बाढीबाट करोडौं मूल्यको पशुधन क्षति

August 24, 2017

यादव आचार्य, अन्नपुर्ण पोष्ट, ८ भदौ २०७४ 

बबई नदीमा आएको भीषण बाढीबाट बर्दियामा करोडौं मूल्यको पशुधनको क्षति भएको छ । बाढीका कारण किसानका कुखुरा, गाई, बाख्रालगायत पशुपन्छीका साथै पशुआहारा नष्ट भएपछि करोडौं रुपैयाँ क्षति पुगेको हो । ‘बर्दियामा बाढीका कारण चार करोड नौ लाख रुपैयाँबराबरको पशुधनको क्षति भएको प्रारम्भिक अनुमान गरेका छौं', जिल्ला पशुसेवा कार्यालय बर्दियाका निमित्त प्रमुख डा. प्रेमकुमार मण्डलले बताए । उनले भने, ‘तथ्यांक लिने काम भइरहेकाले क्षति अझै बढ्न सक्छ ।'

सडकका कारणले तथ्यांक लिन कठिनाइ भएको भन्दै उनले थपे, ‘तथ्यांक लिने काम जारी रहेकाले एक साता अझै लाग्न सक्छ ।' वास्तविक तथ्यांक आएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णयबाट क्षतिको प्रमाणीकरणपश्चात क्षतिपूर्ति उपलब्ध गराउने उनको भनाइ छ । नेपाल रेडक्रस, प्रहरी, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको अगुवाइमा तथ्यांक अनुमोदन हुने उनले बताए ।

जिल्ला पशुसेवा कार्यालय बर्दियाको तथ्यांकअनुसार बर्दियामा लेयर्स कुखुरा दुई हजार ५६०, ब्रोइलर १० हजार २०३ र स्थानीय जातका एक हजार ६०७ वटा गरी १४ हजार ३७० कुखुरामा क्षति पुगको छ । त्यस्तै पशुहरूमा गाईगोरु, भैंसीराँगा, भेडाबाख्रा र बंगुरको क्षति भएको छ । त्यसमा गाईगोरु १२, भैंसीराँगा २१, भेडाबाख्रा एक सय १ र बंगुर एक सय ३५ गोटा गरी दुई सय ६९ वटा पशुधनको क्षति भएको बताइएको छ ।

बाढीकै कारण ६ हेक्टर क्षेत्रफलमा लगाएको घाँस नष्ट भएको प्रमुख मण्डलले बताए । मण्डलका अनुसार गुलरिया नगरपालिकाले सञ्चालन गरेको थपुवा पशुहाट बजारमा क्षति पुगेको छ । उनले थपे, ‘धेरै स्थानीय तहमा बाढीले क्षति पुर्‍याएको छ । सडक बिग्रिएका कारण तथ्यांक लिन ४/५ दिन ढिलाइ भयो।'

किसानका गोठसमेत बाढीले भत्काएको उनले बताए । ‘सबै तथ्यांक आएपछि मन्त्रालय पठाउँछौं, मन्त्रालयले पठाएको क्षतीपूर्ति पशुकिसानलाई उपलब्ध गराउँछौं', मण्डलले थपे, पशुकिसानलाई हामी निरुत्साहित पार्दैनौं ।' क्षतिपूर्ति नगद वा पशुपन्छी जे पनि हुन सक्छ तर सबै तथ्यांक आएपछि उपलब्ध गराउने उनको भनाइ थियो ।

स्रोत: http://annapurnapost.com/news/78406

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More