नयाँ पत्रिका, फागुन १६, २०७४
धेरै बस्ती शौचालयविहीन रहेको अवस्थालाई बेवास्ता गर्दै रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी सुरु भएको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गौर र विभिन्न गैरसरकारी संस्थाले जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने तयारी गरेका हुन् ।
रौतहटका धेरै बस्तीमा शौचालय नै बनेका छैनन् । कतिपय बस्तीमा बनेका शौचालय पनि प्रयोगविहीन छन् । यसलाई बेवास्ता गर्दै खुला दिसामुक्त घोषणा गर्नु उचित नहुने जानकारहरूले बताएका छन् ।
सदरमुकाममै खुला दिसा गर्नेको संख्या धेरै छ । सदरमुकाम गौर–८ मा रहेको ढागर बस्तीका स्थानीयले खुला रूपमा दिसापिसाब गर्दै आएका छन् । एक सय ५० परिवारको बसोवास रहेको ढागर बस्तीका धेरै घरमा शौचालय बनेकै छैनन् । केहीले भने बनेका शौचालयसमेत प्रयोगमा ल्याएका छैनन् । दाताहरूले शौचालयका लागि प्यान मात्र दिँदा शौचालय निर्माण गर्न नसकेको स्थानीयको भनाइ छ । यहाँका अधिकांश स्थानीयले खेतबारीमा शौच गर्दै आएका छन् ।
हचुवाका भरमा जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएकोप्रति ढागरवासीले असन्तुष्टि व्यक्त गरेका छन् । पर्याप्त शौचालय नबन्दै जिल्लालाई खुला दिसामुक्त घोषणा गरेर सरोकारवाला निकाय आफ्नो दायित्वबाट पन्छन खोजेको स्थानीय राजेन्द्र महतोले बताए ।
स्रोत: www.enayapatrika.com/2018/02/28/27976/