बलात्कारका घटना बढे

March 20, 2018

कान्तिपुर, चैत्र ६, २०७४

विराटनगर — मोरङमा गत फागुन महिनामा बलात्कारका १२ घटना भएका छन् । घटना माया प्रेममा धोखा, मदिरा सेवन, आर्थिक लेनदेन र सामाजिक सञ्जालसँग जोडिएर ती घटना भएको प्रहरीको विश्लेषण छ ।

यिनै कारणले मोरङमा हरेक वर्ष बलात्कारका घटना बढदै गएको छ । समाजले यस्ता कतिपय घटना गुपचुप राख्दा प्रहरीसमक्ष आइनपुग्ने गरेको पनि प्रहरीको भनाइ छ । चालु वर्षको ८ महिनामा मोरङमा बलात्कारका ४२ घटना भएका छन् । यही अवधिमा जबर्जस्ती करणी उद्योगका २७ घटना घटेको प्रहरीको तथ्यांक छ । अघिल्लो वर्ष मोरङमा जबर्जस्ती करणीका ७२ वटा र जबर्जस्ती करणी उद्योगमा २७ वटा मुद्दा दर्ता भएका थिए ।

पछिल्लो समय सामाजिक सञ्जालका कारण बलात्कारका घटना बढेको प्रहरीको बुझाइ छ । अन्जान व्यक्तिसँग सामाजिक सञ्जालमा सम्बन्ध बढाउने र घुलमिल हुँदै अन्तिममा आपसमा मन फाटेपछि महिला बलात्कृत हुने क्रम बढेको मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार विसीको बुझाइ छ । प्रहरीमा दर्ता भएका बलात्कारका घटनामध्ये केही घटना सामाजिक सञ्जालसँग जोडिएका छन् । उनले सञ्चार माध्यमका रूपमा प्रयोग हुँदै आएको सामाजिक सञ्जालले पछिल्लो समय सामाजिक अपराध बढाउँदै आएको छ ।

घरेलु हिंसा, आर्थिक लेनदेन, प्रेममा धोखा पाउनु र मदिरा सेवनले पनि जबर्जस्ती करणीका घटना बढाएको प्रहरीको बुझाइ छ । प्रहरीसमक्ष आइपुगेका केही यस्ता घटना आर्थिक लेनदेनमा सहमति नभएपछि बलात्कार भएका पनि छन् । त्यस बाहेक अधिकांश बलात्कारका घटना घरेलु हिंसा र मदिरा सेवनले पनि भएको पाइएको छ । प्रहरीका अनुसार पारिवारिक रीसइबीका कारण पनि जबर्जस्ती करणीका घटना भएको पाइएको छ ।

एसपी विसीले भने मदिरा सेवन गरेर किशोरीलाई सामूहिक बलात्कार गर्ने प्रयास समेत भएको पाइएको छ । महानगरपालिका ५ कारखाना बस्तीमा साताअघि मदिरा सेवन गरेका पाँच युवकले दुई किशोरीलाई सामूहिक बलात्कारको प्रयास गर्दा प्रहरीले संलग्नमध्येका धिरज खवास र रञ्जीत खवासलाई नियन्त्रणमा लिएको छ । उनका अनुसार फरार तीन जनाको खोजी भइरहेको छ ।

प्रहरी नियन्त्रणमा रहेका खवासद्वयको बयानका आधारमा उनीहरूले दुई किशोरीलाई सामूहिक बलात्कारको प्रयास गरेको पुष्टि भएको छ । जिल्ला अदालत मोरङमा पनि फागुनसम्ममा ९८ वटा जबर्जस्ती करणीका मुद्दा दर्ता भएकामा ५० वटाको फैसला भइसकेको तथ्यांक छ । अघिल्लो वर्ष अदालतमा १ सय ३४ वटा यस्ता मुद्दा दर्ता भएका थिए ।

स्रोत: https://www.kantipurdaily.com/pradesh-1/2018/03/20/152152061544775125.html

Newsletter

Submit your details below to receive Newsletters

Newsletter