बाढीले साढे दुई करोडको खाद्य बाली नष्ट

August 29, 2017

कृष्ण सार मगर, अन्नपुर्ण पोष्ट, १३ भाद्र २०७४ 

मकवानपुरमा बाढीपहिरोबाट दुई करोड ५८ लाख २९ हजार रुपैयाँबराबरको खाद्यान्न तथा बाली क्षति भएको छ । ६ सय ३६ हेक्टरमा लगाइएको खाद्यान्न तथा तरकारी बाली नष्ट हुँदा दुई हजार नौ सय १५ परिवार प्रभावित भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । कार्यालयको तथ्यांकअनुसार सबैभन्दा धेरै एक करोड २६ लाख रुपैयाँबराबरको धानबाली नष्ट भएको छ ।

मनहरी गाउँपालिकामा दुई सय ५०, बकैया गाउँपालिकामा १५, वाग्मती गाउँपालिकामा एक सय ३५, मकवानपुरगढी गाउँपालिकामा ६६ र राक्सिराङ गाउँपालिकामा १५ हेक्टरमा लगाइएको धानबाली नष्ट भएको कार्यालयकी बाली विकास अधिकृत रचना देवले जानकारी दिइन् । मनहरी गाउँपालिकामा पाँच हेक्टर पोखरीमा रहेको १० लाख रुपैयाँबराबरको माछा, इन्द्रसरोवर गाउँपालिकामा वर्षात्का कारण सडक अवरुद्ध हुँदा १५ मेट्रिक टन तरकारी नष्ट भएको उनले बताइन् ।


बाढीपहिरोबाट भएको क्षतिबारे विवरण आउने क्रम जारी छ । त्यसैले क्षतिको परिमाण बढ्न सक्छ ।
 

कार्यालयको तथ्यांकअनुसार विभिन्न गाउँपालिका र थाहा नगरपालिकामा एक सय ५० हेक्टरमा लगाइएको एक करोड रुपैयाँबराबरको भेडे खुर्सानी नष्ट भएको छ । वर्षात्को क्षतिका कारण भेडे खुसार्नीको पनि उत्पादकत्व घट्ने कार्यालयकी कृषि विकास अधिकृत देवले बताइन् ।

४१ मेट्रिक टन खाद्यान्न नष्ट

अविरल वर्षात्सँगै बाढीपहिरोका कारण मकवानपुरमा करिब ४१ मेट्रिक टन खाद्यान्न नष्ट भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । नौ लाख ५१ हजार रुपैयाँबराबरको ३० दशमलव ४८ मेट्रिक टन सञ्चित खाद्यान्न र ६ लाख ९३ हजार मूल्यबराबरको १० दशमलव ७४ मेट्रिक टन सञ्चित बीउ नष्ट भएको हो । सबैभन्दा बढी १२ मेट्रिक टन धान नष्ट भएको कार्यालयको तथ्यांक छ ।

बाढीपहिरोबाट क्षति भएको विवरण आउने क्रम जारी रहेकाले क्षति बढ्न सक्ने जिल्ला कृषि विकास कार्यालय प्रमुख निर्मल गदालले बताए । ‘हामीले हालसम्म प्राप्त क्षतिको विवरण माथिल्लो निकायमा पठाएका छौं', उनले भने, ‘पीडित किसानलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन पहल गरिरहेका छौं।'

स्रोत: 

http://annapurnapost.com/news/78834

 

Explore DevNotes

View More

Explore Nepal History

View More

Explore Datasets

View More