राजेन्द्र मानन्धर, कान्तिपुर दैनिक, फागुन ७ २०७४
दोलखा — ग्रमीण भेगककी एक १४ वर्षीया बालिकालाई भूकम्पपछि भत्किएको घर बनाउने काम गर्न आएका बर्दियाका एक चौधरी थरका युवकले लिएर बेपत्ता भए ।
उक्त घटनालाई आमाबुबाले लुकाउन खोजपछि गैरकानुनी ठहरिने उक्त बालविवाहसम्बन्धी अपराध सामान्य बन्यो । केही समयपछि फेरि फर्किएका युवकलाई उक्त परिवारले ज्वाइँ मानेर सम्बन्ध गाँसे । भूकम्पपछि श्रम गर्न बाहिरबाट आएका युवकसँग किशोरी उमेरमै बिहे गर्ने घटना बढेको महिला अधिकारकर्मी सिर्जना कार्कीले बताइन् ।
दोलखा जिल्ला अदालतले बाल अधिकारबारे गरेको एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रस्तुत गरेको तथ्यांकमा बालविवाह र जबरजस्ती करणीका घटना बढिरहेको देखाएको छ । दोलखाका पीडित महिलाहरूको पक्षमा आवाज उठाउने आवाज नेपालकी अध्यक्षसमेत रहेकी सिर्जना आक्कलझुक्कलबाहेक जिल्ला प्रहरी कार्यालयमा बालविवाहसम्बन्धी मुद्दा बनेर नआउने बताउँछिन् । बालविवाहका घटना बढ्नुमा विभिन्न कारण रहेको उनले बताइन् ।
दोलखाका प्रहरी नायबउपरीक्षक रामेश्वर कार्कीले प्रस्तुत गरेको प्रतिवेदनमा यो आर्थिक वर्षमा चारवटा बालविवाहका घटना दर्ता भएको उल्लेख छ । उक्त मुद्दा पनि खोजीखोजी दर्ता गरएको प्रनाउ कार्कीले बताए । बालविवाहसम्बन्धी मुद्दा प्रहरी कार्यालयमा नआउने र आए पनि मिलाउन खोज्ने प्रवृत्ति देखिएको उनले बताए । ‘सुराकी र खोजीखोजी उक्त अपराधको मुद्दा चलाउने गरेको छु,’ उनले भने, ‘प्रहरीको सक्रियता बढेपछि बालविवाह कम भएको तर अझै लुकीछिपी उक्त कार्यले बढवा पाइरहेको छ ।’
दोलखामा भूकम्पपछि देखिएको पारिवारिक कचिङ्गल, बाहिरी श्रमिकहरूको प्रवेश, बहुविवाहको संख्यामा वृद्धि आदि कारणले बालविवाह पनि बढेको सिर्जनाको भनाइ छ । ‘दोलखामा अत्यधिक बहुविवाह बढेसँगै बालविवाह पनि बढ्यो,’ कार्कीले भनिन्, ‘उक्त अपराध परिवारबाटै बाहिर ल्याउन नचाहने हुँदा दोलखामा बालविवाह भयानक बन्दै गएको छ ।’ आमाबाबुको व्यस्तताले बालिकालाई वास्ता कम हुने गर्दा पनि बालविवाह बढेको देखिन्छ । घरमा सधैं आमाबाबुको झगडाका कारणले पनि उक्त अपराध बढेको प्रहरीको अनुसन्धानले देखाएको छ । बालबच्चालाई वास्ता कम गर्ने, विद्यालयले निगरानी नराख्ने र बालबच्चाको आवश्यकता अभिभावकले पूरा गर्न नसकेका कारण पनि बालविवाह बढेको देखिन्छ । बालबालिकालाई मोबाइल आदि दिएर लोभमा फसाउँदै विवाहको चंगुलमा फसाउने देखिएको छ ।
बालविवाह कम गर्न जनचेतना जरुरी रहेको दोलखा जिल्लाको घटना अध्ययनको निष्कर्ष छ । विद्यालयमा जनचेतान शिक्षाको जरुरी देखिएको छ । जिल्ला प्रहरीले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिएको छ भने महिला तथा बालबालिका कार्यालयले पनि बाल चेतनासम्बन्धी कार्यक्रम गर्दै आएको जानकारी दिएको छ ।
स्रोत: www.kantipurdaily.com/pradesh-3/2018/02/19/20180219084908.html