त्रिलोचन रिजाल, कारोबार आर्थिक दैनिक, ११ आश्विन, २०७४
बाग्लुङ: बाग्लुङको ढोरपाटन क्षेत्रमा उत्पादित आलुको प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय बजारमा पु-याइने भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत स्थानीयले विभिन्न प्रबद्र्धनात्मक कार्यक्रम गर्दै आलुलाई अन्तर्राष्ट्रिय बजारमा पु-याउन पहल गरेका हुन् ।
स्थानीय आलुको लोकप्रियता बढ्दै गएपछि ढोेरपाटनमा उत्पादित आलुको व्यवसायीकरण गर्न निर्यात गर्न लागिएको ढोरपाटन आलु पकेट क्षेत्र सञ्चालक समितिका अध्यक्ष चिरन घर्तीमगरले बताए । उत्पादन वृद्धि, बजारीकरण तथा प्रवद्र्धनका लागि पकेट क्षेत्र सञ्चालन गरिएको हो । समितिले आलु लेभलिङ तथा ग्रेडिङका लागी कृषि विकास कार्यालयबाट अनुमतिसमेत पाएको छ ।
चालू वर्षमा नै ३० हजार क्विन्टल आलु बिक्री गर्ने लक्षसहित बुर्तिवाङ बजारमा पसल सुरु गरिएको मगरले बताए । “देश विदेशमा चिनाउन सांगठनिक रूपमै अभियान थालेका छौं,” उनले भने, “यही सिजनमा करिब १५ करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य लिएका छौं ।”
ढोरपाटन क्षेत्रका सबै कृषकका घरमै पुगेर आलु खरिद गरेर बजारीकरण गर्ने समितिले जनाएको छ । “हरेक किसानका घरमा पुगेर प्रचलित बजार मूल्यमै आलु खरिद गर्ने र बजारीकरण गर्ने छौं,’ समितिका सदस्य होमलाल भुषालले भने, “यसले किसानले उत्पादन गरेका आलु समयमै उचित मूल्यमा बिक्री हुने र किसान ठगिनबाट जोगिने विश्वास लिएका छौं ।”
समयमै बिक्री गर्न नसक्दा ढोरपाटन क्षेत्रमा उत्पादित केही आलु कुहिएर खेर जाने गरेको स्थानीय बताउँछन् । “वर्षभरी घरखर्च चलाउने आम्दानीको प्रमुख आधार आलु खेती हो,” ढोरपाटनका कृषक धनबहादुर विकले भने, “उत्पादित आलु समयमै बिक्री गर्न नसक्दा विग्रिने डरले सस्तोमै भए पनि बिक्री गर्नुपर्ने बाध्यता छ ।”
समितिले आलु प्रवद्र्धन कार्यक्रम सुरु गरेपछि आफूहरूका समस्या हल हुने विश्वास विकको छ । जिल्ला कृृषि विकास कार्यालयले यसअघि ढोरपाटनका किसानले उत्पादन गरेको आलु राख्न अनुदानमा बोरा उपलब्ध गराएको थियो ।
व्यावसायिक बन्दै आलु खेती
आलुको माग बढ्दै गएपछि बाग्लुङका किसानले व्यावसायिक आलु खेती गर्न थालेका छन् । निवाहमुखी खेती प्रणालीमा सुधार भएर पछिल्लो समय आलु खेती व्यावसायिक रूपले अगाडि बढ्न थालेको जिल्ला कृषि विकास कार्यालय बाग्लुङले जनाएको छ ।
कृषक व्यावसायिक बन्नु, उन्नत जात भित्रिनु, पुरानो खेती प्रविधि आधुनिक बन्दै जानु, अनुदानका कार्यक्रम, बिउ आलु भण्डार गृह निर्माण हुनु, बजारको पहुँच विस्तार हुनु, अन्य बालीको तुलनामा सजिलो र नगद आम्दानी हुने भएकाले आलु खेतीतर्फ कृषकको आकर्षणसँगै उत्पादन बढ्दै गएको कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताए ।
