News

बाढीको बबण्डर : १५ जिल्ला प्रभावित

June 17, 2021

सुरेन्द्र काफ्ले, अन्नपूर्ण पोष्ट, असार ०३, २०७८ 

काठमाडौं : लगातार परेको वर्षाका कारण मनसुनको सुरुवातमै १५ जिल्लामा ठूलो जनधनको क्षति भएको छ। गृह मन्त्रालयका अनुसार बाढीका कारण ६ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता भएका छन्। ११ जना घाइते भएका छन्। वर्षाले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा पुर्‍याएको छ। 

गृह मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, मनाङ, बाजुरा, पाल्पा, डोटी, लम्जुङ, स्याङ्जा, जुम्ला, बाग्लुङ, गोरखा, प्यूठान, कास्की, पर्वत, दाङ र अर्घाखाँची धेरै प्रभावित भएका छन्। बाढी–पहिरोको चपेटामा अन्य जिल्ला पनि परेका छन् ।

 वर्षाले गर्दा मेलम्चीको सडक, २ पक्की पुल, कहीँ झोलुंगे पुल भत्किएको छ भने मनाङ सदरमुकाम जोड्ने सडक र आधा दर्जन सरकारी कार्यालय भत्किएका छन्। सुपरमादी जलविद्युत् आयोजनाका संरचना र सामग्री बाढीले बगाइदिएको छ। करिब १ अर्ब बराबरको क्षति भएको अनुमान गरिएको छ। 

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा २, कास्की, पाल्पा, बाजुरा र डोटीमा एक/एक जनाको मृत्यु भएको हो। सिन्धुपाल्चोकमा मात्रै १७ जना बेपत्ता भएका छन्। जाजरकोटमा ७, बाजुरा, गोरखा, प्यूठान, अर्घाखाँचीमा एक÷एक जना बेपत्ता भएका छन्। सिन्धुपाल्चोकमा ६ र स्याङ्जामा  १, डोटीमा २ र जुम्लामा २ जना घाइते भएका छन्।

सिन्धुपाल्चोकको बाढी पहिरोमा परी घाइते भएका ६ जनाको हेलिकप्टबाट उद्धार गरी ललितपुरको बीएण्डबी अस्पतालमा उपचार भइरहेको गृह प्रवक्ता दाहालले जानकारी दिए। म्याग्दीमा पहिरोमा परी घाइते भएकाको हेलिकप्टरबाट उद्धार गर्न पहल भइरहेको उनले जानकारी दिए।  हालसम्म प्राप्त विवरणअनुसार बाढी, पहिरो र डुबानमा परी ८९ वटा घरमा पूर्ण र २६ वटा घरमा आंशिक रूपमा क्षति पुगेका छन्। बाढी–पहिरोबाट प्रभावितमध्ये सिन्धुपाल्चोकमा ४६ र दाङमा ४ जनाको सकुसल उद्धार गरिएको छ।  
बाढी–पहिरोका कारण ठूलो संख्यामा स्थानीय बासिन्दा विस्थापित भएका छन्। सिन्धुपाल्चोक र मनाङमा सबैभन्दा धेरै मानिस विस्थापित भएका छन्। 

प्रत्येक वर्ष बाढी–पहिरोले ठूलो धनजनको क्षति गर्ने गर्छ। सरकारले त्यसको आवश्यक तयारी र सतर्कताका धेरै काम गरेको बताइरहेको हुन्छ। तर, त्यो प्रभावकारी  देखिन्न। गृह मन्त्रालयका सहसचिव गोविन्द रिजाल विपद् अपेक्षित नहुने भएका कारण पूर्वतयारी र सतर्कता गर्दा गर्दै क्षति हुने बताउँछन्।  

उनले पूर्व अनुमानको आधारमा यो वर्ष पनि पर्याप्त तयारी भएको दाबी गरे। केन्द्रदेखि जिल्ला तहसम्म कार्ययोजना बनाइएको छ। चाहिने मात्राका सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको छ। खोज, उद्धार र राहतका सामग्री पर्याप्त भण्डारण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन कोषमा आवश्यक बजेटको प्रबन्ध गरिएको छ। तराईका जिल्लामा खोज र उद्धारका लागि अस्थायी बेस खडा गरिएको छ। केन्द्र, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म समन्वय गरेर अगाडि बढिएको छ ।

 गृह मन्त्रालयका पूर्वतयारी तथा प्रतिकार्य शाखाका उपसचिव दिलबहादुर तामाङले तीन सरकारद्वारा पूर्वतयारीका लागि कार्ययोजना बनाइएको बताए। त्रिभुवन विमानस्थल, धनगढी र नेपालगन्जमा मानवीय सहायता स्थल छन्। जहाँ विपद्को लागि आवश्यक राहत सामग्री राखिएको छ। प्रादेशिक स्तरमा गोदाम घरहरू छन्।  प्रदेश १ मा विराटनगर, बागमतीमा हेटौंडा  र लुम्बिनीको बुटवल गोदाम घर छन्। जहाँ टेन्ट, त्रिपाल, कम्मल र राहत सामग्री पर्याप्त रूपमा भन्डारण गरिएको छ। जोखिमयुक्त जिल्लामा थप टेन्ट, त्रिपाल पठाइएको छ। जिल्लाविपद् व्यवस्थापन समितिले मनसुनजन्य विपद्सम्बन्धी योजना बनाएर प्रत्येक जिल्लामा काम गरिरहेको उनको भनाइ छ। 

