कारोबार आर्थिक दैनिक, ०६ भाद्र २०७४
स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा फैलन सक्ने महामारी रोगको रोकथाम तथा उपचारका लागि एक हजार ४ सय ५६ जना स्वास्थ्यकर्मी खटाएको छ ।
प्रभावित क्षेत्रमा केन्द्रबाट २२ जना, क्षेत्रीयस्तरबाट ३८ जना, जिल्ला स्तरबाट ९४६ जना र निजी स्तरबाट ४ सय ५० जना प्रत्यक्ष रूपमा गरी १ हजार ४ सय ५६ जना स्वास्थ्यकर्मी खटाएको हो ।
विपद व्यवस्थापन समितिका संयोजक तथा स्वास्थ्य सेवा विभागका उप महानिर्देशक चूडामणि भण्डारीले महामारी जोखिम नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको टोलीले जोखिम नियन्त्रणमा थप आवश्यकता परिपूर्ति गर्न संघसंस्थाहरू, निजी अस्पतालहरू, मेडिकल कलेजहरूसँग समन्वय गरी जनशक्ति परिचालन गरिएको जनाएका छन् ।
उपमहानिर्देशक भण्डारीले बाढी प्रभावित क्षेत्रका स्वास्थ्यकर्मीलाई तोकिएको स्वास्थ्य संस्थामा अनिवार्य रूपमा उपस्थित भई सेवा प्रदान गर्न निर्देशन दिइएको र निर्देशन उल्लंघन गर्नेलाई कारबाही समेत गर्ने प्रक्रिया अघि बढाएको बताए । उनले बाढी प्रभावित क्षेत्रका लागि औषधि खरिद गर्न स्थानीय तहलाई नै रकम पठाइसकिएको भन्दै अभाव हुन नदिने बताए ।
विभागका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागले मातहतका सबै स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूलाई तोकिएको स्वास्थ्य संस्थामा अनिवार्य रुपमा उपस्थित भई स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको दिइसकेको छ ।
त्यसका साथै सबै जिल्ला, क्षेत्र र केन्द्रका ¥यापिड रेस्पोन्स टिम पनि परिचालन गरिएको छ । त्यसैगरी हेल्थ एण्ड नियुट्रेसन क्लष्ट्ररको नेतृत्वमा आवश्यक कार्यहरू सम्पादन भएका छन् । त्यस्तै वास क्लष्टरसँगको समन्वयमा पानी र पानीको पानीको शुद्धिकरणतर्फ संयुक्त कार्य भइरहेको छ ।
त्यसका साथै शुद्ध खानेपानी तथा शुद्ध खाना खानुपर्ने सम्बन्धि सूचना विभिन्न संचारमाध्यमबाट प्रसारण गरिएको तथा स्थानीय तहमा थप औषधी आवश्यक परेमा क्षेत्रीय मेडिकल स्टोर र केन्द्रिय स्टोरबाट आपूर्ति व्यवस्था मिलाइएको पनि बताएको छ । यस्तै जिल्ला दैवी प्रकोप उद्धार समितिले तोकेको संस्थाले मृत पशुपन्छीको व्यवस्थापन गरिरहेको पनि मन्त्रालयले जनाएको छ ।
गत २६ साउनदेखि आएको अविरल बर्षापछिको बाढी पहिरोबाट १३५ जनाको मृत्यु भएको छ । सोही बाढीमा परी अहिलेसम्म ३० जना हराईरहेको र ४१ जना घाइतेको उपचार भइरहेको गृह मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्रोत:www.karobardaily.com/news/81711