ढोरपाटनलगायत जिल्लाका तारखोला, हिल, अर्गल, अमरभूमि, निसी, भकुण्डे आलु उत्पादनका पकेट क्षेत्र हुन् । चिसो ठाउँ भएकाले स्वादिष्ट र ओसिलो हुने भएकाले यी गाउँमा बेसीबाट धान, कोदो र पैसा लिएर आलु साट्नका लागि गाउँमै पुग्ने गर्छन् ।
यस वर्ष जिल्लामा ३६ करोड ७० लाख रुपैयाँबराबरको आलु उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । चिसो हावापानीमा प्राङ्गारिक मलबाट मात्र उत्पादन भएको अग्र्यानिक आलु स्वादिलो र गुणस्तरीय हुने भएकाले जिल्लाका यी क्षेत्रमा उत्पादित आलुको माग बढ्दै गएको छ ।
कार्यालयका अनुसार ३ हजार हेक्टरमा गरिएको वर्षे आलु खेतीबाट १० हजार २ सय टन उत्पादन भएको छ । जिल्लाभरमा करिव दुई हजार हेक्टरमा आलु लगाइने गरिएको छ । कृषि प्रसार अधिकृत विप्लव अधिकारीका अनुसार जिल्लामा उत्पादित आलुको ५० प्रतिशतभन्दा बढी बजारीकरणमा अझै समस्या देखिएको छ । जिल्लामा उत्पादित आलु होलसेलमा प्रतिकेजी ३५ देखि ५० र खुद्रामा ५० देखि ७० रुपैयाँमा बिक्री हुने गर्छ ।
जिल्ला कृषि विकास कार्यालयले तत्कालीन तारा गाविसमा बीउ संरक्षणका लागि ‘रोस्टिक स्टोर’समेत बनाएको छ । जसमा २० टनसम्म आलु बीउका लागि भण्डारण गर्न सकिन्छ । ढोरपाटनमा दिनभर र तारामा करिब चार घण्टाको जिपको यात्रामा पुगिने भएकाले ढुवानीमा अझै समस्या र झन्झट रहेको ढोरपाटनका कृषक धनबहादुर विकले बताए ।
“यहाँका पकेट क्षेत्रमा भण्डारण केन्द्र स्थापना गरेर व्यावसायिक सोचका साथ काम गर्न प्रोत्साहित गर्ने र ढुवानी व्यवस्थापन गर्नसके यो क्षेत्र अझ आलुमय बन्नेछ,” उनले भने । आलु खेती प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालयले ‘बीउ आलु आत्मनिर्भर कार्यक्रम’का साथै सुरक्षित भण्डारणका लागि विभिन्न ठाउँमा शीतभण्डार निर्माणमा सहयोग गर्ने जनाएको छ ।
यसवर्ष उत्पादन घट्यो
स्वादिष्ट आलुको पकेट क्षेत्र मानिने ढोरपाटनमा यस वर्ष भने उत्पादनमा कमी अएको छ । यस वर्ष बढी पानी परेकाले बोट कुहिएर गतवर्षको तुलनामा आलु उत्पादन घटेको हो ।ढोरपाटन क्षेत्रका केही माथिल्ला भूभागमा रामै आलु फले पनि तल्लो क्षेत्रमा भने निकै कम उत्पादन भएको किसानहरूले बताएका छन ।
विगतको तुलनामा मौसम अनुकूल नहुँदा र डढुवा रोगको प्रकोप देखिएकाले उत्पादन घटेको स्थानीय हिमकुमारी अदैले बताइन् । “आलु उत्पादनमा यो वर्ष निकै कमी आयो,” अदैले भनिन, “फलेको आलुका दाना पनि गतवर्षमा जस्तो ठूला छैनन् ।” विगतका वर्षहरूमा करिब ६० मुरी आलु फल्ने स्थानमा अहिले १५ मुरी पनि नफलेको स्थानीय किसान दीपक विश्वकर्माले बताए ।
ढोरपाटन क्षेत्रमा रहेका करिब दुई हजार घरधुरीले दुई रोपनीदेखि २५ रोपनीसम्ममा व्यावसायिक आलुखेती गर्दै आएका छन् । गतवर्ष १७ हजार १४८ टन आलु उत्पादन भएको बाग्लुङमा यो वर्ष उत्पादनमा करिब १५ प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
स्रोत:
https://www.karobardaily.com/news/82617