News

बिमा बजारमा जनशक्ति अभाव

May 19, 2017

Karobar Daily, Muna Kunwar, 19th May 2017, Kathmandu

 नेपालको बिमा बजारमा नयाँ कम्पनीहरू थपिएसँगै जनशक्तिको अभाव हुने भएको छ । दक्ष जनशक्तिको अभाव खेप्दै आएको बिमा व्यवसायलाई नयाँ कम्पनीहरूको आगमन थप चुनौतीपूर्ण हुने देखिएको हो ।

हाल नेपालमा ९ वटा जीवन बिमा, १७ वटा निर्जीवन र एउटा पुनर्बिमा कम्पनी सञ्चालित छन् । त्यस्तै, १० वटा नयाँ जीवन बिमा र ४ वटा निर्जीवन बिमा कम्पनी पनि थपिने भएका छन् ।

बिमा समितिमा लाईसेन्स माग गर्दै पुगेका १० जीवन बिमा कम्पनीलाई अर्थ मन्त्रालयले सहमति दिएको छ । अर्थात् १० वटा नयाँ जीवन बिमा कम्पनीले थपिने निश्चित प्रायः छ ।

योसँगै नेपालमा जीवन बिमा कम्पनीको संख्या १९ पुग्नेछ । त्यस्तै, ४ वटा निर्जीवन बिमा कम्पनीहरू लाइसेन्सको प्रक्रियामा छन् । समग्रमा नयाँ कम्पनी थपिएसँगै नेपालमा बिमा कम्पनीहरूको संख्या ४२ पुग्नेछ । नयाँ कम्पनीहरूमा कर्मचारीको माग बढेसँगै बजारमा जनशक्ति अभाव सिर्जना हुने भएको छ । 

विगत लामो समयदेखि अबरुद्ध बिमा कम्पनीको लाइसेन्सको प्रक्रिया समितिमा नयाँ नेतृत्व चयन भएसँगै खुलेको हो । नेपालमा बिमाको बजार अधिक सम्भावना रहेको भन्दै समितिले नयाँ कम्पनीहरूलाई लाइसेन्स वितरण प्रक्रिया अगाडि बढाएको हो । तर, एकै पटक धेरै कम्पनीलाई लाइसेन्स वितरण गर्नु उपयुक्त नहुने बिमा विज्ञ डा. रवीन्द्र घिमिरेले बताए । यति धेरै कम्पनीलाई नेपाली बजारले थेग्न नसक्ने उनको तर्क छ ।

“कम्पनीहरू लाइसेन्स पाइयो भनेर खुसी हुनुको अर्थ छैन, यो भनेको एक वर्षको बच्चालाई दुई सय केजीको भारी बोकाए जस्तै हो,” उनले भने । 
अहिले कै अवस्थामा २ देखि ४ वटा कम्पनीलाई लाइसेन्स वितरण गर्न सकिने बिमा विज्ञ घिमिरे बताए ।

“यसको विकल्पमा प्रत्येक दुई वर्षमा अध्ययन गर्दै कम्पनी थप्दै लान सकिन्छ,” उनले भने । तर, एकै पटक धेरै कम्पनी आउँदा भोलिका दिनमा बिमितहरू ठगिने प्रचुर सम्भावना रहने उनले बताए ।

नेपालको बिमा नीति अनुदार हुनु, बिमामा दक्ष जनशक्ति अभाव हुनु, बिमाप्रति मानिस सचेत नहुनुले भोलिको दिनमा बिमा व्यवसायमा संकट निम्तन सक्ने उनले बताए । 

तर, बजारमा कम्पनीहरू थपिँदा सम्भावनाका ढोकाहरू पनि खुल्दै जाने विमा विज्ञ भोजराज शर्माले बताए । “मैले विगतलाई पनि हेरेको छु । तत्कालीन समयमा नीजि क्षेत्रबाट कम्पनीहरू खोलिँदा सबैले यस्तै अनुमान गर्थे । तर, आज २६ वटा कम्पनीहरू सञ्चालित छन्,” उनले भने । त्यसैले जनशक्तिको अभाव कारण बजारमा मुभमेन्ट हुनसक्छ ।

केही समयमा बिमा बजारमा हलचल आउन सक्छ । तर, बजारको माग अनुसार जनशक्तिको आपूर्ति बढेर जाने उनले बताए । “नयाँ कम्पनीहरूले नयाँ रोजगारीको अवसर सिर्जना गर्छ । प्रतिस्पर्धा बढाउँछ । विमितले राम्रो सेवा पाउन सक्छन्,” उनले भने ।  

नेपालको जीवन बिमा व्यवसायको ५० प्रतिशत हिस्सा नेपाल लाईफ इन्स्योरेन्स र एलआईसी नेपालले नै ओगटेको छ । यी कम्पनीहरूले दिँदै आएको बोनस दर अत्याधिक छ ।

अब आउने कम्पनीले बजार हिस्सा बढाउने हो भने यिनै कम्पनीहरूको दाँजोमा बोनस दर वितरण गर्नुपर्ने हुन्छ । जसको सम्भावना न्यून छ । त्यसैले नयाँ कम्पनीहरूको पोलिसी खरिद गर्ने विमितहरू ठगिने विज्ञहरू बताउँछन् ।

त्यस्तै, हाल सञ्चालित जीवन बिमा कम्पनीहरूमध्ये एउटा ज्वाइन्ट भेन्चर, एउटा विदेशी कम्पनीको शाखाको रूपमा सञ्चालित छ भने राष्ट्रिय बिमा संस्थान सरकारी कम्पनी हो । त्यस्तै, नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले आफूलाई बलियो कम्पनीको रुपमा स्थापित गरिसकेको छ ।

बाँकी रहेका कम्पनीमध्ये पछिल्लो पटक खुलेका प्राइम, सूर्या, एशियन र गुराँश लाईफ इन्स्योरेन्स कम्पनीको अवस्था नाजुक छ । त्यसैले समितिले रुग्ण अवस्थामा रहेका यस्ता कम्पनीलाई नै चुस्त बनाउनु पहिलो प्राथमिकता रहेको विज्ञहरू बताउँछन् ।
Source: http://www.karobardaily.com/news/78511