News

बायोग्यास प्लान्टः हिमालमा पनि फैलिंदै

August 30, 2018

हिमालखबर, १४ भाद्र २०७५ 

जलवायु परिवर्तन, सडक सञ्जालको विस्तार र खाने बानीमा आएको परिवर्तनसँगै हिमाली भेगमा बायोग्यास प्लान्ट जडानको गति बढेको छ ।

बायोग्यास प्लान्ट बन्दै गरेको सगरमाथा आधार शिविरको गोरकसेप क्षेत्र । तस्वीर: मिङ्मा तेन्जिङ शेर्पा

हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिकाका ध्रुवकुमार बस्नेत (४०) को परिवारले गएको असारसम्म खाना पकाउन दाउरा प्रयोग गथ्र्यो । साउनदेखि उनको भान्सामा बायोग्यास प्लान्ट जडान भएको छ । गाउँभरिमा आफूकहाँ मात्रै ग्यास चुलो बल्न थालेपछि अहिले छिमेकीले पनि चासो लिइरहेको बस्नेत बताउँछन् । 

२०६० सालमा क्षेत्रीय कृषि तालिम केन्द्र, सुनसरी जाँदा बस्नेतले गाईबस्तुको मलमूत्रबाट ग्यास निकालेको देखेका थिए । उनी भन्छन्, “बायोग्यासबारे पहिल्यै थाहा भए पनि प्राविधिक कठिनाइका कारण जडान गर्न सकेको थिइनँ ।”

अहिले सोताङबाहेक सोलुखुम्बुकै तिङ्लामा पनि स्थानीयले बायोग्यास प्लान्ट जडान गरेका छन् । व्यक्तिगत रूपमा मात्र होइन, सरकारका विभिन्न निकाय तथा अन्य संघ–संस्थाको सहयोगमा पनि उच्च हिमाली जिल्लाहरूमा बायोग्यास प्लान्ट जडान भइरहेको छ ।

कृत्रिम तापक्रमको प्रयोग
सोलुखुम्बु बाहेक हिमाली जिल्ला रसुवा, दोलखा, सिन्धुपाल्चोक, मुस्ताङ लगायतमा बायोग्यास प्लान्ट जडान भइसकेको छ भने कतिपयमा जडान गर्ने तयारी भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी) ले नुवाकोटको १७०० मिटर उँचाइको लच्याङ (साबिकको गाविस) मा गाईबस्तुको गोबरबाट बायोग्यास प्लान्ट निर्माण गरिसकेको छ ।

१७०० भन्दा माथिको उँचाइमा तापक्रम कम हुने भएकाले प्राकृतिक तापक्रमबाट बायोग्यास निकाल्न नसकिए पनि कृत्रिम तापक्रम प्रयोग गर्न सकिने एईपीसीका इन्जिनियर प्रकाश अर्याल बताउँछन् । “प्युठान जिल्लाको स्वर्गद्वारी आश्रममा पालिएका गाईको गोबरबाट बायोग्यास निकाल्ने तयारी भइरहेको छ” उनी भन्छन्, “कृत्रिम तापक्रम प्रयोग गरी सरकारीस्तरबाट बायोग्यास उत्पादन गर्न लागेको यो पहिलो हो ।” उनका अनुसार २१०० मिटर उँचाइको स्वर्गद्वारीमा १०० घनमिटरको प्लान्ट राखिनेछ भने मलमूत्र वा फोहोर सडाउन विद्युत् वा सोलारबाट कृत्रिम तापक्रम दिई ‘डाइजेष्टर ट्याङ्क’ लाई तताइनेछ ।

पर्यटकीय आकर्षण रहेको समुद्र सतहदेखि ५ हजार १६४ मिटर उँचाइको सगरमाथा आधारशिविर गोरकसेपमा मानव मलमूत्रलाई व्यवस्थापन गर्न अमेरिकाको सियाटल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालय (केयू) को सहकार्यमा सगरमाथा बायोग्यास परियोजना मार्फत सन् २०१६ मा अध्ययन भएको थियो ।

अध्ययनले मानव मलमूत्रलाई ग्यासमा परिवर्तन गर्न सकिने देखाएको थियो । अहिले दोस्रो चरणको अध्ययनपछि प्लान्ट जडानको तयारी भइरहेको अध्ययनमा संलग्न केयूको वातावरण विज्ञान विभागका उप–प्राध्यापक वेदमणि दाहाल बताउँछन् । “सगरमाथा आधारशिविरको फोहोरलाई दुई लिटरको रियाक्टर (फोहोरबाट ग्यास निकाल्न मिल्छ/मिल्दैन भनेर जाँच्ने उपकरण) मा राखेर हेर्दा मिथेन ग्यास निकाल्न सकिने प्रमाणित भएपछि अहिले २० लिटरको रियाक्टरमा राखेर परीक्षण गर्दैछौं” वातावरणविद् दाहाल भन्छन्, “परीक्षणले सकारात्मक संकेत गरे बायोग्यास बनाउने काम अघि बढ्नेछ ।” 

