बर्सेनि करिब तीन हजार मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी तर, १४ वर्षमा २१ सय २१ को मात्रै प्रत्यारोपण

January 02, 2023

मञ्जु टेलर, नयाँ पत्रिका, पौष १८, २०७९

काठमाडौं उपत्यकामा सात र बाहिर तीन गरी देशभर १० अस्पतालमा मात्रै मिर्गौला प्रत्यारोपण सेवा, बिरामीको चापअनुसार जनशक्ति र उपकरणको अभाव, मिर्गौला प्रत्यारोपणको लाइसेन्स पाएका चिकित्सक ६४ मात्रै, आवश्यक जनशक्ति र उपकरण रहेका ठूला अस्पतालहरूले पनि दिन सकेनन्

नेपालमा बर्सेनि तीन हजार नागरिकको मिर्गौला फेल हुने गरेको छ । तर, पछिल्ला १४ वर्षमा जम्मा दुई हजार एक सय २१ जनाको मात्रै मिर्गौला प्रत्यारोपण हुन सकेको छ । आवश्यक जनशक्ति र उपकरण रहेका अस्पतालले पनि पर्याप्त सेवा दिन सकेका छैनन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा. पुकार श्रेष्ठका अनुसार नेपालको कुल जनसंख्याको १० प्रतिशत अर्थात् वार्षिक करिब ३० लाखको मिर्गौलामा कुनै न कुनै समस्या देखिन्छ । उनले भने, ‘तीन लाखमा यो समस्या अझै ठूलो देखिन्छ । ३० हजारको एउटा मिर्गौला बिग्रे पनि अर्कोले काम गर्छ । तर, वार्षिक तीन हजार बिरामीको त मिर्गौला अन्तिम अवस्थामा पुग्छ । प्रत्यारोपण नै गर्नुपर्छ । तर, अहिले आवश्यकताको पाँच प्रतिशतभन्दा थोरैले मात्र प्रत्यारोपण सेवा पाउन सकेका छन् ।’

डा. श्रेष्ठका अनुसार पछिल्लो मेडिकल मान्यताअनुसार कुल जनसंख्याको १० प्रतिशतमा मिर्गौलाको कुनै न कुनै समस्या देखिन्छ । त्यसको १० प्रतिशतमा अझ ठूलो समस्या देखिन्छ । त्यसको पनि १० प्रतिशतमा एउटा मिर्गौला बिग्रिन्छ र त्यसलाई झिकेर फाले पनि अर्को मिर्गौलाले काम गर्छ । त्यसको १० प्रतिशत जनसंख्या भने मिर्गौला नै प्रत्यारोपण गर्नुेपर्ने अवस्थामा पुग्छ ।

नेपालमा ०६५ देखि मिर्गौला प्रत्यारोपण सुरु गरिए पनि आममानिसको पहुँचमा अझै उपलब्ध हुन सकेको छैन । हालसम्म देशभर निजी र सरकारी गरी १५ अस्पतालले प्रत्यारोपणको लाइन्सेन्स पाएका छन् । तर, १० अस्पतालले मात्रै प्रत्यारोपण सेवा दिइरहेका छन् । 

भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, काठमाडौंका त्रिवि शिक्षण अस्पताल (टिचिङ), वीर र ग्रान्डी तथा ललितपुरका किस्ट, सुमेरु र निदान अस्पतालले प्रत्यारोपण सेवा दिँदै आएका छन् । त्यस्तै, काठमाडौंबाहिर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कलेज अफ मेडिकल साइन्स चितवन र विराटनगरको नोबेल मेडिकल कलेजले प्रत्यारोपण सेवा दिँदै आएका छन् ।

