बर्दियामा १७ हजार हेक्टर जमिन डुबान

August 23, 2017

यादव आचार्य, अन्नपुर्ण पोष्ट, ०७ भाद्र २०७४ 

बबई नदीमा आएको बाढीले बर्दियामा साढे १७ हजार हेक्टर खेतीयोग्य जमिन डुबाएको छ । डुबानका कारण २५ प्रतिशत क्षेत्रफलमा लगाइएको खेती नष्ट भएको छ । जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बबईको बाढीले खेती गरिएको १७ हजार पाँच सय हेक्टर जमिन डुबानमा परेको जानकारी दिए । डुबानमा परेको खेतीमध्ये २५ प्रतिशत नष्ट भएको छ । बाढीले बगाएको माटोले खेतबारी पुरिदिएको छ । बलौटे र पाँगो माटोले २० हेक्टर क्षेत्रफल खेती गरेको जमिन पुरिदिएको हो ।

बाढीले जमिन कटानसमेत गरेको छ । जिल्लामा करिब साढे दुई हेक्टर कृषि जमिन कटान भएको छ । बाढीले कृषिबालीतर्फ धान, केरा, तरकारी, मकै, अरहर र तिलमा क्षति पुगेको छ । किसानले राखेको अनाज बगेर÷भिजेर नोक्सानी भएको छ । किसानले धान, चामल, तोरीलगायत भण्डारण गरेका अनाजमा क्षति पुगेको हो । प्रारम्भिक तथ्यांकअनुसार बाढीले ४६ करोड रुपैयाँबराबरको कृषि उपजलगायत अनाज नोक्सानी गरेको छ ।

बबई नदीमा आएको बाढीले बर्दियामा २० लाख माछाका भुरासमेत बगाएको जिल्ला कृषि विकास कार्यालय बर्दियाले जनाएको छ । कृषि कार्यालयमार्फत दिइएको अनुदान तथा व्यक्तिगत लगानीमा किसानले माछापालन गरेका थिए ।

बाढीले बर्दियाका गुलरिया, बाह्रबर्दिया, ठाकुरबाबा राजापुर, मधुवन, बाँसगढी नगरपालिका, गेरुवा र बढैयाताल गाउँपालिकाका किसानलाई बढी क्षति पुर्‍याएको छ । ‘बर्सेनि बर्दियामा बाढी आउन थालेपछि कसरी कृषि उत्पादन बढ्छ', गुलरियाका स्थानीय गोविन्द पोखरेलले भने, ‘सरकारले राहत दिने मात्र होइन, बाढीको दीर्घकालीन समाधानको उपाय खोज्नुपर्छ ।'

स्रोत : 

http://annapurnapost.com/news/78324

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More