News

बाढीपीडित विद्यार्थीको तथ्यांक छैन

August 30, 2017

कुमार लुइँटेल, अन्नपुर्ण पोष्ट, १४ भाद्र २०७४ 

बाढीले मोरङका विद्यालयमा ठूलो असर पुर्‍यायो । धेरै विद्यार्थीका घर डुबानमा परे । उनीहरूका शैक्षिक सामग्री र पोसाकसमेत बाढीले बगाइदियो । बाढीपीडित विद्यार्थी विद्यालय जान सकेका छैनन् । जिल्लाका अधिकांश सामुदायिक विद्यालयमा पठनपाठन ठप्प छ । जिल्ला शिक्षा कार्यालयले भने बाढीपीडित विद्यार्थीको विवरण र तथ्यांक अध्यावधिक नगरी नै दातासँग गुहार माग्न थालेको छ । ‘फलानो विद्यार्थी बाढीमा परे भनेर नाम नै टिपेर ल्याएको अवस्था भने छैन', जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले भने, ‘प्रभावित क्षेत्रका विद्यार्थीको क्षतिबारे सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई टिपोट गर्न भनेका छौं ।'

विद्यालयमा भएको क्षतिको विवरण भने सम्बन्धित क्षेत्रका प्रधानाध्यापकबाट आइरहेको जिशिअ खनालको भनाइ छ । मंगलबारसम्म दाताले के कति सहयोग गर्ने भन्ने निर्णय गर्ने तयारी भए पनि त्यो पूरा नभएको उनले सुनाए । ‘पोसाकमा कसले कति सहयोग गर्छ भन्ने दाता खोज्ने काम गर्नेछौं', उनले भने, ‘गैरसरकारी संस्थासँग पनि सहयोग मागेका छौं । प्रभावित विद्यार्थीको संख्याबराबर सहयोग जुट्छ-जुट्दैन हेर्छौं ।' पूरै सहयोग नजुटे जिल्ला दैवी प्रकोप उद्धार समितिलाई जानकारी गराएर थप सहयोग लिने उनले बताए ।

दुई साता बिते पनि बाढीपीडित विद्यार्थीले सरकारी तथा निजी क्षेत्रबाट कुनै किसिमको शैक्षिक सहयोग प्राप्त गर्न सकेका छैनन् । विराटनगर-१९, खाप टोलकी पवित्र ऋषिदेवले भनिन्, ‘हामी विद्यालय जान पाएका छैनौं । किताब, लुगा सबै बगे, कसरी जानु विद्यालय? ' आफ्नो टोलका धेरै विद्यार्थी शैक्षिक सामग्री अभावमा विद्यालय जान नपाएको उनले बताइन् ।

मोरङमा १३८ विद्यालयका १० हजार विद्यार्थी बाढीबाट प्रभावित भएको प्रारम्भिक अनुमान छ । उद्धार समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले विद्यालयमा भएको क्षतिको विवरण र विद्यार्थीलाई परेको असरको विवरण संकलन भइरहेको जानकारी दिए । ‘अन्य क्षेत्रतर्फ सहयोगका कार्यक्रम जारी रहे पनि विद्यालय र विद्यार्थीलाई अपेक्षा गरेअनुसार सहयोग पुग्न सकेको छैन', उनले भने । सहयोगका कार्यक्रमलाई बाढीप्रभावित विद्यार्थीमा लैजान निर्देशन दिने उनले बताए ।

बाढी पसेको विद्यालयमा अहिले पनि लेदो जमेको छ । कतिपयमा पन्छाउने काम भए पनि धेरैमा बाँकी रहेको शिक्षा कार्यालयले जनाएको छ । बाढीपीडितहरू विद्यालयमै आ श्रय लिएर बसोबास गरिरहेकाले पठनपाठन सुचारु गर्न हुन नसकेको हो ।

स्रोत: 

http://annapurnapost.com/news/78908