यसैबीच विपद् प्रभावित क्षेत्र र व्यक्तिको तत्काल उद्धार राहतलगायतका प्रतिकार्यलाई थप प्रभावकारी बनाउने सन्दर्भमा बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् र गृहमन्त्री खगराज अधिकारीको अध्यक्षतामा कार्यकारी समितिको बैठक बसेको थियो। 

प्रधानमन्त्री ओलीले अबिरल वर्षाका कारण उत्पन बाढी पहिरोबाट थप जनधनको क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले प्रभावित क्षेत्रमा तत्काल खाद्यान्न, लत्ता कपडा, औषधि र पानीको व्यवस्था गर्न पनि सम्बद्ध निकायलाई निर्देशन दिए । प्रधानमन्त्रीले उद्धार र राहत कार्यमा अपांगता भएका, ज्येष्ठ नागरिक, बालबालिका र महिलालाई विशेष ध्यान दिन पनि निर्देशन दिए ।

उनले ठूलो संख्यामा जनतालाई सुरक्षित स्थानमा सार्दा उनीहरूमा कोभिड–१९ संक्रमणको जोखिमलाई समेत ध्यानमा राख्नुपर्ने बताए। उद्धारका लागि विभिन्न प्रविधिका पानीमा चल्ने साधनका साथै स्थानीयस्तरमा बन्ने साधन प्रयोग गर्न पनि उनले जोड दिए ।

उनले राहत वितरणमा अनियमितता हुन नदिन अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिए ।
उनले तराईमा डुबानको सम्भावना भएका स्थानमा संयुक्त सीमावर्ती टोलीसँग कुरा गरी तत्काल आवश्यक कार्य गर्न तथा पहाडी भेगमा नयाँ स्थानमा बाटो खन्ने वा डोजर लगाउने कार्य तत्काल रोक्न निर्देशन दिए ।

सचेतना तथा सर्तकताको व्यवस्था गर्नुपर्छ

प्रा.डा. नरेन्द्रराज खनाल - भूर्गवशात्री, त्रिभुवन विश्वविद्यालय (भूगोल विभागका पूर्वविभागीय प्रमुख)
सेटलाइट इमेजको अध्ययन गर्दा मेलम्चीघ्याङदेखि उत्तरमा सन् २०१५ को भूकम्पको बेला गएका चार बढी पहिराहरू सन् २०२० सम्म क्रियाशील रहेर ठूलो हुँदै गएको देखिन्छ। त्यहाँ ५ वटा जति हिमताल पनि देखिन्छन्। तर, तिनीहरू साना छन्। धेरै पानी नपरेको र ताल फुटेर ठूलो बाढी बन्न नदिँदा तिनै पहिरोहरू डाँडाको टुप्पोदेखि खोलाको पिधसम्म फैलिएका छन्।

तिनै पहिराहरू गएर खोला थुनिँदै, खोल्दै पुनः किनार काट्दै, थुन्दै, फुट्दै गएर बाढी ठूलो हुन गई मेलम्चीको ड्यामसमेत भत्केको छ। पहिरो गएको ठाउँबाट मेलम्ची बजार झण्डै ३० किलोमिटर टाढा पर्छ। सन् २०१५ को भूकम्पको बेलामा गएका पहिराहरू र त्यसपछि गएका पहिराहरूमा वार्षिक अनुगमन र सचेतना तथा सर्तकताको व्यवस्था गर्नुपर्ने देखिन्छ। 

सामाजिक सञ्जालमा राखिएका  हाइड्रोग्राफले मेलम्ची खोला थुनिएर पानीको सतह करिब ४५ मिनेट घटेको र पछि एक्कासि खोलामा पानीको सतह बढेको देखिएको हुँदा यो पहिरोको कारणले खोला थुनिएर आएको बाढी हो भन्न सकिन्छ।  

मेलम्ची बजारमा धेरै नोक्सनी हुनुको करण इन्द्रावती र मेलम्ची खोला जुन एक आपसमा विपरीत दिसाबाट आएर मिलेका छन्। इन्द्रवती उत्तर पूर्व र मेलम्ची उत्तर पश्चिमबाट आएका छन्। यसरी मिल्नाले दोभानबाट तल बग्दा नदीको छाल र धार परिवर्तन भएर बस्तीमा बाढी पसेको जस्तो देखिन्छ। यस्तै स्थिति कुलेखानीको पालुङमा सन् १९९३ को बाढीमा देखिएको थियो। बस्ती बसाल्दा यस्ता कुरालाई ध्यान दिनुपर्ने देखिन्छ ।

स्रोत: http://annapurnapost.com/news/181533