएको कलात्मक वासुकि नागसहित १२ नागकन्याले पूरै घरलाई घेरेको छ भने घरको मूल द्वारमाथि वासुकि नाग र वासुकिको दायाँ–बायाँ नागकन्याहरू राखिएको छ । मल्लकालमा जस्तै वासुकि घरको बीचमा चोक राखिएको छ भने नेवारी संस्कारमा हराउँदै गएको छिँडी, मटान, चोटा र बुइँगल गरी छुट्टाछुट्टै कलाले भरिपूर्ण तला निर्माण गरिएको छ ।
लिच्छविकालमा भन्दा मल्लकालमा धेरै कलात्मक सम्पदा निर्माण भएको इतिहास छ । मल्लकालमा जति पनि संरचना बनेका थिए, ती कलासंस्कृति र सम्पदा नासिँदै गएको उनी बताउँछन् । आफूले वासुकि घर निर्माण गरेर नासिँदै गएको मल्लकालीन कला, संस्कृति र सम्पदाको संरक्षण गरेको उनी बताउँछन् । ‘मल्लकालको कला र संस्कृति १० प्रतिशत पनि बाँकी छैन,’ उनले भने, ‘मल्लकालमा भन्दा एक कदम अगाडि बढेर वासुकि घरको निर्माण गरेको हुँ ।’ करिब ५ करोडको लागतमा निर्मित चारतले वासुकि घरले भक्तपुरको पहिचानलाई थप उचाइमा पुर्याउने उनको आशा छ । निर्माण भई नसक्दै विदेशी पर्यटकहरू मल्लकालीन शैलीमा निर्मित वासुकि घरमा आउन थालिसकेको उनले बताए । वासुकि घरले धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वलाई सयौं वर्षसम्म जोगाउन अरूलाई समेत प्रेरित गर्ने उनको विश्वास छ ।
कुखुराको खोरलाई नमुना घर बनाएर सन् २००४ मै एसिया प्यासिफिक कल्चरल हेरिटेज अवार्ड (युनेस्को अवार्ड) प्राप्त गर्न सफल पुरीले भक्तपुर, साँगा, पनौती, फूलबारी, दाप्चा, कात्तिके देउराली, रामेछापलगायत स्थानमा परम्परागत मौलिक शैलीका घर, विद्यालयहरू निर्माण गरिसकेका छन् । पुरीले परम्परागत तथा मौलिक संरचना निर्माण मात्र नगरी दक्ष श्रमिक पनि उत्पादन गरिरहेका छन् । उनले पनौतीमा भोकेसनल एकेडेमी स्थापना गरी सिकर्मी, डकर्मी तथा इँटासम्बन्धी कक्षा सञ्चालन गरी सीप सिकाउने कामसमेत गरिरहेका छन् । पुरीले भूकम्पले क्षतिग्रस्त सिंहदरबार र काष्ठमण्डपजस्ता धरोहर बनाउने जिम्मा पाएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुरीलाई सिंहदरबार पुनर्निर्माण समितिमा राखेको छ ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-08-30/20170830071431.html