News

बाँकेमा वर्षकै बढी तापक्रम

May 26, 2017

Ekantipur, 26th May 2017, Banke

बाँकेमा बिहीबार वर्षकै सबैभन्दा बढी ४२ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यसअघि मे ६ का दिन ४१ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । गर्मी बढ्ने क्रम जारी छ । 

अत्यधिक गर्मीका कारण यहाँको जनजीवन कष्टपूर्ण बनेको छ । दिउँसो सर्वसाधारणको चहलपहल कम भएको छ । नेपालगन्जको राँझास्थित हावापानी फिल्ड कार्यालयले पानी नपरे गर्मी अझै बढ्न सक्ने जनाएको छ । कार्यालय प्रमुख रीता महतोले पश्चिमी सुक्खा हावा चल्न थलेपछि गर्मी बढेको बताइन् । ‘पश्चिमी हावाका कारण लु चल्छ । यसले बढी गर्मी भएको महसुस हुन्छ,’ उनले भनिन्, ‘यो वर्षको सबैभन्दा बढी गर्मी बिहीबार भयो । पानी परेमा गर्मी केही कम हुन सक्छ ।’

गर्मीका कारण घर तातो भएर बस्न मुस्किल हुने गरेको छ । सर्वसाधारणहरू चिसो हावामा बस्न छतमा सुत्न थालेका छन् । निस्किनै परे छाता ओढ्न थालेका छन् । शरीर पोल्ने गर्मीले जनजीवन प्रभावित भएको हो । सन् २०१२ जुन १४ मा नेपालगन्जमा ४५ डिग्री तापक्रम पुगेको थियो । त्यसअघि ४३ दशमलव ९ डिग्री तापक्रम पुगेको थियो । अत्यधिक बस्ती विस्तार हुँदै गएको तर हरियाली क्रमश: नष्ट हुँदै गएकाले हरेक वर्ष गर्मी बढदै गएको हो । पोखरी, खोला नाला सुक्न थालेका छन् भने पशु चौपायाहरूलाई पानीको व्यवस्था छैन । 

अत्यधिक गर्मीले जनजीवन कष्टपूर्ण बनिरहेका बेला अनियमित विद्युतले सर्वसाधारणको अवस्था झन् बेहाल बनेको छ । विद्युत् नभएपछि गर्मीले राति सुत्न समस्या भएको छ । बिजुली जाने गरेका कारण सर्वसाधारणहरू आजित बनेका छन् । न्यून भोल्टेजका कारण पंखा र कुलर चल्दैन । गर्मीका कारण रातभर जाग्राम बस्नुपरेको सर्वसाधारणहरूको गुनासो छ । ‘गर्मीले शरीर पोल्छ । त्यसमाथि विद्युत् हुँदैन । गर्मीले मरिन्छ जस्तो भएको छ,’ नेपालगन्जका कृष्ण आचार्य भन्छन्, ‘बिजुली जानेबित्तिकै घरको छतमा जानुपर्छ ।’

नेपालगन्जका लागि भारतबाट १२ मेगावाट बिजुली आपूर्ति हुँदै आएको छ । यहाँका लागि कम्तीमा पनि २३ मेगावाट विद्युत् आवश्यक पर्छ । गर्मी सुरु भएपछि स्थानीय र प्राधिकरणबीच विद्युत्लाई लिएर विवाद हुने गरेको छ । उपभोक्ताहरू विद्युत् नियमित गर्न माग गर्दै चक्काजाम गर्नेदेखि विद्युत् कार्यालय घेराउ गर्दै आएका छन् । तर, समस्या भने बल्झिँदै गएको छ । नेपालगन्जमा नेपालतर्फबाट ६ मेगावाट विद्युत् वितरण गरिन्छ । भारतले नेपालगन्जको मागबमोजिम विद्युत् दिन सक्ने जनाउँदै आएको छ । तर, विद्युत् आपूर्ति गर्ने तार करिब ४० वर्ष पुरानो भएको कारण सम्भव छैन । त्यसको विकल्पमा नेपालको केन्द्रीय प्रसारण लाइनबाट केही विद्युत् नेपालगन्जका लागि दिने गरिएको हो । 



 Source: http://kantipur.ekantipur.com/news/2017-05-26/20170526073050.html