बढ्दो बायोग्यास प्लान्ट
पछिल्लो समय हिमाली भेगमा बायोग्यास प्लान्ट जडान गर्ने क्रम बढेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्ष २०६६/६७ मा मुलुकभर २१ हजार १५८ र २०७३/७४ मा १० हजार १७७ वटा बायोग्यास प्लान्ट जडान भएका थिए ।

आव २०४९/५० मा १६ हिमाली जिल्लामध्ये दोलखामा १, संखुवासभामा १० र सिन्धुपाल्चोकमा ६१ गरी ७२ वटा मात्र बायोग्यास प्लान्ट थिए । २५ वर्षको अवधि अर्थात् आव २०७३/७४ सम्म हिमाली जिल्लाहरूमा बायोग्यास प्लान्टको संख्या ६ हजार ५१७ पुगेको छ । 

ताप्लेजुङ, याङवरक गाउँपालिका–४ मा बायोग्यास प्लान्ट जडान गरेका स्थानीय । तस्वीरः डाँफे ग्यास कम्पनी प्रा.लि.

सरकारले बायोग्यास प्लान्ट विस्तारको नीति लिएकाले यो संख्या बढेको एईपीसीका इन्जिनियर अर्याल बताउँछन् । उनका अनुसार ग्रामीण ऊर्जा नीति–२०६३, जैविक ऊर्जा रणनीति–२०७३, नवीकरणीय ऊर्जा सहायता नीति–२०७३ र एईपीसीको नवीकरणीय ऊर्जा सम्बन्धी विशेष कार्यक्रमहरूको प्रवद्र्धनका लागि कार्य सञ्चालन तथा अनुदान परिचालन कार्यविधि–२०७३ ले मुुलुकमा बायोग्यास प्लान्ट विस्तार गर्न सहयोग गरेको छ ।

ग्रामीण ऊर्जा नीतिको अनुदान सम्बन्धी व्यवस्थामा भनिएको छ, “जैविक ग्यास नपुगेका सम्भाव्य स्थानहरूमा प्रोत्साहन हुने गरी आवश्यक व्यवस्था मिलाइनेछ ।” त्यस्तै, नवीकरणीय ऊर्जा सहायता नीतिले बायोग्यास प्लान्ट जडान गर्ने परिवारलाई रु.१६ हजारदेखि रु.३५ हजारसम्म अनुदान दिने व्यवस्था गरेको छ ।

जलवायु, धानखेती र सडकको प्रभाव
वातावरण विज्ञ दाहालका अनुसार बायोग्यास उत्पादनका लागि मिथेन ग्याससँगै उच्च तापक्रम आवश्यक हुन्छ । मिथेन ग्यासका स्रोत धेरै भए पनि कार्बोहाइड्रेटबाट यो बढी निस्कन्छ । चिसो बढी हुने, गाईबस्तु कम पाल्ने र अन्य अन्नको तुलनामा भात कम खाने हुँदा विगतमा हिमाली क्षेत्रमा बायोग्यास प्लान्ट जडान सम्भव थिएन ।

पछिल्लो समय हिमाली जिल्लामा कार्बोहाइड्रेटको प्रमुख स्रोत मानिने चामल/भात खाने चलन बढेसँगै मानिसको मलमूत्रबाट बायोग्यास निकाल्न सहज भएको दाहाल बताउँछन् । सहज बन्दै गएको यातायात, रेमिटेन्सबाट बढेको कमाइ र अन्य अन्नको तुलनामा भात खानुलाई ठूलो मान्ने आम मनोविज्ञानका कारण हिमाली जिल्लामा चामलको आयात बढेको कृषिविज्ञ तुलसी गौतम बताउँछन् ।

सडक विभागका अनुसार डोल्पा र हुम्लाबाहेक हिमाली जिल्लामा सडकको पहुँच पुगिसकेको छ । सडक विस्तारले हिमाली जिल्लामा चामल आयात सहज बनाएको छ ।

बायोग्यास प्लान्ट जडान गरेका सोलुखुम्बु, सोताङका बस्नेत पनि बाजेको पालामा भन्दा अहिले भात खाने चलन बढेको बताउँछन् । धान उत्पादन गर्दै आएका उनी दैनिक ६ घनमिटर आयतन भएको प्लान्टमा गाईभैंसी र मानव मलमूत्र समेत मिसाउँछन् । आफैं धान उत्पादन नगर्नेहरूले किनेर भए पनि चामलको उपभोग गर्न थालेको बस्नेत बताउँछन् ।

पछिल्लो समय हिमाली क्षेत्रमा धानको खेती बढेको छ । कृषि विकास मन्त्रालयका अनुसार हिमाली जिल्लामा सन् २०११ मा १ लाख ३७ हजार ६७४ टन र सन् २०१५ मा १ लाख ४३ हजार ४४ टन धान उत्पादन भएको थियो । 

