अवधेशकुमार झा, कान्तिपुर दैनिक, असार १८, २०७४
शुक्रबार रातभरको वर्षापछि आएको बाढीले सप्तरीका विभिन्न गाउँपालिका र नगरपालिकाका १५ सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढीले कम्तीमा २ सय ३६ घर बगाएको छ । भन्सार, प्रहरी पोस्टलगायत सरकारी कार्यालयसमेत जलमग्न भएका छन् । बाढीले विभिन्न खोलाका तटबन्ध क्षति पुर्याउँदा भेल बस्तीमा पस्ने क्रम रोकिएको छैन ।
कोसीको भंगालोमा सशस्त्र प्रहरीका एक हवलदारको शव भेटिएको छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय, राजविराजका एसपी रामाधार यादवका अनुसार इलाम घर भई सशस्त्र प्रहरी बीओपी तिलाठीस्थित बेल्ही भन्सारमा कार्यरत सहायक हवलदार सुमन आचार्यको डुबेर मृत्यु भएको हो । उनको शव बीओपी कार्यालयबाट ४ सय मिटरपूर्व कोसीको भंगालोमा देखिएपछि पूर्वी मुख्यालय, पकलीबाट आएको गोताखोर टोलीले निकालेको थियो । शनिबारै लौनिया बस्तीनजिक आडो खोलाको बाढीले ल्याएको एक बेवारिस शव फेला परेको स्थानीय गजेन्द्र मण्डलले जनाए ।
शनिबार बिहानसम्म निरन्तर भएको थियो । बाढीले सयौं घर बगाएको एसपी अनुराग द्विवेदीले बताए । उनका अनुसार महुली खोलाको बाढीले सप्तरीको त्रिकौलका १५०, तिरहुत गाउँपालिका–५ भेडियाका ७० र दुधैला खोलाको बाढीले रूपनी गाउँपालिका–६ वीरेन्द्रबजारका ६ घर बगेका छन् । रूपनी बसबिटीको ४ किलो भन्ने स्थानमा खाडो खोलाको बाढी पस्दा बस्ती जलाम्य भएको छ । गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र पनि जलमग्न भएको द्विवेदीले जनाए । रूपनी गाउँपालिकाअन्तर्गत पौवामा स्थानीय मनोज यादवको ५ सय कुखुरासहितको फर्म खाडो खोलाले बगाएको छ ।
तिलाठीमा ३ सय घर जलमग्न भएको तिलाठी कोइलाडी–८ का मिथलेश झाले जनाए । तिलाठी कोइलाडी गाउँपालिकाकै बेल्हीका १ सय ५० घर र सकरपुराका ५० घरमा पानी पसेको छ । तिलाठी गाउँपालिकाको कार्यालय, वडा नम्बर ८ को कार्यालय तथा तिलाठी स्वास्थ्य चौकीसमेत डुबानमा परेको छ । तिलाठीमा निर्माणाधीन खानेपानी कार्यालयमा बाढीले क्षति पुर्याएको छ । आयोजनाको पर्खाल भत्केको र ५० बोरा सिमेन्ट नष्ट भएको उपभोक्ता समितिमा अध्यक्ष सतीष मिश्रले जानकारी दिए ।
खाडोखोलाको बाढीका कारण डुबानमा परेको तिलाठी स्वास्थ्य चोकी ।
कञ्चनरूप नगरपालिका–१ रघुनाथपुरका अवधी यादव, देवु यादव र राजकुमार यादवका ४ वटा घर पनि बगाएको प्रहरीले जनाएको छ । नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत तिलाठीस्थित बेल्ही भन्सार कार्यालय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको पोस्ट डुबानमा परेको छ । घरभित्र २–३ फिट पानी पस्दा खाना बनाउन नपाएको स्थानीय बाबुनारायण मिश्रले बताए । ‘घरभित्रै पानी बगिरहेको छ, चुल्होमाथि समेत पानी छ, कसरी पकाउनु खानेकुरा ?’ उनले भने, ‘खाद्यान्न पनि बगायो, चुल्हो पनि रहेन, भोकै बस्नुपर्ने भएको छ ।’