लाइसेन्स पाए पनि काठमाडौंका काठमाडौं मेडिकल कलेज र नर्भिक अस्पताल, ललितपुरको मेडिसिटी, चितवन मेडिकल कलेज र सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले प्रत्यारोपण सेवा सुरु गरिसकेका छैनन् । 
वीर र टिचिङमा १४ वर्षअगाडिदेखि नै प्रत्यारोपण सेवा सुरु गरिएको थियो । तर, सेवा नियमित सञ्चालनमा नल्याउँदा विपन्नहरू वर्षौँदेखि डायलाइसिसको भरमा बाँच्न बाध्य छन् । १४ वर्षको अवधिमा टिचिङमा सात सय ४४ र वीरमा एक सय ८० बिरामीको मात्रै मिर्गौला प्रत्यारोपण गरिएको छ । 

१० वर्षअघि अर्थात् ५ माघ ०६९ देखि सेवा थालेको भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सबैभन्दा धेरै नौ सय ९० मिर्गौला प्रत्यारोपण गरेको छ । सुरुदेखि अहिलेसम्म अटुट सेवा दिएको अस्पताल यही मात्रै हो । त्यस्तै, ०७३ देखि सुरु गरेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले एक सय २६ तथा ८ वैशाख ०७८ बाट सेवा थालेको किस्ट मेडिकल कलेज शिक्षण अस्पतालले ५१ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । ०७८ बाट प्रत्यारोपणको स्वीकृति पाएको नोबेल मेडिकल कलेजले ६ र ०७६ मा स्वीकृति पाएको सुमेरु अस्पतालले पाँच बिरामीमा मात्रै मिर्गौला प्रत्यारोपण गरेका छन् । 

त्यस्तै, ०७९ मा सेवा थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६, सन् २०१५ देखि प्रत्यारोपण थालेको कलेज अफ मेडिकल साइन्सेस चितवनले चार र निदान अस्पतालले नौ बिरामीको मिर्गौला प्रत्यारोपण गरेका छन् ।मेडिसिटीले डायलाइसिस सेवा भने नियमित दिइरहेको छ । अबको एक–दुई महिनामा प्रत्यारोपण गर्ने तयारी भएको अस्पताल प्रशासनले जनाएको छ । यस्तै, विवादका कारण लाइसेन्स नवीकरण नहुँदा निदान अस्पतालमा समेत हाल प्रत्यारोपण ठप्प छ । पछिल्लो समय काठमाडौंबाहिरका अन्य अस्पताल पनि लाइसेन्स अनुमतिको प्रक्रियामा रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । 

६४ चिकित्सकले पाएका छन्  मिर्गौला प्रत्यारोपणको लाइसेन्स 
अंग प्रत्यारोपण समन्वय समितिका अनुसार हालसम्म ६४ विशेषज्ञ चिकित्सकले मिर्गौला प्रत्यारोपणका लागि लाइसेन्स लिएका छन् । तर, उनीहरूमध्ये कतिपय विदेश गइसकेका भए पनि यकिन तथ्यांक छैन । मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेध) नियमावलीको मापदण्डअनुसार चार भारतीयसहित प्रत्यारोपण सर्जन र नेफ्रोलोजिस्ट नेपालमा ६४ चिकित्सकले प्रत्यारोपणका लागि लाइसेन्स पाएका हुन् ।

जसमध्ये १८ जना कलेजो प्रत्यारोपणका लागि समेत लाइसेन्सप्राप्त हुन् । समन्वय समितिका अनुसार अंग प्रत्यारोपणको लाइसेन्सप्राप्त चिकित्सकको संख्या अस्पतालको तुलनामा पर्याप्त नै हो । अंग प्रत्यारोपणका लागि नियमावलीमा समेत कडाइ गरिएका कारण आवश्यक जनशक्तिसमेत कमी भइरहेको चिकित्सकले बताउँदै आएका छन् । 

नियमावलीमा सर्जनको हकमा मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा युरोलोजी वा जनरल सर्जरीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्बन्धित विषयमा निरन्तर दुई वर्षको कार्यानुभव प्राप्त गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसँग सम्बन्धित विषयमा कम्तीमा ६ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । 