बेलायतको नेचर रिसर्च जर्नलमा सन् २०१२ मा प्रकाशित एक अध्ययनले चिसो ठाउँमा धान खेती गर्दा त्यस क्षेत्रको तापक्रम वृद्धि हुने र मिथेन ग्यास उत्पादन हुने देखाएको थियो । धान खेती गर्दा खेतमा लामो समयसम्म जमाएर राखेको पानीमा विभिन्न वनस्पति कुहिने र जीव मर्ने गर्छन् ।

यसरी हिले धानखेती गर्दा मिथेन ग्यास उत्सर्जन हुने वातावरणविद् दाहालको भनाइ छ । उनी भन्छन्, “धानखेतीबाट निस्केको मिथेन ग्यासले सूर्यको तापलाई सोसेर लामो समयसम्म वातावरणमा राखिरहन्छ, जसले वायुमण्डल तताउँछ ।”

अर्कोतिर जलवायु परिवर्तनका कारण तराईको तुलनामा हिमाल र पहाडमा तापक्रम वृद्धिदर उच्च छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालको वार्षिक तापक्रम वृद्धिदर ०.०५६ डिग्री सेल्सियस छ ।

हिमाली क्षेत्रमा प्रति वर्ष तापक्रम वृद्धिदर ०.०८ र पहाडमा ०.०६ प्रतिशत छ । बायोग्यासका लागि फोहोर कुहाउन २५ देखि ४० डिग्री सेल्सियस तापक्रम उपयुक्त मानिन्छ । योभन्दा कम तापक्रममा प्लान्ट चलाउन सकिने भए पनि ग्यास उत्पादन दर ढिलो र कम हुन्छ ।

यसरी बन्छ बायोग्यास
फोहोर वा मलमूत्रबाट मिथेन ग्यास उत्पादन गर्न प्लान्टमा हुने डाइजेष्टर ट्याङ्कको तापक्रम २५ देखि ४० डिग्री सेल्सियससम्म हुनुपर्छ । २४सै घण्टा यही तापक्रममा राखिरहे ३० देखि ३५ दिनभित्र फोहोर वा मल सडेर मिथेन ग्यास निस्किन्छ । 

चिसो वा हिमाली क्षेत्रमा कम तापक्रमका कारण डाइजेष्टर ट्याङ्क तात्न पाउँदैन । त्यसैले बढी गर्मी हुने तराईमा धेरै बायोग्यास प्लान्ट सञ्चालित छन् । चिसो ठाउँमा पनि विद्युत् वा सोलारबाट तताएको पानीलाई पाइप मार्फत डाइजेष्टरसम्म पुर्‍याइन्छ । यसो गर्दा पाइपभित्रको पानीले डाइजेष्टरलाई तताउँछ र मानव वा गाईभैंसीको मल वा फोहोर सजिलै सड्छ ।

फोहोरलाई सड्न र त्यसबाट ग्यास निस्कन एन एरोबिक जीवाणुको भूमिका हुन्छ, जुन अक्सिजन कम र तापक्रम बढी भएको ठाउँमा मात्र बाँच्न सक्छ । जीवाणुले फोहोरलाई खाने क्रममा मिथेन ग्यास निकाल्छ ।

जीवाणुको खानामा ६० प्रतिशत कार्बनडाइअक्साइड र ४० प्रतिशत नाइट्रोजन ग्यास भए छिटो र राम्रो मिथेन ग्यास निस्कन्छ । मिथेन कति बढी निस्कने भन्ने तापक्रम र अम्लीयनपनले पनि निर्धारण गर्छ । कार्बोहाइड्रेट बढी भएको मानव मल र गाईभैंसीको गोबर मिथेन ग्यासका लागि उपयुक्त स्रोत मानिन्छ ।

ग्रामीण क्षेत्रमा मानव र गाईभैंसीको मलमूत्रबाट मात्रै ग्यास निकाल्ने गरिन्छ, तर घरभित्रै उत्पादन हुने जैविक फोहोर (मिथेन ग्यासको प्रमुख स्रोत) को व्यवस्थापन हुनसकेको छैन ।

घर तथा उद्योग र कलकारखानाबाट निस्कने फोहोरको वर्गीकरण नहुँदा जैविक फोहोरलाई बायोग्यास उत्पादनमा प्रयोग गर्न समस्या भएको वातावरणविद् दाहाल बताउँछन् । उनी भन्छन्, “देशभरका गाउँपालिकादेखि महानगरपालिकासम्मले फोहोरको वर्गीकरण गरेर जैविक फोहोरको मात्रा छुट्याउन सक्ने हो भने एलपी ग्यास विस्थापन गर्ने गरी मिथेन ग्यास उत्पादन गर्न सकिन्छ ।”

स्रोत: http://himalkhabar.com/news/8843