सदरमुकाम राजविराज नगरपालिकाको डुमरी शिवथान, मधवापुर, मयनाकरेडी, रायपुरको पौवाटोल, पोर्ताहा, मलेठलगायत स्थानमा पनि कैयौं घरभित्र पानी पसेको छ । बाढी पसेका घरबाट खाद्यान्नसमेत बगाएको छ । एसपी द्विवेदीले बाढीका कारण जिल्लाका एक हजार ५ सय घर डुबानमा परेको बताए । ‘प्रारम्भिक तथ्यांकले एक हजार ५ सय घर डुबानमा परेको जानकारी आएको छ,’ उनले भने, ‘बाढीबाट भएको डुबान, कटान र क्षतिको विवरण संकलन भइरहेको छ ।’
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बाढीपीडित परिवारलाई स्थानीय स्तरबाट तात्कालका लागि राहत व्यवस्था मिलाइएको बताए । उनले मयनाकरेडी त्रिकौलका ३ सय र मलेठमा २ सय ५० परिवारलाई जिल्ला समन्वय समितिले भुजा र च्युरा वितरण गरेको बताए । प्रजिअ कटुवालकै नेतृत्वमा स्थानीय विकास अधिकारी सुदेवकुमार पोखरेल, जिल्ला प्रहरी प्रमुख द्विवेदी, सशस्त्र प्रहरी प्रमुख रामाधार यादव, नेपाली सेनाका कर्नेल डम्बर बोहोरालगायतले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । विभिन्न स्थानमा एकैसाथ बाढी आएपछि शनिबार बिहानैदेखि स्थानीय इकाई र जिप्रकाबाट थप प्रहरी परिचालन गरी ५ सय जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको एसपी द्विवेदीले जनाए ।
दर्जन स्थानमा कटान
खाडो र महुली खोलाको बाढीले दर्जन स्थानमा कटान गरेको छ । डमुरी शिवथानमा खाडो खोला बस्तीतर्फ सोझिएको छ । रायपुर र मलेठमा पनि तटबन्ध क्षतिग्रस्त बनाउँदै खाडो खोला बस्ती छिरेको स्थानीय दिनेश यादवले जनाए । खाडो खोलाको पूर्वी तटबन्धअन्तर्गत तोपामा बाँधको आधा भाग बाढीले कटान गरेको पूर्ववडाध्यक्ष सत्यनारायण यादवले बताए । ‘न स्लोपिङ बनाएको छ न त बाँधमाथि घाँस नै लगाइएको छ,’ पूर्ववडाध्यक्ष सत्यनारायणले भने, ‘बाँधछेउबाट नै खाडोको बालुवा झिकेर बनाइएको बालुवाको बाँध बाढीका अगाडि कति समय टिक्ला ?’
यस्तै खाडो खोलाअन्तर्गत नै लौनियाका ३ स्थानमा कटान लागेको छ । स्थानीय गजेन्द्र मण्डलका अनुसार शनिबार बिहान अत्यधिक बाढी आउँदा बाँधमाथि ओभरफ्लो भई पानी बस्ती र खेतीयोग्य जग्गामा पसेको थियो । पानीको बहाव दिउँसो केही कम भएपछि बस्तीमा पानी कम भएको उनले बताए । यस्तै तिलाठीमा नयाँ बाँध निर्माण नभएको र पुराना बाँध भत्काउँदै बाढी बस्ती पसेको तिलाठीका पूर्वगाविस अध्यक्ष दिनेश्वर मिश्रले जानकारी दिए । खाडो खोलाको पूर्वी र पश्चिमी तटबन्धअन्तर्गत यस वर्ष निर्माण भएको बाँध बालुवाको मात्र भएकाले सामान्य बाढी आउँदा पनि कटान लाग्ने अवस्थाको रहेको स्थानीयहरूले बताए ।
स्रोत: http://kantipur.ekantipur.com/news/2017-07-02/20170702043359.html