त्यस्तै, नेफ्रोलोजिस्टको हकमा अनुमतिपत्र लिन मान्यताप्राप्त शिक्षण संस्थाबाट नेफ्रोलोजीमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा स्नातक (डिप्लोमा)को उपाधि हासिल गरेको वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर उपाधि हासिल गरी नेफ्रोलोजीमा कम्तीमा निरन्तर दुई वर्षको कार्यानुभव हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट मिर्गौला प्रत्यारोपणसम्बन्धी विषयमा कम्तीमा ६ महिनाको तालिम प्राप्त गरेको हुनुपर्ने नियमावलीमा उल्लेख छ । 

यस्तो छ प्रत्यारोपणका लागि मिर्गौला लिने व्यवस्था
अंग प्रत्यारोपण ऐन, २०७२ अनुसार परिवारका सदस्य र नजिकका नातेदारले मिर्गौला दान गर्न सक्ने व्यवस्था गरेको छ । ऐनमा पति, पत्नी, छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री, बुबा, आमा, धर्मपुत्री वा धर्मपुत्र राख्ने बाबुआमा, सौतेनी बुबा, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनीले मिर्गौला दिन सक्छन् । त्यस्तै, ठूलोबुबा, ठूलीआमा, काका, काकी, सानोबुबा, सानीआमा, भतिजा, भतिजी, सासू, ससुरा, जेठाजु, जेठानी, देवर, देवरानी, भाउजू, बुहारी, मामा, माइजू, भान्जा, भान्जी, साला, साली, फुपू, फुपाजु, आमाजू, भदा, भदै, भिनाजु, ज्वाइँ, जेठानले पनि मिर्गौला दिन सक्छन् । तर, धर्मपुत्र, धर्मपुत्री, धर्मपुत्र राख्ने बुबाआमा र वैवाहिक सम्बन्धबाट कायम भएको नाता–सम्बन्धको हकमा कम्तीमा दुई वर्षदेखि अटुट रूपमा नाता–सम्बन्ध कायम रहेको हुनुपर्ने ऐनमा व्यवस्था गरिएको छ । यसबाहेक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइएको मिर्गौलासमेत प्रत्यारोपणका लागि लिन सकिन्छ । 

परिवारका सदस्यमा मिर्गौला म्याच नहुने अवस्थामा सँगै उपचार गराइरहेका दुई फरक परिवारका सदस्यबाट म्याच भएका मिर्गौला साटफेर गरेर प्रत्यारोपण गर्न सकिने व्यवस्था पनि गरिएको छ । प्रत्यारोपण चिकित्सक डा. पुकार श्रेष्ठका अनुसार परिवारका सदस्यमा मिर्गौला म्याच नहुने अवस्थामा दुई बिरामीको परिवारको सहमतिमा एकै समयमा मिर्गौला म्याच भएको व्यक्तिसँग साँट्न मिल्ने व्यवस्था गरिएको हो । तर, चिकित्सक र सम्बिन्धत अस्पताल प्रतिनिधिको प्रत्यक्ष निरीक्षणमा मात्र यस्तो साटफेर गर्न सकिन्छ ।

ऐनले प्रत्यारोपणका लागि परिवार र नजिकका आफन्तले मात्र मिर्गौला दिने व्यवस्थामा कडाइ गर्दा कतिपय बिरामी मिर्गौला म्याच नभएर प्रत्यारोपण सेवाबाटै वञ्चित भइरहेका छन् । तर, मिर्गौला बेचबिखन हुने र विशेषगरी निम्न आय भएका नागरिकको मिर्गौला बिक्री हुने जोखिम रहेकाले ऐन खुकुलो पार्न नसकिने विज्ञहरू बताउँछन् ।

 मिर्गौला प्रत्यारोपण सफलता दर ९६ प्रतिशतभन्दा बढी
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अंग प्रत्यारोपण समाज नेपालको तथ्यांकअनुसार नेपालमा मिर्गौला प्रत्यारोपण सफलता दर ९६ प्रतिशतभन्दा बढी छ । प्रत्यारोपण केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले नेपालमा मिर्गौला रोगबाट पीडित कति छन् भन्ने यकिन तथ्यांक नभए पनि करिब ३० लाखमा कुनै न कुनै मिर्गौला समस्या रहेको र वार्षिक तीन हजार त प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुग्ने बताए ।

