बलात्कारपछि हत्या हुनेमा दलित युवती धेरै

March 12, 2019

गोरखापत्र, फाल्गुन २८, २०७५ 

काठमाडौँ: बलात्कारपछि हत्या हुनेमा दलित समुदायका युवती तथा बालिकाहरूको संख्या अधिक देखिएको छ । दलित महिला संघले सोमबार १०९ औंँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा बलात्कृत हुनेमा दलित समुदाय अन्य जातिको तुलनामा बढी रहेको जानकारी दियो ।  संघले गरेको बलात्कारका घटनाको अध्ययन अनुसार कूल बलात्कारका घटनामा २१ प्रतिशत दलित युवती तथा बालिकाको बलात्कृत भएको पाइएको छ । कुल जनसंख्याको १३ प्रतिशत दलितको जनसंख्या छ । त्यसमा लगभग ५० प्रतिशत महिलाको संख्या छ । 


संघकाअनुसार गत बैशाखदेखि माघसम्मको घटना अध्ययन गर्दा ७२९ वटा घटनामध्ये १५४ वटा घटना दलित बालवालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुनेगरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको पाइएको छ । दलित महिला र बालवालिकामाथि बढ्दो हिंसा र न्यायमा पहुँचको अवस्था बिषयक सोमबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाकी सांसद् अञ्जना बिशंखेले समाजमा दलित समुदाय जातीय भेदभाव तथा विभेदको शोषणामा परेको बताउनुभयो । 
‘‘विभेदका कारण प्रतिकार गर्न नसक्दा दलित महिलामाथि बलात्कारका घटना बढी हुनेगरेको देखिएको छ,’’ उहाँले भन्नुभयो । दलितको न्यायमा पहुँच नभएकाले पनि उनीहरुमाथि बलात्कारपछि मृत्युसम्मका घटना हुनेगरेको विशंखेको भनाइ छ । नेपाल प्रहरी महिला तथा बालवालिका सेल गठनपछि पीडितले न्याय पाउन सवालमा सहज भएको दावी गर्नुभयो । 
अधिवक्ता मिरा ढुङ्गानाले महिलामाथि हुने हिंसाका घटनाको न्यूनीकरणका लागि कानुन कार्यान्वयन नै चुनौती रहेको बताउनुभयो । उहाँले भन्नुभयो “२०७२ मा छोरीलाई अंश दिने कानुन आयो तर कार्यान्वयन भएको छैन, पैतृक सम्पत्तिको अधिकार महिलाले प्राप्त गर्न सके भने हिंसा न्यूनीकरणमा ठूलो सहयोग हुनेथियो ।” 
दलित महिला संघकी संस्थापक सदस्य दुर्गा सोवले दलित समुदायको अझै न्यायमा पहुँच नपुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘न्यायमा विभेद छ एकरुपता छैन, दलित तथा कमजोर वर्गले सहजै न्याय पाउने अवस्था छैन ।”

सोर्त: http://gorkhapatraonline.com/news/67626

Newsletter

Submit your details below to receive Newsletters

Newsletter