News

बिमा गर्नेमा पुरुषभन्दा महिला अगाडि

May 24, 2017

Karobar Daily, Muna Kunwar, 24th May 2017, Kathmandu

पुरुषको तुलनामा महिलाहरू बिमाप्रति बढी सचेत रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको एक अनुसन्धानले महिलाहरू बिमाप्रति तुलनात्मक रुपमा बढी जागरुक रहेको देखाइएको छ ।

केन्द्रीय बैंकले ‘विप्रेषण प्राप्त गर्ने घरपरिवारको बचत तथा लगानी प्रवृत्ति’सम्बन्धी गरेको अध्ययनले महिला घरमूली भएको परिवारमा ३२.७ प्रतिशतले बिमा गरेको देखाएको छ । यस्तै, पुरुष घरमूली भएको परिवारमा २६.१ प्रतिशतले मात्रै बिमा गरेका छन् । 

बिमालाई भविष्यमा आइपर्ने आर्थिक जोखिमको पूर्वआकलन गरी जोखिम हस्तान्तरण गर्ने प्रक्रिया मानिन्छ । अध्ययनले महिलाहरू कुनै पनि जोखिम आफैं बहन गर्न चाहदैनन् भन्ने देखाएको छ ।

त्यसैले बिमाप्रति महिलाहरू बढी सजग हुने गरेको पेशागत बिमा अभिकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष नन्दप्रसाद तिवारीले बताए । “पुरुषहरू जोखिम लिएर बस्न सक्छन् । तर, महिलाहरू लिन चाहदैनन्,” उनले भने । 

अध्ययनले कुल बिमित घरपरिवारमध्ये ९४ प्रतिशतले जीवन बिमा गरेको देखाएको छ । तर, केवल ६ प्रतिशतले मात्र निर्जीवन बिमा गरेको पाइएको छ । नेपालमा जीवन बिमा कम्पनी ९ तथा निर्जीवन बिमा कम्पनी १७ गरी कुल २६ बिमा कम्पनी छन् ।

जीवन बिमा कम्पनीको तुलनामा निर्जीवन बिमा कम्पनीको संख्या करिब दुई गुणा भए पनि निर्जीवन बिमा कम्पनीहरूले मूल रूपमा सहरी क्षेत्र तथा जोखिम कम भएका क्षेत्रहरूमा कारोबार सीमित गरेकोले कृषि, पशु लगायतका घरपरिवारसँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरूमा बिमा कम्पनीको उपस्थिति ज्यादै न्यून रहेको बैकले बताएको छ । घरपरिवारले वार्षिक रूपमा औसत १४ हजार १ सय २० रुपैयाँ बिमाशुल्क भुक्तानी गर्ने गरेको अध्ययनले देखाएको छ । 

अध्ययनले बिमा बढी सहरी क्षेत्रमा केन्द्रित भएको देखाएको छ । क्षेत्रगत रूपमा रुपमा हेर्दा सहर तथा सहरोन्मुख क्षेत्रमा ३०.९ प्रतिशतले बिमा गरेको पाइएको छ । ग्रामीण क्षेत्रमा २८.३ प्रतिशतले बिमा गरेका छन् ।

  • कुल बिमित घरपरिवारमध्ये ९४.० प्रतिशतले जीवन बिमा
  • ६.० प्रतिशतले मात्र निर्जीवन बिमा

घरमूलीको शिक्षाको स्तरअनुरूप हेर्दा शिक्षित घरमूली रहेकोमा ३३.३ प्रतिशतले बिमा गरेका छन् भने अशिक्षित घरमूली रहेकोमा १२.९ प्रतिशतले बिमा गरेका छन् । यसले कम्पनीहरू बढी शहरमुखी भएको स्पष्ट पार्छ । त्यस्तै, शिक्षाको अभावका कारण पनि मानिस बिमाप्रति आकर्षित हुन नसकेको पनि देखाउँछ । 

वित्तीय पहुँच मापन गर्ने अर्को आधारको रूपमा बिमालाई हेर्ने गरिन्छ । अध्ययनअनुसार विप्रेषण प्राप्त गर्ने कुल घरपरिवारमध्ये २९.४ प्रतिशत घरपरिवारका एक वा एकभन्दा बढी सदस्यले बिमा गरेको पाइएको छ ।

वित्तीय पहुँच अभिवृद्धि गर्न विगतमा लागू गरिएका नीति तथा कार्यक्रमहरू मूलरूपमा लघुवित्त बैंकिङ सेवामा केन्द्रित रहेको र बिमा सेवालाई सँगसँगै नलगिएकोले बिमा गर्ने घरपरिवारको संख्या न्यून रहेको बैंकले बताएको छ ।

यसका अलावा बिमा कम्पनीहरूले आफ्ना ग्राहक संख्या वृद्धि गर्न अपेक्षित कार्यक्रमहरू अघि नबढाउनु तथा बिमा दाबी प्रक्रिया झन्झटिलो हुनुले पनि बिमाप्रति सर्वसाधारणहरू आकर्षित हुन नसकेको केन्द्रीय बैंकको ठहर छ । 
Source: http://www.karobardaily.com/news/78823