News

बाढी-पहिरो प्रभावितका लागि विशेष प्याकेज ल्याउँदै सरकार

November 06, 2017

अन्नपुर्ण पोस्ट, २० कार्तिक २०७४

काठमाडौँ : सरकारले पछिल्लोपटक मुलुकका विभिन्न भूभागमा आएको बाढी पहिरोबाट प्रभावितका लागि विशेष योजना ल्याउने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७४ सालमा विशेषगरी तराई क्षेत्रमा आएको बाढी, पहिरोबाट प्रभावितलाई विशेष योजना ल्याउने निर्णय गरेको हो । योजनाबारे अर्थ मन्त्रालयले जतिसक्दो चाँडो सार्वजनिक गर्ने अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी सरकारले ग्रामीण पहुँच सुधार परियोजना (रुलर कनेक्टिभिटी इम्प्रुभमेन्ट प्रोजेक्ट)का लागि एशियाली विकास बैंकबाट एक सय मिलियन डलर ऋण सहायता प्राप्त गर्नेसम्बन्धी सम्झौतामा वार्ता गर्नका लागि वार्ता टोली गठन गरेको छ ।

अर्थमन्त्री कार्कीले बैठकका निर्णयबारे जानकारी दिँदै प्रस्तावित आयोजनाले १६ जिल्लाको ३८८ किमी ग्रामीण सडक स्तरोन्नति गरी कृषि उपजको बजार पहुँच सुनिश्चित गर्न सक्ने बताए । सरकारले रक्षा सचिवमा विनोद केसीलाई नियुक्त गरेको छ । रासस

स्रोत: http://annapurnapost.com/news-details/83529