‘प्रत्यारोपण सेवा दिइरहेका सरकारी अस्पतालहरूमा आवश्यक उपकरण र जनशक्ति भए पनि प्रत्यारोपण एकदमै कम भइरहेको छ । मिर्गौलाका बिरामी डायलाइसिससमेत नपाएर मर्नुपर्ने अवस्था अझै कायमै छ,’ उनले भने, ‘उपत्यकामै सरकारी र निजी गरी सात अस्पतालमा प्रत्यारोपण सेवा उपलब्ध भए पनि प्रत्येक दिन बिरामीको चाप बढिरहेको छ । देशमा उपचार नपाउँदा बिरामी भारत जान बाध्य छन् ।’

 १४ वर्षअघि प्रत्यारोपण थालेको वीरमा बेग्लै अप्रेसन थिएटरसम्म छैन 
मिर्गौला प्रत्यारोपण थालेको १४ वर्षसम्म पनि वीर अस्पतालमा बेग्लै अप्रेसन थिएटर छैन । अन्य बिरामीको पनि अप्रेसन गर्ने भास्कुलर अप्रेसन थिएटरमै पालो मिलाएर हप्ताको एक दिन मंगलबार मात्रै प्रत्यारोपण भइरहेको छ । १७ डायलाइसिस मेसिन र तीन आइसियूमा प्रत्येक हप्ता झन्डै तीन सयले डायलाइसिस गर्दै आएको अस्पतालमा प्रत्यारोपण भने ज्यादै न्यून छ । १४ वर्षमा वीरमा एक सय ८० जनाको मात्रै मिर्गौला प्रत्यारोपण भएको छ । 

तीन सर्जन र तीन नेफ्रोलोजिस्टको टिम कार्यरत रहेको अस्पतालमा आवश्यक उपकरण र अप्रेसन थिएटर नहुँदा शल्यक्रिया चाहेर पनि गर्न नसकिएको चिकित्सकहरू बताउँछन् । कोभिड र डेंगु संक्रमण, सरकारी बिदा तथा प्रत्यारोपणका लागि तयार पारिएका बिरामीको अन्य स्वास्थ्य समस्याका कारण नियमित प्रत्यारोपण हुन नसकेको बताउँछन्, वरिष्ठ नेफ्रोलोजिस्ट डा. अनिल बराल । ‘प्रत्यारोपण गर्नुपर्ने बिरामीहरू प्रशस्तै छन्, तर आवश्यक उपकरण उपलब्ध छैन । साथै, शल्यक्रियाअगाडि गर्नुपर्ने परीक्षण र आइपर्ने स्वास्थ्य जटिलताका कारण प्रत्येक हप्ता प्रत्यारोपण सम्भव नभएको हो,’ उनले भने ।

वीरमा हप्तामा एक दिन आउने पालोमा पनि एक बिरामीको मात्रै प्रत्यारोपणको तयारी हुन्छ । कुनै कारणले उक्त प्रत्यारोपण रोकिए अर्को साता मात्रै गरिन्छ । एकपटक एक बिरामीलाई मात्रै तयारी अवस्थामा राखिने भएकाले त्यो अप्रेसन रोकिएको अवस्थामा प्रत्यारोपण नै नहुने डा. बराल बताउँछन् । ‘शल्यक्रियाका लागि एउटा मात्रै केस तयार गरिन्छ । केही समस्या देखिए रोक्नुपर्ने र फेरि अर्को हप्तासम्म कुर्नुपर्ने बाध्यता छ । नियमित शल्यक्रिया गर्न आवश्यक छुट्टै उपकरण र जनशक्ति छैन,’ उनले भने । ०६१ मा वीरमा गरिएको पहिलो प्रत्यारोपण असफल भएको थियो । त्यसपछि २२ मंसिर ०६५ मा मात्रै सफल भएको थियो ।

स्रोत: https://www.nayapatrikadaily.com/news-details/104009/2023-01-02

Newsletter

Submit your details below to receive Newsletters

Newsletter